Comments Add Comment

डोटीमा सामाजिक सुरक्षा भत्ता बाँड्ने सचिव फरार, नौ महिनादेखि भत्ता वितरण हुन सकेन

२२ चैत, डोटी । डोटी शिखर नगरपालिका–९ की ७० वर्षीया बेलु भुलले लामो समयदेखि राज्यले दिने सामाजिक सुरक्षा भत्ता पाएकी छैनन् । श्रीमान् गुमाइसकेकी उनको जीविकाको मेलो भत्ता रकम नै हो ।
‘गाविसले दिने गरेको भत्ताले जेनतेन छाक टारेको थियो, त्यो पनि सचिवले खाइदियो रे, अब कसरी पेट पाल्नु’, उनले पीडा सुनाइन् ।

बेलुकी सौता लक्षिमा भुलको व्यथा पनि उस्तै छ । ७० माथिकी उनले भत्ता नपाएको पनि नौ महिना भएको सुनाउँदै भनिन्, ‘दुवैले भत्ता पाउँदा खर्च चल्थ्यो, अहिले गाह्रो छ ।’

बेलु र लक्षिमा जस्तै डोटीको साविकका जिजोडामाण्डौ र पोखरी गाविसका नौ सय २० जनाले सामाजिक सुरक्षा भत्ता नपाएको नौ महिना बितिसक्यो । सरकारले स्थानीय निकाय मार्फत चौमासिक रुपमा भत्ता रकम वितरण गर्ने गरेको छ । तर, यी दुई गाविसका ज्येष्ठ नागरिक, एकल महिला लगायतले चालू आर्थिक वर्षको पहिलो चौमासिकको रकम समेत पाएका छैनन् ।

दुवै गाविस हेर्ने जिम्मेवारी पाएका गाविस सचिव ईश्वरबहादुर सिंह भत्ता रकम निकासा लिएर फरार भएपछि पीडितहरु समस्यामा परेका हुन् । सचिव सिंहले जिजोडामाण्डौ र पोखरी गाविसका बासिन्दाले पाउने भत्ता रकमका साथै पुँजीगत तथा सञ्चालन अनुदान रकम समेत गरी ६८ लाख २० हजार रुपैयाँ बैंकबाट निकासा लिएको बुझिएको छ ।

त्यसमध्ये केही रकम भने दुवै गाविसको बैंक खातामा जम्मा भएको छ । जिजोडामाण्डौ गाविसको खातामा १२ लाख ५६ हजार ७१ रुपैयाँ र पोखरी गाविसको खातामा १३ लाख ५० हजार तीन सय ४३ जम्मा भएको र बाँकी रकम भने असुल हुन बाँकी रहेको जिल्ला समन्वय समिति डोटीले जनाएको छ ।

समितिले सिंहलाई सेवाबाट बर्खास्त गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत लोकसेवा आयोगलाई पत्राचार गरेको छ । समन्वय समितिका नासु हरिसुन्दर श्रेष्ठले भने, ‘यसबारे अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।’

पहिलो र दोस्रो दुई किस्ताको भत्ता गाविसको खातामा जम्मा भइसके पनि भत्ता बाँड्न नसकिएको डोटीका स्थानीय विकास अधिकारी कृष्णप्रसाद गौतमले बताए । ‘अहिले पुनर्संरचनाको कारण स्थानीय निकायका सबै खाता रोक्का भएकाले भत्ता वितरण गर्न सकिएको छैन’, गौतमले भने, ‘अब एक साताभित्र खाता फुकुवा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment