Comments Add Comment

सातौ ‘बिग आइकन’को उपाधी सुवासलाइ

सैनीकबस्ती लेखनाथका सुवास गुरुङ सातौँ बिग आइकन बनेका छन् । दुई प्रतिस्पर्धी चितवन पटिहानीका सागर आले र पोखरा संगम टोलकी पि्रया गुरुङलाई भोटिङको आधारमा उछिन्दै उनले सातौँ संस्करणको बिग आइकनको ताज आफ्नो पोल्टामा पारे ।

पोखरा सभागृहमा खचाखच दर्शकमाँझ प्रमुख अतिथीको रुपमा उपस्थित रवीन्द्र मिश्रले विजेताको नाम घोषणा गर्दै गर्दा सुवासका आँखा एकाएक भरिए । उनले खुशीको आँशु थाम्न सकेनन् । आफुलाई भोट गर्ने स्रोताहरु, सहयोग गर्ने साथीभाई, ईष्टमित्र र आफन्तलाई उनले धन्यबाद दिए । निरन्तरको प्रयास पछि आफु सफल भएको भन्दै उनले आगामी दिनमा सांगीतिक करिअरलाई अगाडि बढाउन अझै बढि चुनौती थपिएको प्रतिक्रिया दिए ।

सुवास चौथो बिग आइकनमा पहिलो चरणको अडिसनबाटै प्रतियोगिताबाट बाहरिएका थिए । यद्यपी उनले हिम्मत नहारिकन पुनः छैठौँ बिग आइकनमा सहभागिता जनाए । अघिल्लो पटक उनी उत्कृष्ट २० मा पुग्न सफल भएका थिए । त्यो भन्दा अगाडि उनी बढ्न सकेनन् । उनले अठोट भने लिएकै थिए कि, ‘बिग आइकनको ताज कुनै हालतमा जित्छु ।’ तेस्रो पटकमा मात्रै उनी सफल भए । ‘मैले संसार जितेको अनुभव गरेको छु ।’ सुवासले भने ।

बिग आइकन भएसँगै सुवासले १ लाख ७५ हजार रुपैयाँ बराबरको यामाहा स्कुटर र बेलायतको सांगीतिक भ्रमण गर्ने अवसर पुरस्कार स्वरुप प्राप्त गरेका छन् । सातौँ बिग आइकन अन्तरगत चितवन पटिहानीका सागर आले फस्ट रनर अप भए भने पोखरा संगम टोलकी पि्रया गुरुङ सेकेन्ड रनरअप भइन् ।

बिग आइकन घोषणा गरेसँगै साझा पार्टीका परिकल्पनाकार समेत रहेका रवीन्द्र मिश्रले सुवासले ‘निरन्तर प्रयासले नै सफलता मिल्ने’ उदाहरण प्रस्तुत गरेको बताए । उनले अन्य दुई उपविजेताहरुलाई पनि सफलताको शुभकामना दिए ।

बिग एफएमले ‘बिग आइकन’को ग्राण्ड फिनालेमा टिकट विक्रिबाट उठेको सम्पूर्ण रकम पोखरा उद्योग वाणिज्य संघद्वारा संचालित ‘बालश्रम न्यूनिकरण कार्यक्रम’लाई उपलब्ध गराएको थियो । शुक्रबार भएको कार्यक्रम अन्तरगत टिकट विक्रिबाट ५२ हजार ५० रुपैयाँ संकलन भएको थियो ।

कार्यक्रममा अन्तिम ३ प्रतिस्पर्धीसँगै सातौँ बिग आइकनका उत्कृष्ट १० प्रतिस्पर्धीले समेत प्रस्तुती दिएका थिए । सोहि क्रममा बिग आइकनका निणर्ायकद्वय श्यामसुङ तामाङ, विवेक श्रेष्ठसँगै यसअगाडिका बिग आइकन विजेताहरु मुस्कान रानाभाट र साजन आलेले पनि प्रस्तुती राखेका थिए ।

कार्यक्रमा सातौँ संस्करणको बिग आइकनलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा शुभचिन्तकहरुलाई एफएमका अध्यक्ष महेश भण्डारीले धन्यवाद ज्ञापन गरे । ‘सबैजनाको साथ र सहयोगले मात्रै निरन्तर सातौँ पटकसम्म हामीले बिग आइकनलाई कुनै विवाद बिना अगाडि बढाउन पाएका छौँ ।’ उनले भने-‘त्यसैले यसको सफलताको श्रेय सबैजनालाई जान्छ ।’ कार्यक्रममा सांगीतिक प्रस्तुती, नृत्यले रोचकता थपेको थियो ।


तस्बिरः श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment