३ चैत, काठमाडौं । गएराति निधन भएका नेपाली कांग्रेसका नेता रामहरि ढुंगेलको पार्थिव शरिरमा शीर्ष नेताहरुले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । अन्तिम श्रद्धाञ्जली दिन ढुंगेलको पार्थिव शरिर कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले पूर्व सहायक मन्त्रीसमेत रहेका ढुंगेलको पार्थिव शरिरमा कांग्रेसको चारतारे झण्डा ओढाएका थिए । कांग्रेसका अन्य नेता-कार्यकर्ताहरु पनि पार्टी कार्यालय सानेपा पुगेर ढुंगेलप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
उच्च रक्तचाप र ग्याष्ट्रिको रोगबाट पीडित नेता ढुंगेल आज बिहान डिल्लीबजारस्थित डेरामा मृत भेटिएका थिए ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ ।
२०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर २ बाट सांसदमा निर्वाचित भएका ढुंगेल स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सरकारमा कृषि सहायकमन्त्री भएका थिए ।
प्रतिक्रिया 4