+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पुरुषले मनाइदिने नारी दिवस !

यमुना अर्याल यमुना अर्याल
२०७३ फागुन २५ गते १६:३३

अन्तरराष्ट्रिय नारी दिवसको बिहानै अनलाइनखबरमा एउटा समाचार पढेँ, ‘राप्ती किनारबाट केकीले भनिन्, यहाँ नारी दिवसको कुनै रौनक छैन ।’

बाँकेको फत्तेपुरमा रहेकी नायिका केकी अधिकारीले उक्त स्थानमा महिला दिवसको केही रौनक नभएको र महिला अधिकारकर्मीहरु गाउँ गाउँमा पुग्नुपर्ने बताएकी छिन् । केकीले देखेको जस्ता पात्रहरु देशैभरि छन् ।

दुरदराजका महिलाको मात्र कुरा होइन, राजधानीमै बसोबास गर्ने श्रमजीवी महिलाहरुलाई समेत यो दिवसका बारेमा, यो दिनको महत्व र औचित्यका बारेमा अलिकति पनि जानकारी छैन ।

राजधानीको बानेश्वरमा बन्दै गरेको एउटा घरमा धेरै महिला कामदार कार्यरत छन् । आउजाउ गर्दा चिनजान भएका ती कामदार महिलाहरुलाई हिजो बेलुका सोँधे, दिदी, भोलि के दिवस हो थाहा पाउनु भा छ ? चार पाँचजनाको समुहमा डोकोमा गिटी र बालुवा बोक्ने दिदीहरु मेरो कुरा सुनेर खित्का छोडेर हाँसे, खै बैनी आफूलाई त यही डोकोमा बालुवा र गिटी तलामाथि ओसार्ने र साँझ कोठामा बुढा, छोराछोरीलाई पकाएर खुवाउनैमा फुर्सद छैन । बिहान फेरि घरको धन्दा भ्याएर यहीँ काममा आउने हो, विदासिदा जेजे भनेपनि यही हो ।

तपाईहरु पाँचजनामध्ये कसैलाई पनि थाहा छैन दिदी ? भोलि त महिला दिवस हो नि, तपाई हामी सबै महिलाको दिवस रे, अब थाहा पाउनु भयो ? एकजना अलि पाकी उमेरकी दिदी फेरि हाँसिन्, खै थाहा छैन, गामबाट आको यहाँ काम गर्न दुई साल भयो बैनी, गाऊँमा पनि कसैले भनेनन् । यहाँ हामलाई कसले भन्छ र ?

उनले आफूले काम गर्ने घरकी घरमुलीलाई संकेत गर्दै भनिन्, हिजो साहुनीले कोसँग फोनमा कुरा गर्दैथिइन्, भोलि के के बोल्ने ? कस्ता लुगा लगाएर जाने ? कहाँ भेट भएर जाने ? ट्याक्सीमा जाने कि बसमा ? सुनेको यति हो, बिहेमा जाने होलिन् भन्यांै हामीले ।

पाँच जनामध्ये एकजना अलि कम उमेरकी थिइन् उनलाई सोधें, बहिनी तपाईहरुलाइ साहुले भोलि विदा दिएका छन् कि छैनन् ? उनले लजाएजस्तै गरिन् । उनले भनिन्, हामी सरकारी परेनम् ज्यालादारी गर्ने मान्छेलाई केको विदा ?

महिला अधिकार र हकका बारेमा महिला सभासदहरुले भाषण गर्ने स्थान संसद भवनको आसपासकै स्थानमा ज्याला मजदुरी गरेर परिवारको मुखमा माड लगाउन तल्लीन महिलाहरुले समेत थाहा नपाउने कस्तो महिला दिवस मनाउँदै छौं हामी ?

महिला अधिकारको दिन अझ श्रमिक महिलाहरुले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन पाउनुपर्ने भाषण गरिन्छन्, ठूलाठूला होटलहरुमा कार्यक्रम गरिन्छन् । कार्यपत्रहरु तयार गरिन्छन्, प्रतिवेदन बनाइन्छ, रिपोर्ट बुझाइन्छ । तर, नेपालका श्रमिक महिलाहरुको हालत हिजो जहाँ जस्तो थियो, आज पनि त्यही हालत, त्यही गतिमा कायम छ ।

गाऊँका कुनाकुनाका हाम्रा आमा हजुरआमाहरुलाई महिला दिवसका बारेमा केही जानकारी छैन । गाऊँका सोझा आमा, हजुरआमालाई के थाहा छ भने दिवस भनेेको सरकारले विदा दिने, ठुल्ठुला नेताहरुले भाषण गर्ने, ठूला मान्छेले मात्रै मनाउने एउटा चाड जस्तै हो ।

गाऊँमा सकभर कुनै अधिकारकर्मीहरु जाँदैनन् । गए पनि सबै महिलालाई उपस्थित गराएर कार्यक्रम गर्दैनन् । टाठाबाठा महिलाहरुले मात्रै अधिकार र हकका बारेमा थाहा पाउँछन् । सेवा सुविधा उनीहरुले लिन्छन्- बाँकी महिलाहरु जहाँको त्यहीँ छन् ।

हजुरआमाको विचारमा महिला हक

तीन वर्षदेखि राजधानीमै बस्दै आएकी मेरी हजुरआमालाई समेत यो दिनका बारेमा थाहा छैन । हजुरआमालाई नारी दिवस भनेको केही पनि थाहा छैन । आठ दशक पार गरेकी हजुरआमाले महिला दिवसका बारेमा ए मात्रै भन्नुले के देखाउँछ भने उहाँजस्ता हजारौं आमाहरुलाई यो दिवसका बारेमा केही पनि थाहा छैन ।

आठ वर्षको उमेरमा बिहे गरेकी हजुरआमा ५० वर्ष नपुग्दै विधवा हुनुभयो । घर व्यवहार चलाउने, सन्तान हुर्काउने, खेतीपाती, घर गोठको धन्दा बाहेक अर्थोक केही थाहा भएन र अहिले पनि खासै छैन । छोराछोरीका लागि बाबुआमा दुबैको दायित्व झेल्दाझेल्दै आमालाई अरु कुरा केही सुन्ने फुर्सद पनि भएन, कसैले सुनाउने चेष्टा पनि गरेन ।

घरका छोराछोरी, नाति नातिनीले महिला अधिकार र हकका कुरा गर्दा हजुरआमालाई पत्यार लाग्दैन, उल्टै थर्काउनुहुन्छ । ऊ बेलामा हामीले कति सह्यौं, कति भोग्यांै अहिले खुब भाषण गर्छौं । तिमीहरु नेता हौ र ? अधिकार र हकका कुरा गर्ने नेताले मात्र हो, भाषण भनेको नेताले मात्र गर्छन् भन्ने भान छ उहाँलाई ।

पुरुषको शुभकामना

आज प्रकाशित सबै पत्रपत्रिकाहरु महिलामय छन् भन्दा फरक पर्दैन । विचार पृष्ठहरु महिलाका विचारले भरिएका छन्, समाचार महिलाकै बारेमा छन्, महिला दिवस भनेर बेग्लै पानासमेत निकालेका छन् पत्रपत्रिकाहरुले ।

श्रव्य दृश्य सबैजसो सञ्चार माध्यममा आज महिलालाई निकै स्थान दिइएको छ । सामाजिक सञ्जाल खोल्नासाथ महिलाभन्दा धेरै पुरुषमित्रहरुले लेखेका सुन्दर भाषासहितका शुभकामनाहरु बढी देखिए । सायद महिला आफन्तहरु आफ्ना नियमित काम धन्दामै व्यस्त थिए होलान् ।

सरकारले सार्वजनिक विदा दिएको छ, पहिले नारीलाई मात्र विदा दिने भए पनि अहिले पुरुष कर्मचारीलाई समेत विदा दिइन्छ । पुरुषले समेत महिला अधिकार र दिवसका बारेमा लेखेका छन्, भाषण गरेका छन् । अझ भन्ने हो भने महिला दिवसको अवसरमा आयोजना गरिने कार्यक्रमका प्रमुख अतिथि पुरुष नै हुन्छन् र वक्ता पनि पुरुष नै ।
पुरुषले महिलाका बारेमा बोलिदिनुपर्छ, लेखिदिनुपर्छ, अनि मञ्चमा महिलाहरुले तिनै पुरुषले अधिकार दिएनन्, अधिकार एक्लैले चलाए, आफूलाई कुण्ठित गरे भनेर आलोचना गर्नुको केही तुक होला त ?

सरकारले महिलाको मात्रै पर्व भनेको छैन, सार्वजनिक विदा दिएको छ । सायद महिला-पुरुष मिलेर सहकार्य गरेर यो दिनको महत्वलाई उजागर गर्नुपर्छ भन्ने अभिप्राय हुन सक्छ । तर, व्यवहारमा त्यो छैन ।

एकाथरी महिलाहरु पुरुषले अधिकार नदिएकोमा गुनासो गर्छन् । अर्काथरी महिलाहरु महिलाले नै अधिकारबाट बञ्चित गरेकोमा प्रताडीत हुनुपरेको बताउँछन् । एक पक्षलाई निषेध गरेर अधिकार पाइँदैन, दुबैको सहकार्यबाट मात्रै अधिकार प्राप्ति हुन्छ र त्यसको सही सदुपयोग पनि हुन्छ ।

लेखक
यमुना अर्याल

सामाजिक बिषयमा कलम चलाउने यमुना अर्याल अनलाइनखबरकी स्तम्भकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?