Comments Add Comment

कर्मचारी बढुवा रोक्न जिल्ला निर्वाचन कार्यालय चितवनको निर्देशन

२३ फागुन, चितवन । जिल्ला निर्वाचन कार्यालय चितवनले कर्मचारी बढुवाको बिज्ञापन रोक्न भरतपुर उपमहानगरपालिकालाई निर्देशन दिएको छ ।

सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरिसकेको अवस्थामा जारी आचारसंहिता विपरित हुने गरी कुनै पनि कर्मचारी भर्ना वा बढुवा नगर्न भरतपुर उपमहानगरपालिकाकाका कार्यकारी अधिकृतलाई निर्देशन दिइएको छ ।

उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालले पदपूर्ती समितिले गरेको निर्णयलाई लत्याउदै आफुखुसी कर्मचारी बढुवाको बिज्ञापन प्रकाशन गरेका थिए । उनले पदपूर्ति समितिको निर्णय विपरित प्रकाशन गरेको बढुवा सम्वन्धी तयारीबारे अनलाइनखबरमार्फत् समाचार सार्बजनिक भएपछि जिल्ला निर्वाचन कार्यालय चितवनले समेत सो बारेमा चासो राखेको थियो । साथै उपमहानगरपालिकाले समेत निर्वाचन आयोगसँग परामर्श माग गरेको थियो ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले स्थानिय निकायको निर्वाचन आचारसंहिताको दफा ९ आकर्षित हुने भएकाले कुनै पनि सरकारी कार्यालयमा कर्मचारीको बढुवा, सरुवा, नियुक्ति गर्न नपाइने जानकारी पत्र भरतपुर उपमहानगरपालिकालाई पठाएका छन् । ‘जिल्ला निर्वाचन कार्यालय समक्ष उहाँहरुले राय माग्नुभएको थियो,’ प्रमुख ढकालले भने, ‘हामीले आचारसंहित विपरित हुने कार्य नगर्न सचेत गराएका छौं ।’

उपमहानगरपालिकाको पदपूर्ति समितिको गत माघ १ गते बसेको बैठकले ७५ प्रतिशत खुल्ला र २५ प्रतिशत आन्तरीक प्रतिस्पर्धाबाट अधिकृत कर्मचारी भर्ना तथा बढुवा गर्ने निर्णय गरेपनि कार्यकारी अधिकृत बरालले खुल्ला बिज्ञापन लुकाएर आन्तरीक बिज्ञापन मात्रै खुल्ला गरेका थिए ।

हेर्नुहोस् जिल्ला निर्वाचन कार्यालय चितवनको पत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment