Comments Add Comment

धादिङको जयवागेश्वरी क्याम्पसमा झडप, स्ववियु चुनाव स्थगित

तीन छात्रा घाइते, एकको अवस्था गम्भीर

१८ फागुन, धादिङबेशी । धादिङको मलेखुस्थित जयवागेश्वरी क्याम्पसमा विद्यार्थीहरुबीच झडप भएपछि स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । झडपमा तीन जना छात्रा घाइते भएका छन् । गम्भीर घाइते अखिल क्रान्तिकारीकी सुजाता भट्टलाई उपचारका लागि काठमाडौंको न्युरो अस्पताल पठाइएको छ ।

एमाले अखिलका विद्यार्थीहरुले ईंटा प्रहार गरेर आफ्ना विद्यार्थी घाइते बनाएको अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य एवम् धादिङ जिल्ला इञ्चार्ज यादव गजुरेलले जानकारी दिए । गजुरेलका अनुसार ईंटा लागेर भट्टको टाउकोमा गम्भीर चोट लागेको छ । यसैगरी सुस्मा रुपाखेती र पार्वती सेढाईंको अवस्था सामान्य छ ।

यसरी भयो झडप

जयवागेश्वरी क्याम्पसमा अखिल क्रान्तिकारी (प्रचण्ड) र नेविसंघ संयुक्त प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा थिए । सभापतिको उम्मेदवार अखिल क्रान्तिकारीकी सुस्मिता तामाङ थिइन् । यसैगरी अनेरास्ववियु र नयाँ शक्ति निकट विद्यार्थी संगठनको अर्को प्यानल थियो । सो प्यानलबाट अनेरास्ववियुका सुशील कँडेल सभापतिको उम्मेदवार बनेका थिए ।

विद्यार्थी संगठनहरुबीच निर्वाचन आचारसंहिताको विषयमा मंगलबारबाट नै विवाद थियो । निर्वाचनमा क्याम्पसका सबै २३ जना शिक्षकहरुलाई पनि प्रवेश दिनुपर्ने माग अखिलले गरेपछि विवाद बढेको थियो ।

गजुरेलले अनलाइनखबरसँग भने, ‘अखिलले गाउँ-गाउँका केटाहरुलाई बोलाएर होटल-होटलमा राखेको थियो, त्यसमा हामीले केही बोलेनौं । तर, सबै २३ जना टिचरहरुलाई गेटदेखि भित्रैसम्म बस्न दिनुपर्ने माग राखेपछि हामीले असहमति जनायौं र सबै जिम्मा निर्वाचन समितिलाई दिऔं, जे गर्छ उसैले गर्छ भन्यौं तर, त्यो पनि मानिएन ।’

गजुरेलका अनुसार त्यसपछि अखिल क्रान्तिकारीले क्याम्पसको मुख्य गेटमा ताला लगाएको थियो । र, सहमतिको प्रयास गर्न क्याम्पस प्रशासनलाई भनेको थियो । आज बिहान निर्वाचनको समयमा एमाले निकट अखिलले ताला फुटाउन खोज्दा क्रान्तिकारी र नेविसंघका विद्यार्थीहरुले रोक्ने प्रयास गरेका थिए । त्यहिबेला अखिलले क्रान्तिकारी विद्यार्थीहरुमाथि ईंटा बर्साएको दाबी गरिएको छ ।

झडपका कारण क्याम्पस परिसर तनावग्रस्त भएपछि सबैको संयुक्त बैठक बसेर स्ववियु निर्वाचन अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment