Comments Add Comment

‘२ वर्षभित्रै भान्साबाट ग्यास हटाउन यसरी हुनेछ सम्भव’


१९ फागुन, काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले बुधबार नेपाली उपभोक्ताको भान्साबाट २ वर्षभित्रै एलपी ग्यास हटाउने उद्घोष गरे । लोडसेडिङ घटेपनि सबै ठाउँमा  नहटेकाले धेरैले यसलाई पत्याएका छैनन् ।

तर, नेपाल विद्युत् प्राधिकरण पनि दुईवर्षभित्रै सबै नेपालीको घरमा खाना बनाउने विद्युतीय इन्डक्सन चुल्होसहितका उपकरण भित्रिने बताउँछ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी २ वर्षपछि विजुलीका ग्राहकले ग्यास प्रयोग गरिराख्नुपर्ने अवस्था हट्ने दाबी गर्छन् ।

२ वर्षमा निर्माणाधीन थुप्रै आयोजनाहरु सम्पन्न हुने भएकाले लोडसेडिङ पूर्ण रुपमा अन्त्य हुने उनको भनाइ छ । ‘लोडसेडिङ नै नभएपछि धेरै उपभोक्ता विद्युतीय खाना पकाउने उपकरणको प्रयोगमा लाग्छन्’ अधिकारीले भने,’ग्यासभन्दा सस्तो र भरपर्दो हुने भएकाले उपभोक्ताले विद्युतीय उपकरणलाई प्राथमिकता दिनेछन् ।’

विशेष गरी निरन्तर विजुलीको प्रत्याभूति भएपछि उपभोक्ताले ग्यासलाई छाड्ने विश्वास प्राधिकरणको छ ।

कसरी छ सम्भव ?

यो आथिर्क वर्षमा झण्डै १ सय ५ मेगावाट विजुली प्रशारणलाइनमा जोडिएको छ । असरसम्म थप ४५ मेगावाट विजुली प्रशारणलाइनमा कनेक्ट हुनेछ । यो वर्ष मात्रै १५० मेगावाट विजुली नेशनल ग्रीडमा जोडिनेछ ।

आगामी आथिर्क वर्ष २०७४/७५ मा २०१ मेगावाट विजुली निजी क्षेत्रले राष्ट्रिय प्रशारण लाइनमा जोड्नेछन् । सँगै प्राधिकरणले आफ्ना चमेलिया र कुलेखानी गरेर ४५ मेगावाट विजुली थप्नेछ ।

त्यसपछि २०७५ को सुरुवातमै ४५६ मेगावाटको तामाकोशीबाट विजुली उत्पादन सुरु हुन्छ । २०७५को असार अगावै तामाकोसीको पहिलो युनिट सञ्चालनमा आउने सम्भावना छ ।

यसरी थपिने विजुलीले २ वर्षभित्रै लोडसेडिङलाई हटाएर विजुलीका उपकरणमा उपभोक्तालाई आकर्षित गर्न सकिने विश्वास सरकारको छ ।

अहिले पिक आवरमा साढे १५ सय मेगावाट विजुलीको माग हुनुपर्ने हो । तर, त्यो घटेर १२ सय ६० बाट माथि गएको छैन । पिक आवरमा झण्डै ३ सय मेगावाट विजुलीको माग उपभोक्ताले उपकरण नचलाएर घटाएका छन् ।

प्राधिकरणका अनुसार उत्पादन बढ्ने भएकाले विद्युतीय उपकरणको प्रयोगले बढ्ने विजुलीको माग थेग्न गाह्रो हुने छैन ।

अहिले मुख्य सुख्खायाममा पनि प्राधिकरण र त्यसअन्तरगतका आयोजनाबाट ३३२ मेगावाट विजुली उत्पादन भइरहेको छ । निजी क्षेत्रले बनाएका आयोजनाले अहिले १४२ मेगावाट विजुली राष्ट्रिय प्रशारणलाइनका लागि दिइरहेका छन् । अहिले भारतबाट पिक आवरमा ३ सय ८७ मेगावाट बराबरको विजुली आयात गरिँदैछ ।

अब मध्य चैतबाट नेपालकै नदीहरुबाट हुने विजुली उत्पादन बढ्नेछ । त्यसपछि विस्तारै लोडसेडिङ हट्दै जानेछ । सँगै प्रशारणलाइनमा नयाँ जोडिने आयोजनाले विजुलीको बढ्दो डिमान्डलाई ‘कभर’ गर्नेछन् ।

त्यसपछि विद्युतीय उपकारणको प्रयोगमा प्राधिकरणले नै उपभोक्तालाई प्रोत्साहित गर्नेछ । उत्पादित विजुली स्वदेशभित्रै सक्दो खपत गराउने र त्यसबाट पर्याप्त राजश्व उठाएर प्राधिकरणलाई समृद्ध बनाउने योजना छ ।

लोडसेडिङ हटाउने गरी विजुली व्यवस्थापन गरेपनि सरकारले नै धेरै विजुली खपत गरिदिन अग्रह गर्दै सूचना निकाल्ने प्रवक्ता अधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment