Comments Add Comment

नेपालीका घरमा पसेर भारतीयको लुटपाट, बाख्रासमेत छाडेनन्

नेपाली प्रहरी मूकदर्शक बनेको स्थानीयबासीको गुनासो

२६ फागुन, कञ्चनपुर । भारतीय सीमा क्षेत्रमा पर्ने आनन्द बजारका स्थानीय नेपालीहरुको घरमा भारतीयहरुले लुटपाट गरेका छन् ।

स्थानीय श्याम गुरुङको पसलसमेत रहेको घरबाट भारतीयहरुले बिहीबार दिउँसो बाख्रा, खसीबोका, भाडाकुँडा र लत्ताकपडा समेत लुटेर लगेको प्रत्यक्षदर्शीले बताए ।

गुरुङको टिनले छाएको कच्ची घरको छानामा रहेको टीनका पातासमेत उक्काएर लगेको प्रत्यक्षदर्शीको गुनासो छ । गुरुङको घरमा रहेको एउटा मोटरसाइकलसमेत भारतीयले लुटेर लगेको स्थानीयले बताए । कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने आनन्द बजार क्षेत्रका अन्य घरहरुमा पनि एसएसबीसँगै छिरेका भारतीयहरुले तोडफोड गरेका हुन् ।

एसएसबीले गोली चलाएपछि नेपालीहरु तितरवितर भएको मौकामा भारतीयहरु श्याम गुरुङको घरमा प्रवेश गरेका हुन्

एसएसबीको आडमा भारतीयहरुले नेपालीको घरमा तोडफोड गर्दा नेपाल प्रहरी भने मूकदर्शक बनिरहेको स्थानीयले गुनासो गरे । प्रहरी निरीक्षकको कमाण्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी मूकदर्शक बनेको र नेपालीमाथि ज्यादती हुँदा मूकदर्शक बनेको गुनासो स्थानीयको छ ।

घटनामा भारतीयहरुले हानेको ढुंगाले लागेर बेलौरिया सीमा पोस्टका सशस्त्र प्रही इन्स्पेक्टर राम खत्रीसमेत घाइते बनेका छन् । उनको मुखमा चोट लागेको छ । त्यस्तै, एक जना प्रहरी नायव निरीक्षकलाई समेत चोट लागेको छ ।

एसएसबीको गोली लागेर घाइते भएका गोविन्द गौतमको धनगढी अस्पतालमा मृत्यु भएपछि आनन्द बजारमा थप तनाव बढेको छ ।

सुरुमा जनपथ प्रहरीमात्रै खटिएकोमा दिउँसो २ बजेपछि कैलाली र कञ्चनपुरबाट सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । कञ्चनपुरबाट प्रमुख जिल्ला अधिकारी र एसपी पनि घटनास्थलतर्फ लागेका छन् ।

घटनास्थलमै भारतीय एसएसबीका अधिकारीहरुसँग वार्ता भइरहेको छ । नेपालीहरु आक्रोशित बनेर नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment