Comments Add Comment

राल्फाको यात्राः गरिब जनता झुम्मिन्थे, हुने-खाने तर्किन्थे

रेडियो नेपालको पैसा गुम्दा 'राल्फा' को गर्भाधान

‘राल्फा’ लगायत समूहमा आबद्ध भएर मैले दुई दशकभन्दा बढी समयसम्म गीत लेख्ने र गाउने काम गरेँ । त्यस क्रममा कहिले तीता त कहिले मीठा घटना भए ।

राल्फा ०२४ सालमा गठन भएको हो । हामी रामेश, रायन, म, अरिम, नोरेम, निनु चापागाईं, निरन सापकोटा, विमल लगायत युवा मिलेर समूह बनाएका थियौं । यसको उद्देश्य थियो, अहिले समाजमा राम्रो छैन, यसलाई परिवर्तन गर्नुपर्छ ।

रेडियो नेपालको पैसा गुम्दा ‘राल्फा’ को गर्भाधान

राल्फा जन्मिनुको छुट्टै कथा छ । खासमा रेडियो नेपालको कारण यो समूह जन्मिएको हो । ०२४ साल अगाडिसम्म रामेश र रायन रेडियोमा गाउँथे । मैले पनि रेडियोको कार्यक्रममा कविता वाचन गरेको थिएँ । त्यसबेला कविता पढे वापत पैसा पाइन्थ्यो ।

तर, रेडियोभित्रकै कसैले कीर्ते सही गरेर मेरो कविताको पारिश्रमिक खाइदिएछ । रामेश र रायनले पनि गीत गाएको पैसा पाएका रहेनछन् । पछि मिलाउला भन्दै रेडियोले टारिरहेको थियो । म त्यसबेला राष्ट्र बैंकमा काम गर्थेँ ।

रामेश-रायनले भने, ‘हाम्रो पनि पैसा खाइदियो कि, हेर्देऊ न ।’ नभन्दै उनीहरुको पैसा पनि अर्कैले निकालेर खाइसकेको रै’छ ।

त्यो स्थितिमा हामीले कीर्ते गर्ने विरुद्ध मुद्दा हाल्ने तयारी गर्‍यौं । त्यस प्रकरणले रेडियो नेपालसँग झगडा जस्तो भयो । त्यहाँका ठूलाबडा रिसाएपछि हामी फेरि रेडियोमा जाने वातावरण भएन । त्यसपछि एउटा समूह बनाएर अघि बढ्ने भनेर ‘राल्फा’ गठन गरियो ।

यसरी राखियो नाम

राल्फा शब्दको खासमा कुनै अर्थ छैन । यो शब्द शब्दकोशमा पनि भेटिँदैन । हामीले समूह बनाउँदा हामी जे बोल्छौं र गर्छौं, त्यो नै राल्फा हो भनेका थियौं ।

मैले एउटा लेख लेखेको थिएँ, ‘गिटारमा सलबलाउँदो धुनः राल्फा’ भनेर । त्यही राल्फा शब्दबाट समूहको नाम राखौं भन्ने कुरा भयो । खासगरी रामेशले जोड दियो । अरु साथीहरुले पनि त्यसमा सहमति जनाए ।

राल्फा भनेर समूह बनाएपछि राल्फा कविता र लेखहरु लेख्नुका साथै गीतहरु गाउन थाल्यौं ।

समूह बनाएपछि पनि म सुरुमा गीत गाउँदिनथेँ । पछि गाउन थाले । वीरगञ्जमा राष्ट्रिय लोकगीत सम्मेलन आयोजना भएको थियो । पारिजात दिदीले आऊ भनेपछि हामी त्यहाँ गएका थियौं । त्यहाँ रामेश, रायन, म र अरिमले गीत गायौं । त्यो कार्यक्रममा हाम्रो प्रस्तुति एकदमै सबल देखियो ।

पहिले गणेश रसिकको पनि राल्फामा उपस्थिति थियो । केही समयपछि समूह छाडेर लेकालीमा जानुभयो । त्यसपछि रामेशका दाइ गोरखबहादुर श्रेष्ठले अब मञ्जुलले पनि गाउनुपर्छ भनेर हौसला दिनुभयो । त्यसपछि मैले गाउन थालेको हो ।

वीरगञ्जको कार्यक्रममा गाएपछि हामी आफैं पनि एकल कार्यक्रम दिन सक्ने रै’छौ भन्ने विश्वास भयो र काठमाडौं आएर राल्फाको एकल कार्यक्रम गर्‍यौं ।

पारिजातले खोलेको भनेर इतिहास बङ्ग्याइयो

राल्फाबारे अझैसम्म पनि धेरैमा गलत बुझाइ पाइन्छ । खासगरी यो समूह पारिजातले खोलेको हो, उहाँ त्यसको अगुवा हुनुहुन्थ्यो भन्ने गरिन्छ । किताबहरुमा समेत राल्फाबारे लेखिँदा तथ्य तोडमोड गरिएको पाइन्छ । तर, यथार्थ त्यो होइन ।

हामीले राल्फा गठन गरेको केही समयपछि मात्र पारिजात दिदी समूहमा आबद्ध हुनुभएको थियो ।

त्यसो त हामीले समूह बनाउनुभन्दा अगाडि पनि उहाँ हाम्रो अभिभावक र संरक्षक चाहिँ हुनुहुन्थ्यो । हामीलाई सिर्जनात्मक कार्यमा ऊर्जा दिनुहुन्थ्यो । हामी उहाँलाई तपाईं पनि राल्फा बन्नुस् न भनेर आग्रह गरिरहन्थ्यौं । तर, मान्नुभएको थिएन ।

पछि ०२५ सालमा मेरो ‘छेकुडोल्मा’ उपन्यासमा उहाँले भूमिका लेख्नुभयो- ‘एउटा राल्फा- अर्को राल्फाको डायरीमा’ शीर्षकमा । सो भूमिका मार्फत उहाँले आफूलाई राल्फाको रुपमा प्रस्तुत गर्नुभयो ।

पारिजातको प्रश्न- मैले पकाएको खाना कस्तो छ ?

पारिजात दिदी मायालु हुनुहुन्थ्यो । घरको आफ्नै दिदी जस्तै हुनुहुन्थ्यो । उहाँमा पहिला अलि निराशाजनक विचारहरु थिए । तर, पछि निर्मल लामा दाइसँगको संगत र राल्फामा हामीसँग घुलमिल हुँदै गएपछि परिवर्तन आयो । मुख्यगरी हाम्रा गीतहरुको प्रभाव उहाँमा पर्‍यो । बिस्तारै आशावादी र जीवनमुखी हुन थाल्नुभयो ।

उहाँ पुतलीसडकमा बस्नुहुन्थ्यो । हामी तारन्तार त्यहाँ पुगिरहन्थ्यौं । उहाँकोमा जाँदा आफूले लेखेका रचनाहरु त सुनाउनुहुन्थ्यो नै, खाना पनि खुवाउनुहुन्थ्यो । केही न केही खानेकुरा खुवाउने ।
उहाँ भन्नुहुन्थ्यो, ‘मैले लेखेको रचना कस्तो छ भनेर बरु नभने हुन्छ, मैले बनाएको खाना चाहिँ कस्तो छ भनेर भन्नु चाहिँ पर्छ ।’

शरीर कुँजिन थाले पनि टुकु-टुकु हिँड्दै उहाँ खाना आफैं पकाउनुहुन्थ्यो । एउटा हातले चुरोट समात्नुहुन्थ्यो, अर्कोले लेख्नुहुन्थ्यो ।

हाम्रो संगतमा आएपछि पारिजात दिदीले गीत पनि लेख्न थाल्नुभयो । उहाँ अलि निराशाजनक गीत लेख्नुहुन्थ्यो । हामी गीत मार्फत नै त्यसको जवाफ दिन्थ्यौं । भेट हुँदा हामी प्रायः नयाँ कविता र कृतिहरुबारे छलफल गर्थ्यौं ।

पहिले ‘शिरीषको फूल’ जस्तो कलात्मक उपन्यास लेखे पनि उहाँ पछि प्रगतिवादी लेखनतिर ढल्किनुभयो । पहिलेको आफ्नै लेखनप्रति आलोचना गर्नुहुन्थ्यो ।

गीत सुनाउने अखडा पारिजात-निवास

दिदी एकदम अध्ययनशील हुनुहुन्थ्यो । किताब पढिरहने उहाँको बानीका कारण हामीले पनि किताब पढ्न थाल्यौं । बजारमा कुनै नयाँ नेपाली/विदेशी कृति निस्कियो भने समूहमा चर्चा हुन्थ्यो । त्यसपछि पढ्न मन लाग्थ्यो ।

समकालीन लेखकहरुसँग पनि पारिजात दिदीको सरसंगत राम्रो थियो । त्यतिखेरका कवि र लेखकहरु उहाँलाई भेट्न पुतलीसडकस्थित उहाँको निवासमा आइरहन्थे । प्रायः भूपी शेरचन, शङ्कर लामिछाने, कृष्णभक्त श्रेष्ठ, मोहन कोइराला, उपेन्द्र श्रेष्ठ, मदनमणि दीक्षित लगायत आउनुहुन्थ्यो ।

उहाँहरु भेटमा साहित्यको विषयमा कुराकानी गर्नुहुन्थ्यो । त्यतिखेर हामी उहाँहरुको कुराकानी सुन्थ्यौं । सुन्दा रमाइलो लाग्थ्यो ।

त्यहाँ हामीले लेखकहरुलाई चिन्ने मौका त पाउँथ्यौं नै, हाम्रो गीत पनि उहाँहरुलाई सुनाउँथ्यौं । दिदीको निवास कवि-लेखकहरुलाई अनौपचारिक रुपमा गीत सुनाउने थलो थियो ।

त्यतिखेर हामी कवितात्मक गीतहरु, लोकगीत र लोकलयमा आधारित गीतहरु गाउँथ्यौं । लेखक-कविहरु कवितात्मक गीतहरु मन पराउनुहुन्थ्यो ।

गोलभेंडाले हिर्काउँलान् भनेर भूपी डराउँदा

पारिजातका समकालीन लेखकहरु सबैसँग हाम्रो राम्रो सम्बन्ध थियो । त्यसमध्ये पनि भूपी दाइ रसिक मिजासको भएकाले उहाँसँगको घुलमिलमा रमाउँथ्यौं । उहाँमा मायालुपन र कविमा हुने कोमलता थियो ।

उहाँ हाम्रो गीतहरुको प्रमुख श्रोतामै पर्नुहुन्थ्यो । उहाँ ती गीतहरुको प्रशंसा गर्नुहुन्थ्यो । भूपी दाइसँगको एउटा रमाइलो प्रसंग छ ।

हामीले काठमाडौंमा राल्फाको सांगीतिक कार्यक्रम गर्ने भनेर योजना बनायौं । भृकुटीमण्डपको पुलिस क्लबमा कार्यक्रम गर्ने भइयो । हाम्रो गीतको राम्रो श्रोता र मीठो शैलीमा बोल्ने भएकाले उहाँलाई ‘हाम्रो कार्यक्रमको उद्घोषक बनिदिनुस् न’ भनेर बिन्ती बिसायौं ।

उहाँले पहिला त हुन्छ भन्नुभयो । तर, पछि के लाग्यो कुन्नि, मान्नुभएन ।

कार्यक्रम निकै राम्रो भयो । त्यसबाट खुसी भएर भूपी दाइले म र रामेशलाई न्युरोडको त्यतिबेलाको महँगो होटल पानोरमामा लगेर खुवाउनुभएको थियो ।

उहाँले आफू कार्यक्रममा नगएकोमा अलि दुःख मान्नुभयो । जानुपर्ने रै’छ भन्नुभयो ।

उहाँ मान्छेहरु कार्यक्रममा दिक्क मान्लान् भनेर आउन नमान्नुभएको रै’छ । उहाँले रमाइलो पारामा भन्नुभयो, ‘तपाईंहरुको कार्यक्रम त गीत गाउने मात्र थियो । नृत्य र हास्यव्यङ्ग्य केही पनि थिएन । मान्छेहरुले दिक्क मानेर गोलभेंडाले हिर्काउँछन् भन्ने डर लागेर गइनँ । तर, कार्यक्रम त एकदम राम्रो भएछ ।’

गाउँ-घरमा घुम्दा बाटो मोडियो

राल्फाभित्रका सदस्यहरुबीच ०२७ सालतिर मनमुटाव जस्तो देखियो । रामेश र म काठमाडौंबाट हिँड्दै गाउँ-गाउँ डुल्यौं । त्यसबेला तेह्रथुमको आठराईसम्म पुगेका थियौं ।

यात्राको रमाइलो त छँदै थियो, गाउँघरमा गरिब जनताको माझमा कार्यक्रम गर्दा थप रमाइलो हुन्थ्यो । नयाँँ ठाउँहरु देखिने र नयाँ मान्छेहरु भेटिने भएकाले हरेक दिन रोचक लाग्थ्यो । दुःख, अभाव र अन्याय खेपिरहेका गरिब-गुरुबाहरु देश र समाजमा सुखपूर्ण अवस्था कहिले आउला भनेर पर्खाइमा हुन्थे । परिवर्तनको अपेक्षा राख्ने मान्छेहरु बढी भेटिए ।

हाम्रा गीतहरुले यसो गरेमा देशको मुहार फेरिन्छ र सुखको दिन अवश्य आउँछ भनेर संकेत गर्थे । त्यसमा गरिब जनताले आशाको झिल्का भेट्थे ।

यात्रामा हामीले ‘भोकै मर्ने महाकविका पेटका सारंगीहरु हाम्रा गीतहरु’ जस्ता कवितात्मक गीतहरु पनि गायौं । तर, गाउँका मान्छेहरुले ती गीतहरु नबुझ्दा समस्या हुन्थ्यो ।

गाउँहरू घुम्दै स्थानीय जनजीवन बुझ्ने क्रममा हाम्रो गीत लेखनमा पनि परिवर्तन आयो । त्यही यात्राका क्रममा विभिन्न ठाउँमा लोकगीतको लय टिपेर हामीले पछि गीतहरु सिर्जना गर्‍यौं । कतिपय गीतहरुमा तिनै लोकगीतका शब्दहरु पनि मिसायौं । सर्वसाधारणले लोकगीत तथा आधुनिक भईकन लोकलयमा बुनिएका गीतहरु बढी रुचाउँथे ।

त्यस हिसाबले हामीले जनजीवनको मर्म अनुसार उनीहरुकै दुःख र सपनाका सरल गीतहरु गाउन थाल्यौं । हामीलाई यात्राले हरेक दिन नयाँ ज्ञान दिन्थ्यो । खासगरी सरल शब्दमा गहन कुरा लेख भनेर सिकायो ।

त्यसो त त्यसरी गाउँतिर जानुअघि काठमाडौंमै रहँदा पनि हामी लोकगीतहरु गाउँथ्यौं । तर, ती गीत लोकगीत जस्ता मात्रै थिए, विशुद्ध लोकगीत थिएनन् । दुई-तीन वर्ष गाउँघरमा डुलेपछि चाहिँ समाजलाई चित्रण गरिएको र जनजीवनको व्यथा समेटिएको निक्खर लोकगीतसँग हाम्रो साइनो गाँसियो ।

यात्रामा हामी झलकमान गन्धर्वको ‘हे बरै’, हाम्रै सिर्जना ‘डुल्दै आयौ गाइने दाइ हाम्रो आँगनमा’ जस्ता गीत सुनाउँथ्यौं । हामीले गरिब, दुःखीहरुको कथा-व्यथा समेटेर गाउने भएकाले गरिब जनता ती गीतमा आफ्नो जीवन देख्थे ।

गरिब मानिसहरुले हामीलाई तिमीहरु मान्छे होइन, देवदूत हौ भन्थे । हामी सुरुमा जाँदा विरोध गर्ने मान्छेहरु हाम्रा गीतहरु सुनिसकेपछि समर्थन गर्थे । यो देख्दा रमाइलो लाग्थ्यो । दीनदुःखी र पिछडिएका समुदायका मानिसहरु हाम्रो गीत सुन्न एकदम रुचि राख्थे । तर, अलि हुने-खानेहरु भने हामीसँग त्यति घुलमिल हुँदैनथे ।

अनि स्वतन्त्र उडान

राल्फा सुरु हुँदा हामी प्रयोगवादी थियौं, पछि प्रगतिवादी भयौं । हामी प्रगतिशील रचनालाई पनि राम्रो मान्थ्यौं । तर, कोही-कोही हामीलाई कलावादी भनेर आरोप लगाउँथे ।

त्यसपछि मलाई अलि स्वतन्त्र रहेरै लेखूँ भन्ने लाग्यो । आफ्नो धारणा राख्न कवि- लेखकहरु स्वतन्त्र नै हुनुपर्ने रै’छ भन्ने सोच आयो । त्यस्तो सोचको बीजारोपण ०३९ सालपछि भयो ।

मैले राल्फा, संकल्प लगायत समूहमा रहेर ०४५ सालसम्म गाएँ । पछि रामेशसँग छुट्टिएपछि पनि अरु-अरुसँग मिलेर विशेष ठाउँहरुमा कार्यक्रम गरेँ । बिस्तारै स्वतन्त्र रुपमै सिर्जनात्मक गतिविधिमा रमाउन थालेँ । लेखकहरुको त स्वभाव नै स्वतन्त्रतामा रमाउने हुन्छ । पछि लेखनलाई नै मुख्य बाटो बनाएँ ।

आज सम्झिँदा हामीले गाउँ-गाउँ गएर जनतालाई गीत-संगीत मार्फत जागरण त गरायौं । तर, नतिजा के आयो त ? आज जे अवस्था छ, हामीले खोजेको परिवर्तन यस्तो पक्कै थिएन । जसले परिवर्तन गर्लान् भन्ने आश थियो, उनीहरु आफ्नो मूल्य-मान्यता छाड्दै आफैं परिवर्तन भए । यसमा ज्यादै दुःख लाग्छ ।

(जोतारे धाइबासँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment