Comments Add Comment

पूर्वी र मध्य नेपालमा वर्षा, मौसमविद भन्छन्- पूरै आकाश खुल्न दुई-तीन दिन लाग्छ

१६ चैत, काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित पूर्वी र मध्य नेपालका अधिकांश क्षेत्रमा मौसम बदली भएको छ । दुई-तीन दिनसम्म तत्काल आकाश नखुल्ने र खुलिहाले पनि क्षणिकमात्रै खुल्ने मौसमविदहरुको पूर्वानुमान छ ।

अनलाइनखबरसँग कुरा गर्दै मौसमविद मीनकुमार अर्यालले भने, ‘निम्न चापिय रेखा र बंगालको खाडीको जलवाष्पयुक्त हावाका कारण मध्य र पूर्वमा बदलीको अवस्था छ । मध्य क्षेत्रमा आज दिउँसोतिर आकाश केहीबेर खुले पनि पूर्वमा भने रातिसम्मै डिस्टर्ब हुने देखिन्छ ।’

उनले मध्य र पूर्वको तुलनामा पश्चिमी क्षेत्रमा कम बदली भएको जानकारी दिए ।

मौसमविद अर्यालले पूरै मौसम सफा हुन अझै केहि दिन लाग्ने अनुमान गरिएको बताए । ‘पूरै आकाश खुल्दैन । खुलिहाले पनि एकैछिन मात्रै खुल्छ,’ अर्यालले भने, ‘दुई-तीन दिनसम्म यस्तै हुन्छ ।’

मौसममा आएको बदलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण भने प्रभावित भएको छैन । अर्यालले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेक्टर भिजिबिलिटीको अवस्था छ । कतै खुलेको, कतै नखुलेको भए पनि पूरै डिस्टर्ब भएको छैन ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment