+
+
Shares

यस्तो हुनेछ मतदाता परिचयपत्र, निर्वाचन आयोगले थाल्यो छापाइ (नमुनासहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत २१ गते २०:१९

२१ चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मतदाता परिचयपत्र छपाइ सुरु गरेको छ ।

आयोगले सोमबार निजी कम्पनीमार्फत आफ्नै कार्यालय परिसरमा मतदाता परिचयपत्र छपाई थालेको हो । प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले छपाइको शुभारम्भ गरे ।

फोटो सहितको मतदाता परिचयपत्रमा बाहकको नाम, जन्ममिति, नागरिकता नम्बर र जिल्ला, बाबु-आमाको नाम, पति वा पत्नीको नाम, ठेगानाका साथै मतदान केन्द्र समेत खुलाइएको छ ।

सुरक्षा प्रयोजनका लागि क्यूआर कोडका साथै प्यान्टोग्राफ, मोइक्रोटेक्स्ट र डिफ्यूज फि्रन्टिङ जस्ता प्रविधि पनि परिचयपत्रमा जडान गरिएको छ । जसका कारण कसैले परिचयपत्र फोटोकपी वा अन्य प्रविधिबाट निकालेमा सहजै छुट्याउन सकिनेछ ।

स्थानीय तह निर्वाचनमा कूल मतदाता १ करोड ४० लाख ५४ हजार ४८२ छन् । निर्वाचन आयोगले सबै मतदातालाई हातहातमा परिचयपत्र पुर्‍याउने बताएको छ ।

मतदाता शिक्षा कार्यकर्ताले परिचय पत्र पनि बाँड्नेछन् । छुटेकाहरुलाई भने मतदान अधिकृतले मतदान केन्द्रमा नै मतदाता परिचयपत्र दिने व्यवस्था मिलाइनेछ ।

निर्वाचन अधिकृतको नियुक्ति

निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा ७५ जिल्लामा न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत पदमा नियुक्ति गर्ने निर्णय गरेको छ ।

यस्तै २५ गतेदेखि लागू हुने नेपाल न्याय सेवा तथा नेपाल प्रशासन सेवाका अधिकृत कर्मचारीसहित ६६९ जनालाई निर्वाचन अधिकृत पदमा नियुक्ति गर्ने निर्णय भएको आयोगले जनाएको छ ।

आयोगले उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको नाम, पद र दस्तखतको नमूना उपलब्ध गराउन राजनीतिक दलहरुलाई भनेको छ । यो चैत २६ गतेभित्र पठाइसक्नु पर्नेछ ।

रीत नपुर्‍याई मनोनयन पत्र दाखिल भएको अवस्थामा त्यस्तो उम्मेदवारलाई सो दलको उम्मेदवारको रूपमा मान्यता नदिइने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?