+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

किन बढ्दैछ नेपालमा चिनियाँ लगानी ?

लगानीको प्रतिबद्धतालाई लगानीमा बदल्न सरकारको गृहकार्य आवश्यक

 सुदिल पोखरेल सुदिल पोखरेल
२०७३ फागुन २४ गते १३:२०


२४ फागुन, काठमाडौं । संविधान जारी भएपछि चीनबाट नेपालमा आउने लगानीमा बढोत्तरी भएको देखिन्छ । हालै मात्रै सम्पन्न लगानी सम्मेलनमा त सबैभन्दा बढी लगानी प्रतिबद्धता चीनबाटै आयो ।

यसरी लगानी तथा लगानी प्रतिबद्धता आउनुमा देशमा देखिएको राजनीतिक स्थायित्व प्रमुख कारण भएको विज्ञहरुको भनाइ छ ।

चिनियाँ लगानीकर्ताहरुसँग अहिले ठूलो मात्रामा पुँजी छ । उनीहरु उक्त पुँजी लगानी गरेर नाफा कमाउन चाहन्छन् । तर, उचित स्थानहरु भेटिरहेका छैनन् ।

उनीहरु नेपालमा राजनीतिक स्थायित्व आएकाले अब नेपालमै लगानी गर्ने योजनामा छन् । चीनका लागि नेपालका पूर्वराजदूत महेश मास्केका अनुसार, चिनियाँहरुले अहिले नेपालमा ठूलो मात्रामा लगानी गर्न चाहिरहेका छन् ।

नेपाल चीनबाट भौगोलिक रुपले निकट भएकाले यहाँ उत्पादित सामान चीनमा समेत निर्यात गर्न सहज हुने चिनियाँ लगानीकर्ताहरुको बुझाइ छ ।

चीनमा बढ्दै छ ‘लेबर कस्ट’

अहिले चीनमा लेबर कस्ट बढ्दै गएको छ । पूर्वराजदूत मास्केका अनुसार, नेपालको तुलनामा चीनको लेबर कस्ट ठूलो मात्रामा वृद्धि भएकाले लगानीकर्ताको रोजाइमा नेपाल परेको हो ।

उनले भने ‘नेपालमा चीनको तुलनामा लेबर कस्ट कम लाग्ने भयो भने उत्पादन लागत यहाँ कम हुन्छ, त्यसैले उनीहरु नेपालमा लगानी बढाउन खोजिरहेका हुन् ।’

लगानी सम्मेलनमा भारतको तुलनामा चीनको ठूलो प्रतिबद्धता

लगानी सम्मेलनमा चीनबाट आठ खर्ब ३० अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । सम्मेलनमा कुल १३ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको प्रतिबद्धता आएकोमा सबैभन्दा बढी चीनबाटै आयो । चीनका लगानीकर्ताले गरेको प्रतिबद्धता रकम कुल घोषित लगानीको ६१ प्रतिशत हो ।

तर, अर्को छिमेकी मुलुक भारतबाट भने सबैभन्दा कम लगानी प्रतिबद्धता आएको छ । सम्मेलनमा भारतीय लगानीकर्ताबाट ३१ अर्ब ७० करोडको मात्रै प्रतिबद्धता आयो । भारतबाट आएको प्रतिबद्धता कुल घोषित रकमको २.२९ प्रतिशत मात्रै हो ।

ओलीको चीन भ्रमणले नेपालप्रति विश्वास बढायो

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा नेपाल र चीनबीच पारवहनसहित १० वटा सम्झौतामा हस्ताक्षर र १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरिएको थियो ।

सम्झौताहरुमध्ये पारवहन सम्झौता ऐतिहासिक नै थियो । वैदेशिक व्यापारका रुपमा भारतीय एकाधिकार तोड्ने गरी यो सम्झौता भएको थियो ।

यो सम्झौता अनुसार, नेपालले चीनको बाटो हुँदै अन्य देशमा व्यापार गर्न सक्छ । सम्झौता कार्यान्वयन गर्न सकेमा नेपालले तेस्रो मुलुकसँग व्यापार गर्नलाई भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहँदैन । तर, यसका लागि चीनतर्फ सडक बिस्तार गर्ने कार्यले भने अहिलेसम्म प्राथमिकता पाउन सकेको छैन ।

यस खालका सम्झौताले नेपालप्रति चिनियाँ लगानीकर्ताको नेपालमा विश्वास बढाएको पूर्वराजदूत मास्केको बुझाइ छ । चिनियाँहरु अहिले नेपालमा लगानी गरेर उत्पादित सामान तेस्रो मुलुकमा समेत पठाउने सोचमा छन् ।

प्रतिबद्धता अनुसारको लगानी भित्रिएला ?

लगानी प्रतिबद्धता आए पनि त्यो रकम भित्रनका लागि भने निकै चुनौती छन् । चिनियाँहरुले नेपालमा उत्पादित वस्तुले बजार पाउने भए मात्रै यहाँ लगानी गर्ने हुन् ।

उदाहरणको लागि, पश्चिम सेतीको विद्युत् नेपालमा खपत गर्न नसकिने हल्लाहरु चलेसँगै अहिले चिनियाँ कम्पनी यसमा लगानी गर्न हिचकिचाएको छ । भारतले पनि नेपालबाट आफूले लगानी गरेका आयोजनाको मात्रै विद्युत् खपत गर्ने भनेको छ ।

यससँगै चिनियाँ कम्पनी थ्री गर्जेज विद्युत् आयोजनामा लगानी गर्ने वा नगर्ने भन्ने दोधारमा देखिन्छ । नेपालमा उत्पादित वस्तुको बजार देखाउन सके मात्रै चिनियाँ लगानी नेपालमा भित्रने मास्के बताउँछन् । साथै नेपालले चिनियाँ कम्पनीसँग ज्वाइन्ट भेन्चर गर्ने वातावरण तयार गर्नुपर्ने देखिन्छ ।

चीनमा अहिले पनि वैदेशिक लगानीमा खुलेका कैयौं उद्योग रहेका छन् । चीनको अर्थतन्त्रमा यति ठूलो परिवर्तन आउनुमा चीनका लगानीकर्ताले विदेशी कम्पनीसँग ज्वाइन्ट भेन्चरमा कम्पनी खोल्नुको पनि ठूलो योगदान छ । त्यसैले नेपाली उद्योगीहरुले पनि चिनियाँ कम्पनीसँग ज्वाइन्ट भेन्चरमा उद्योग खोलेमा यसले नेपाली अर्थतन्त्रलाई नै फाइदा हुने मास्केको तर्क छ ।

सम्मेलनमा लगानीको प्रतिबद्धता मात्र आएकोले त्यसलाई लगानीमा बदल्न सरकारले आवश्यक तयारी गर्नुपर्ने देखिन्छ । सरकारले आवश्यक वातावरण तयार पारेर लगानीको लागि आकर्षित गर्न नसके यो प्रतिबद्धता कागजमै सीमित हुने सम्भावना पनि उत्तिकै देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?