Comments Add Comment

पश्चिम बंगालमा भानुभक्त आचार्यको सालिक अनावरण

भारतको पश्चिम बंगालको कल्याणी नगरपालिकामा आदिकवि भानुभक्त आचार्यको सालिक अनावरण गरिएको छ ।
कोलकाताबाट करिब ७५ किलोमिटर दक्षिणमा पर्ने कल्याणी नगरपालिका वडा नम्बर १२ मा कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले आइतबार सालिक अनावरण गरे ।

कल्याणी नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाका विभिन्न वडाबाट काउन्सिलरका साथै ठूलो संख्यामा नेपालीभाषी र स्थानीय राजनीतिक, सामाजिक एवं शैक्षिक क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।

नेपाली मूलका ८० घर–परिवार रहेको सो क्षेत्रमा नेपाली भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने भानुभक्तको सालिक स्थापना गरिँदा स्थानीयहरु उत्साहित देखिन्थे ।

कार्यक्रममा महावाणिज्यदूत अर्यालले नेपाली भाषा र साहित्यमा आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै नेपालीको इमानदारी र परिश्रमी बानीलाई सबैले कदर गर्ने गरेको समेत बताए । सो क्रममा अर्यालले नेपाली जनसेवा समाज कल्याणीले प्रकाशन गरेको ‘हिमाल’ वार्षिक साहित्यिक पत्रिकाको लोकार्पण समेत गरेका थिए ।

कार्यक्रममा नगरपालिकाका प्रतिनिधि र स्थानीय राजनीतिक, समाजिक एवं प्राज्ञिक व्यक्तित्वहरुले पनि मन्तव्य दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment