Comments Add Comment

तपाईंको बच्चामा कार्टुन हेर्ने लत छ ? यसरी हटाउनुस्

कार्टुन हेर्न लागेपछि पूरै दिन बिताउन समेत तयार हुने आफ्नो बच्चाका कारण तपाईं दिक्क हुनुभएको होला । बिहान उठ्नासाथ र राति सुत्नुअघि पनि कार्टुन नै हेर्ने बानी धेरै बच्चामा हुन्छ । अरु त अरु, स्कूलको होमवर्क गर्ने बेलामा पनि कतिपय बालबालिका टीभी खोलेर बस्ने गर्छन् ।

छोराछोरीमा कार्टुनको लत अहिले धेरै अभिभावकको टाउको दुखाइको विषय बनिरहेको छ । हरखबत कार्टुनमा झुम्मिने बानीले अधिकांश बालबालिकाको शारीरिक गतिविधि निस्क्रिय छ । यसले एकातिर उनीहरुमा स्वास्थ्य समस्या निम्त्याउँदै छ भने अर्कोतिर पठनपाठनमा आवश्यक ध्यान पुग्न सकेको छैन । एकोहोरो कार्टुन हेर्ने प्रवृत्तिले बच्चाहरुको स्वभाव आक्रामक बनाउँदै गएको छ ।

कार्टुनको प्रभाव के हुन्छ ?

कार्टुनले बच्चालाई काल्पनिक दुनियाँमा डोर्‍याउँछ । टिभीमा देखिने कुरालाई नै वास्तविक ठानेर उनीहरु त्यसैलाई अनुसरण गर्ने प्रयास गर्छन् । त्यसैले अहिलेका बच्चाहरु वास्तविक जीवनमा रमाउन सकिरहेका छैनन् ।

त्यसो त कार्टुनको बेफाइदा मात्र छैन । अहिलेको डिजिटल युगमा बच्चाहरुले कार्टुनबाट धेरै कुरा सिकिरहेका पनि हुन्छन् । ज्ञान-विज्ञानका विषयमा बनाइएका कतिपय कार्टुनबाट राम्रा कुरा सिक्नुका साथै उनीहरुले नयाँ प्राविधिक ज्ञान पाउँछन् ।

तर, कार्टुनले आजका बालबालिकामा नकारात्मक असर बढी पारिरहेको छ । बच्चाहरु दिनभर कार्टुन हेर्दाहेर्दै आफैं कार्टुनका पात्र जस्तै बन्छन् । उनीहरु कार्टुनकै हाउभाउ नक्कल गर्छन् र त्यस्तै भाषा बोल्छन् । कार्टुनले बच्चाहरुमा मुख्यगरी निम्न असर पारिरहेको छः

अनौठो हर्कत गर्ने– कार्टुनको लतमा परेका बच्चाहरु कार्टुनको पात्र जस्तै बन्ने अभ्यास गर्दै अनौठो हर्कत गर्न थाल्छन् । अक्सर कार्टुनमा देखाइने हिंस्रक दृश्यले बच्चाको कोमल मनमा हिंस्रक प्रवृत्तिलाई बढावा दिन्छ । उनीहरु कार्टुनमा जस्तै मारपिट र हिंसा गर्न रुचाउने हुँदै जान्छन् ।

भाषा परिवर्तन– अहिले नेपाली बच्चाहरु मुख्यगरी हिन्दी कार्टुन हेर्छन् । फलस्वरुप उनीहरु देखासिकी गर्दै हिन्दी भाषा बोल्न अभ्यस्त हुँदै गएका छन् । कति कुरा त उनीहरुले नेपाली शब्दको साटो हिन्दीमा भनेको मात्र बुझ्छन् ।

आक्रामक र जिद्दीपन– कार्टुनमा बढी लिप्त हुने बच्चाहरु आक्रामक र जिद्दी स्वभावको हुने गरेका छन् ।

मोटोपन– एकै स्थानमा बसेर कार्टुन हेर्दा शारीरिक गतिविधि शून्य हुँदै जाँदा बच्चाको स्वास्थ्यमा पनि असर पुग्छ । कार्टुनसागै आउने जंकफुडको विज्ञापनले पनि त्यस्तो खानपानप्रति उनीहरुको मोह बढ्न थाल्छ । त्यसबाट उनीहरुमा मोटोपनसँगै अन्य रोगको खतरा पनि हुन्छ ।

यसरी लाग्छ कार्टुनको लत

कामकाजी अभिभावक – आजको समयमा आमाबुवा दुवै कामकाजी हुने गरेकाले उनीहरुसाग बच्चालाई दिनुपर्ने समय हुँदैन । आमाबुवा आफूसँग नखेल्ने गरेपछि बच्चाहरु आफूलाई कार्टुनमा भुलाउन थाल्छन् । धेरैजसो अभिभावकले आफू निश्फ्रिक्री काममा लाग्न पाइयोस् भनेर बच्चाहरुलाई टीभी अगाडि छाडिदिने गर्छन् ।

बच्चाको एक्लोपन – कतिपय अभिभावक फुर्सदको समय हुँदा पनि बच्चासँग खेल्न, कुरा गर्न रुचाउँदैनन् । यस्तो अवस्थामा बच्चाहरु एक्लो महसुस गर्छन् र कार्टुनको शरणमा पुग्छन् ।

खेल्ने माध्यम र ठाउँ नहुनु– बच्चाहरुले कोठा बाहिर शारीरिक खेल खेल्न खोजे पनि खासगरी शहरी भेगमा खुला ठाउँ पाइँदैन । त्यसले गर्दा बच्चाहरु कोठाभित्रै सीमित भएर कार्टुनबाट मनोरञ्जन लिन बाध्य हुन्छन् ।

एकल परिवार– अचेल संयुक्त परिवारको प्रचलन हराउँदै गएर एकल परिवारमा रमाउने क्रम बढेको छ । तर, एकल परिवारमा सीमित सदस्यहरु हुने भएकाले बच्चाले खेल्ने र अलमलिने पर्याप्त विकल्प पाउँदैन । खेल्ने दाजुभाइ-दिदीबहिनी र साथीहरुको अभाव मेट्न बच्चाहरु कार्टुनको लतमा बाँधिँदै जान्छन् ।

कार्टुनको लत कसरी छुटाउने ?

बच्चालाई समय दिनुस् – बच्चामा कार्टुनको लत बढ्नुमा सबैभन्दा बढी जिम्मेवार अभिभावक नै हुन्, जो बच्चासाग घुलमिल हुँदैनन् । बच्चासँग कुराकानी गर्ने, विभिन्न खेल खेल्दै मनोरञ्जन गर्ने गरेमा उनीहरुको ध्यान टिभीमा जाँदैन ।

बच्चालाई बोझ नठानौं– कति अभिभावक बच्चाको कुरा सुन्न, उनीहरुसँग खेल्न झर्को मान्छन् । त्यसैले बच्चाबाट सजिलै उन्मुक्ति पाउन उनीहरुलाई कार्टुन देखाइदिन्छन् । यस किसिमको खराब बानीले पनि बच्चामा कार्टुनको लत लाग्छ । त्यसैले बच्चाको कुरामा चाख दिएमा उनीहरु कार्टुनको मोहमा फस्दैनन् ।

समय निर्धारण गरौं– बच्चालाई कार्टुन हेर्नै बन्देज लगाउने होइन । बरु यसका लागि समय निर्धारण गरिदिनुपर्छ । कतिबेला पढ्ने, कतिबेला खेल्ने र कतिबेला टीभी हेर्ने भनेर उनीहरुलाई व्यवस्थित नियम बनाइदिनुपर्छ । टीभी देखाउादा कार्टुनका साथै अन्य जानकारीमूलक र मनोरञ्जनात्मक च्यानल पनि हेराउने अभ्यास गर्नुपर्छ ।

राम्रो र नराम्रो कुराबारे स्पष्ट पारिदिनुस्– कस्तो कार्टुन हेर्न हुन्छ र कस्तो हुँदैन भन्ने कुरा बच्चालाई सिकाउनुपर्छ । धेरै हिंसात्मक दृश्य भएको, लडाइँ-झगडा भएको कार्टुन हेर्न दिनु हुन्न ।

बच्चामाथि निगरानी राखौं– कार्टुन हेरिरहेको समयमा बच्चालाई त्यसै छाड्नु हुन्न । उनीहरुले के हेर्दै छन्, के गर्दै छन् भन्ने कुरामा निगरानी राख्नुपर्छ ।

आउटडोर गेममा प्रेरित गरौं– दिनभर टिभी हेराउनुभन्दा बच्चालाई बाहिर घुमाउन लानुपर्छ । घर नजिकै खुला चउर छ भने झन् राम्रो । बाहिर खुला ठाउँमा उनीहरुसँगै शारीरिक व्यायाम हुने खालका खेल खेल्नुपर्छ । आउटडोर गेममा प्रेरित गरेपछि बिस्तारै कार्टुनको लत छुट्दै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment