Comments Add Comment

निर्वाचनमा बदर मतप्रतिशत घटाउने आयोगको यस्तो छ योजना

अघिल्लो चुनावमा ५ प्रतिशत मत बदर

२४ फागुन, काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा अभियानका लागि देशभर एकैसाथ करिब २२ हजार स्वयम्सेवक परिचालन गर्ने तयारी थालेको छ ।

निर्वाचनमा जनसहभागिता बढाउन र बदरमत न्यूनीकरण गर्न आयोगले यस्तो अभियानको तयारी अघि बढाएको हो ।

संविधानसभाको दोस्रो निर्वाचनमा देशभर करिब ७ लाख अर्थात ५ प्रतिशत मत बदर भएको थियो । निर्वाचन आयोगले त्यस्तो बदरमत घटाउन चैत्र अन्तिम साताबाट मतदाता शिक्षा अभियान चलाउन लागेको हो ।

निर्वाचन आयोगले एक निर्वाचन केन्द्रमा कम्तिमा एकजनाका दरले करिब २२ हजार मतदाता शिक्षा स्वयमसेवकहरु परिचालन गर्ने तयारी गरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाएका छन् ।

त्यसरी खटाइएको मतदाता शिक्षा स्वयम्सेवकले हरेक मतदाताको घरदैलोमा पुगेर नमूना मतपत्र मार्फत मतदाता शिक्षा दिनेछन् ।

यस्तै निर्वाचन आयोगले विभिन्न संचारमाध्यमबाट समेत मतदाता शिक्षा कार्यक्रम चलाउने तयारी गरेको छ । विभिन्न टेलीश्रृखला, सडक नाटक, टेलिभिजन सामाग्री, फोटो र पम्प्लेटको माध्यमबाट मतदाता शिक्षा सञ्चालन गर्ने आयोगले तयारी गरेको हो ।

यस्तै आयोगले चैत्र महिना र बैशाख अन्तिम साताभरी रेडियो, पत्रपत्रिका र अनलाइनमाध्यमबाट समेत मतदाता शिक्षा अभियान चलाउने गृहकार्य थालेको छ ।

यसअघि २०७० सालको निर्वाचनमा बदरमत घटनामा आयोगले २९ हजार ७ सय ८ जना स्वयमसेवक परिचालन गरेको थियो । र पनि बदरमत ५ प्रतिशत रहेको थियो ।

२०७० को निर्वाचनमा सबै भन्दा बढी बदरमत प्रतिशत भएको जिल्ला डडेलधुरा रहेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुराको करिब ९ प्रतिशत मत बदर भएको थियो ।

सबैभन्दा कम मत बदरहुने जिल्ला लमजुङ्ग रहेको थियो । लमजुङ्गमा कुल खसेको मतमध्ये ०.९ प्रतिशत मत बदर भएको थियो ।

देशको अधिकांश जिल्लामा ४ देखि ५ प्रतिशत मत बदर भएको थियो । २०७० सालमा केही जिल्लाको बदर मत प्रतिशत यस्तो रहेको छ । इलाममा ५.६ प्रतिशत मत बदर भएको थियो ।

झापा जिल्लामा करिब ६ प्रतिशत बदर भयो । यस्तै संखुवासभा ७.०३ प्रतिशत, धनकुटामा ६.२४ प्रतिशत, तेह्रथुममा ५.६३ प्रतिशत, सुनसरीमा ६.७२ प्रतिशत, सोलुखुम्बुमा करिब ८ प्रतिशत, ओखलढुंगामा ६.२९ प्रतिशत मत बदर भएको थियो ।

यस्तै सप्तरीमा ६.४४ प्रतिशत, सिराहामा ६.७८ प्रतिशत, दोलखामा ६.११ प्रतिशत, धादिङ्गमा २.९९ प्रतिशत, नुवाकोटमा ३.९६ प्रतिशत र काठमाडौमा ४.६८ प्रतिशत मत बदर भएको थियो । यसैगरि पर्सामा ५.३८ प्रतिशत, अर्घाखाँचीमा २.८७ प्रतिशत, म्याग्दीमा १.६५ प्रतिशत, रुकुममा २.९९ प्रतिशत, रोल्पामा २.५६ प्रतिशत, जाजरकोटमा १ .८१ प्रतिशत र डडेलधुरामा ८.९५ प्रतिशत मत बदर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment