Comments Add Comment

सुन तस्करको कमाइः टेम्पो चालक करोडपति बने, भन्सार कर्मचारीको खातामा ७७ लाख !

एयरपोर्टबाट सुन छिरेपछि भन्सार कर्मचारीका खातामा पैसा

२३ फागुन, काठमाडौं । दुबईबाट नेपालमा सुन पठाउने रोशन भनिने गुप्तलाल भुसाल १५ वर्ष अगाडिसम्म नेपालमा टेम्पो चालक थिए । उनलाई घर बनाउनका लागि भन्दै ससुरालीले ३ लाख रुपैयाँ दिएका थिए । उनै भुसाल अहिले सुन तस्करीमा लागेर १० करोड ५७ लाख रुपैयाँ बराबरको कालोधन बैंकमा जम्मा गर्न सक्ने भए ।

भुसालले सन् २००६ मा दुबई जानुभन्दा अगाडि केही समय जग्गाको कारोवार गरे । त्यसबाट केही आम्दानी भएपछि दुबई हानिएका उनी उतैबाट सुनको धन्दामा सामेल भएको प्रहरीको दाबी छ ।

हाल दुबईमै रहेका भुसालको काठमाडौंका ७ वटा बैंकमा खाता छन् । उनले एउटै बैंकमा २०१६ मा मात्रै १० करोड ५७ लाखसम्म जम्मा गरेको देखिएको छ । त्यसअघि २०१७ मा ७ करोड २६ लाख रुपैयाँ जम्मा गरेको पनि भेटिएको छ ।

भुसालले दुबईमा गएपछि ९ वटा कम्पनीहरु सञ्चालन गरेका छन् । दुबईमा उनको याक एण्ड ज्वयलर्स ट्रेडिङ , एस्टोरीया होटल र याक एण्ड यति नेप्लीज कुजिन रेष्टरेन्ट लगायत सञ्चालन गरेका छन् । उनले २०१६ मा मेगा बैंकमा जम्मा गरेको पाँच करोड ५५ लाख रुपैंयाको स्रोत शंकास्पद रहेको रिपोर्ट प्रहरीले तयार पारेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई महिनाअघि विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन बरामद गर्‍यो । पहिलोपटक सुन तस्करविरुद्ध संगठित अपराधमा मुद्दा चलाएको सीआइबीले तस्करीमा संलग्नहरुको सम्पति विवरण संकलन गरेको छ, जसमा भुसालको सम्पति अकूत देखिएको छ ।

सुनको मालिक भनिएकादेखि तस्करीमा साथ दिने भन्सार कर्मचारीसम्मको सम्पत्ति विवरण सीआइबीले तयार पारेको छ । सो विवरण अनुसार उनीहरुको बैंक खातामा एकै दिनमा लाखौं रकम जम्मा भएको देखिएको छ ।

विमानस्थल कर्मचारीको खातामा ७७ लाखसम्म

३३ किलो सुन तस्करी प्रकरणमा सीआइबीको हिरासतमा रहेका १२ जनामध्ये राजकुमार ढकाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्सरे मेसिन टेक्निसिएनको रुपमा कार्यरत थिए । लामो समयदेखि करारमा विमानस्थलमा कार्यरत ढकालको सुन तस्करसँग हिमचिम बढेपछि एकाएक उनको खातामा पैसा ओइरिन थाल्यो ।

ढकालको माछापुच्छ्रे बैंकमा रहेको खातामा सन् २०१४ मा मात्रै २८ लाख ५८ हजार रुपैयाँ जम्मा भएको थियो । त्यसको एक वर्षपछि अर्थात सन् २०१५ मा ३ लाख ३० हजार जम्मा भयो । सन् २०१६ मा १४ लाख १८ हजार रकम जम्मा ढकालको खातामा भएको तथ्यांक प्रहरीले फेला पारेको छ ।

सन् २०१७ को जनवरी १३ सम्म आइपुग्दा ढकालको खातामा २८ सय रुपैंया मात्रै बाँकी भएको देखिएको छ । प्रहरीले फेला पारेको तथ्यांकमा ढकालको खातामा सन् २०१४ देखि हालसम्ममा ७७ लाख ५२ हजार जम्मा भएको देखिन्छ । उनको खातामा सन् २०१६ को सेप्टेम्बर २८ को दिनमा मात्रै ११ लाख २८ हजार जम्मा भएको छ ।

रेडियो टेक्निसियनको खातामा एक वर्षमै दुई करोड

त्यसैगरी १९ वर्षदेखि रेडियो टेक्निसिएनका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै काम गर्दै आएका श्यामकृष्ण श्रेष्ठको पनि आम्दानी निकै अस्वाभाविक देखिएको छ ।

श्रेष्ठको नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट र माछापुच्छ्रे गरेर तीनवटा बैंकमा खाता रहेको छ । ती तीनवटै खातामा अस्वाभाविकरुपमा पैसा जम्मा भएको देखिएको छ । स्रोतका अनुसार श्रेष्ठको नबिल बैंकमा रहेको खातामा ०७३ सालमा मात्रै दुई करोड २६ लाख रुपैंया जम्मा भएको छ । जबकि नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको श्रेष्ठको खातामा सन १९९९ मै २३ लाख जम्मा भएको छ । त्यसयता उक्त बैंकमा सबैभन्दा बढी २०११ मा १५ लाख रुपैयाँ जम्मा भएको छ । श्रेष्ठको खातामा २०१३ को वर्षमा ४२ लाख रुपैंया आएको देखिएको छ ।

उता माछापुच्छ्रे बैंकमा पनि उनको उतिकै मात्रा पैसा बर्षिएको छ । सन् २०१४ मा मात्रै श्रेष्ठको खातामा ४९ लाख ६६ हजार जम्मा भएको तथ्यांक भेटिएको छ । प्रहरी स्रोतका अनुसार नायब सुब्बाका रुपमा नेपाल सरकारको तलब खाने श्रेष्ठले भक्तपुरमा तीन तल्ले घर बनाएका छन् ।

यादवको नगदभन्दा लगानी धेरै

विमानस्थलमै तथ्यांक अधिकृतका रुपमा काम गरिरहेका श्रीनाराण यादवलाई पनि सुन तस्करहरुले मालामाल बनाइदिएका छन् । तर उनी अरुभन्दा चतुर रहेछन् ।

प्रहरीको विवरणअनुसार यादवले बैंकिङ कारोवार निकै कम गरेका छन् । यादवको खातामा एक दिनमा दुई लाख रुपैंयासम्म जम्मा भएको देखिएको छ । उनी महंगो गाडी चढेर हिँडने गरेका छन् । उनले श्रीमतीका नाममा काठमाडौंको सिनामंगलमा पाँचआना जग्गा खरिद गरेका छन् । एसियन पोली पाइप इन्डष्ट्रीमा यादवको ५७ लाख बराबरको सेयर रहेको भेटिएको छ । सुन तस्करसँगको सम्बन्धबाट कमाएको पैसा उनले भक्तपुरमा रहेको मध्यपुर अस्पतालमा समेत लगानी गरेको पाइएको छ ।

प्रहरी स्रोतका अनुसार दुबईबाट सुन बोकेर आउने भरिया विमानस्थल पार भइसकेपछि कर्मचारीहरुको खातामा पैसा जम्मा हुने गरेको छ ।

अनलाइनखबरलाई प्राप्त तथ्यांकमा कुन भरिया कहिले आउँदा कसको खातामा कति रकम जम्मा भएको थियो भन्ने उल्लेख गरिएको छ ।

सुन व्यापारीको १० वटा बैंकमा खाता

त्यसैगरी दुबईबाट आएको सुन नेपालमा खरिद गर्ने वैभव लक्ष्मी गोल्ड एण्ड सिल्भर प्यालेसका सञ्चालक प्रमोद श्रेष्ठको १० वटा बैंकमा खाता रहेको भेटिएको छ ।

उनको खाता रहेको माछापुच्छ्रे बैंकमा एक वर्षमा ६२ लाखसम्म जम्मा भएको छ । श्रेष्ठले खाता खोलेको बैंकमध्ये सबैभन्दा धेरै सिद्धार्थ बैंकमा सन् २०१५ मा एक करोड ९३ लाख जम्मा भएको थियो । १० वटै बैंकहरुमा उनको लाखौंको रकम जम्मा भएको देखिएको छ ।

सुन तस्करीकै आरोप लागेका आरके ज्वेलर्सका राजेन्द्रकुमार शाक्यको ८ वटा बैंकमा खाता छ । शाक्यका खाताहरुमा सबैभन्दा बढि सन् २०१६ मा ९ करोड ५१ लाख रुपैंया जम्मा भएको छ । त्यसअघि पनि करोडौं रुपैंया उनको खातामा आएको देखिन्छ ।

 

त्यसैगरी हाल दुबईमा रहेका सुनको मालिक भनिएका हरिशरण खडकाको खातामा सबै भन्दा बढी सन् २०१६ मा ४२ लाख रुपैंया जम्मा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले भुषालसंगको संयुक्त लगानीमा याक एण्ड यति नेप्लिज कुजिन रेष्टुरेन्ट सञ्चालन गरेका छन् ।

उनी रोजगारीकै लागि दुबई पुगेका थिए । तर माफिया संगको कनेक्सन पछि खड्का रातरात करोडौंका मालिक भएको भेटिएको छ ।

सम्पत्ति शुद्धीकरणमा विवरण बुझाइने

दुई महिना लामो अनुसन्धानपछि सुन तस्करीको आरोपमा समातिएका सरकारी कर्मचारीसहित सबैलाई सीआइबीले संगठित अपराध अन्तर्गत मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई फाइल बुझाइसकेको छ ।

सीआइबी प्रमुख डीआइजी नवराज सिलवालका अनुसार पक्राउ परेकाहरुको थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागलाई विवरण दिइने छ ।

उनले भने, ‘हामीलाई प्राप्त तथ्यांकमा कसैको पनि सम्पत्ति स्वभाविक देखिँदैन, त्यसैले यी सबै विवरण हामी अख्तियारदेखि सम्पत्ति शुद्धीकरण विभागसम्मलाई दिन्छौं । ‘

प्रहरीको रिपोर्टअनुसार सुन काण्डमा ३० जना संलग्न छन् । उनीहरुमध्ये १२ जना पक्राउ परे पनि बाँकी फरार छन् । बाँकी रहेका १८ जना विरुद्ध पनि मुद्दा दायर हुनेछ । ती फरारलाई अदालतले दोषी ठहर गरे रेड कर्नर नोटिस जारी हुने डीआइजी सिलवाल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment