Comments Add Comment

मधेसी मोर्चाद्वारा प्रचण्डको प्रस्ताव अस्वीकार, असहयोग आन्दोलन घोषणा

२ चैत, काठमाडौं । मधेसी मोर्चाले सीमांकनलाई आयोगमार्फत टुंगो लगाउने गरी संविधान संशोधन अघि बढाउने प्रधानमन्त्री प्रचण्डको विकल्प अस्वीकार गरेको छ । साथै असहयोग र अवज्ञा आन्दोलन घोषणा गरेको छ ।

मधेसी मोर्चाको बुधबार बसेको बैठकले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिँदै भोलिदेखि नै असहयोग र अवज्ञा आन्दोलन सुरु गर्ने निर्णय गरेको छ ।

त्यसअघि बुधबार विहान प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका शीर्ष नेताहरुलाई भेटेर सीमांकनलाई आयोगमार्फत टुंगो लगाउने र संविधान संशोधन विधेयकका बाँकी विषय अघि बढाउने प्रस्ताव अघि सारेका थिए । सीमांकनबारे भने स्थानीय चुनावपछि अर्को संशोधन गर्ने प्रचण्डको प्रस्ताव थियो ।

लगतै बसेको मधेसी मोर्चाको बैठकले प्रचण्डको प्रस्ताव अस्वीकार गर्दै आन्दोलन घोषणा गरेको छ । ‘कुरा त सकारात्मक नै गर्नु भएको थियो । तर, अहिलेसम्मको ट्राक रेकर्ड विश्वसनीय छैन । त्यसैकारण उहाँहरुले भन्नु भएको कुरा गर्न सक्नु हुन्छ कि हुन्न हामीलाई विश्वास दिलाउन सक्नु भएन’ तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने ।

उनका अनुसार प्रस्ताव केही सकारात्मक भएपनि सरकारी प्रतिवद्धता अवसरवादी देखिएको छ, त्यही कारण आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय भएको छ । जस अनुसार भोलि ३ गतेदेखि निर्वाचन आयोगद्वारा घोषित निर्वाचन कार्यक्रम र स्थानीय तहको नयाँ संरचना कार्यान्वयनमा पूर्णतः असहयोग गर्नेछ ।

१३ गते मलेठ घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धान्जली दिन सभा गर्ने मधेसी मोर्चाको निर्णय छ । यस्तै चैत १५ गते जिल्ला निर्वाचन कार्यालय घेराउ गर्ने मोर्चाको कार्यक्रम छ ।

मधेसी मोर्चामा आवद्ध दलहरुले भोलि नै सभामुखलाई लिखित रुपमा सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी गराउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment