Comments Add Comment

मन्त्रिपरिषद् विस्तार, कमल थापा उपप्रधानमन्त्री नियुक्त

हितराज फिर्ता हुँदा दिलनाथ र परशुराम थपिए

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपाबाट उपप्रधानसहित तीन मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मधेसी मोर्चाले ७ दिनभित्र संविधान संशोधन र स्थानीय चुनाव स्थगित नभए स्वतः समर्थन फिर्ता हुने घोषणा गरे लगतै राप्रपाले सरकारमा थप मन्त्री पठाएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा उपप्रधान एवं स्थानीयविकास मन्त्री नियुक्त भएका छन् । यस्तै प्रमुख सचेतक दिलनाथ गिरीलाई संस्कृति, पर्यटन तथा नायरिक उड्ययन मन्त्री नियुक्त गरिएको छ ।

थापा र गिरीले बिहीबार नै राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका छन् ।

राप्रपाबाट राज्यमन्त्रीमा सिफारिस भएका परशुराम तामाङले भोलि शुक्रबार सपथ लिनेछन् ।

राप्रपा र राप्रपा नेपालबीच एकता हुनु अघि नै राप्रपाबाटै दीपक बोहोरा आपूर्ति र विक्रम पाण्डे भूमिसुधार मन्त्री छन् ।

पाण्डेको मन्त्री पद खोसियो, शाही र सिंह हेरफेर

राप्रपाबाट मन्त्री थप्नु अघि माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टी नेता हितराज पाण्डेलाई स्थानीय विकासमन्त्रीबाट फिर्ता गराएका थिए ।

उनलार्इ पशुपंक्षी विकासमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, उनले अस्वीकार गरेका छन् । स्थानीय विकास राज्यमन्त्री रहेका श्रीप्रसाद जबेगुबारे भने नयाँ निर्णय भएको छैन ।

यस्तै मन्त्रीद्वय जीवनबहादुर शाही र प्रेमबहादुर सिंहको पनि मन्त्रालय हेरफेर भएको छ । शाहीले सम्हाल्दै आएको पर्यटन मन्त्रालय राप्रपाबाट मन्त्री भएका गिरीले लिएका छन् ।

कांग्रेस नेता शाहीलाई भने प्रेमबहादुर सिंहले सम्हाल्दै आएको खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंहले भने प्रधानमन्त्रीसँग रहेको विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

४५ सदस्यीय क्याबिनेट, तीन उप्रप्रम

बिहीबारको विस्तारसँगै प्रचण्ड सरकार ४४ सदस्यीय भएको छ । बिहीबार एक मन्त्री हटे भने उपप्रधानसहित दुई मन्त्री र एक राज्यमन्त्री थपिए ।

अब प्रचण्ड सरकारमा तीन उपप्रधानमन्त्री भएका छन् । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि, उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा छन् । तेस्रा उपप्रधानमन्त्री कमल थापा भए, उनले स्थानीयविकास मन्त्रालय सम्हाल्नेछन् ।

यस्तै २६ मन्त्री छन् भने १५ रान्यमन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment