Comments Add Comment

एमाले काठमाडौंमा भाँडभैलो, चुनावमा बागी उठ्ने चिन्ता

अष्टलक्ष्मी भन्छिन्- समानान्तर कमिटी बन्न सक्छ

२४ चैत, काठमाडौं । स्थानीय तहका उम्मेदवारको सिफारिस गर्ने कमिटीकै वैधानिकतामाथि प्रश्न उठेपछि एमालेको काठमाडौं जिल्ला कमिटीमा खैलाबैला मच्चिएको छ ।

गुटबन्दीका कारण राजधानीमा पार्टी निरन्तर ओरालो लागेका बेला चुनावकै मुखमा जिल्ला कमिटीको बैधतामाथि प्रश्न उठेपछि एमाले कार्यकर्ताले शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

विवादको पृष्ठभूमि

स्थानीय चुनावका बेला पार्टीमा समानान्तर कमिटीको अभ्यास हुन थालेपछि प्रदेश कमिटीले कृष्ण राई संयोजक, बसन्त मानन्धर सहसंयोजक र विद्यासुन्दर शाक्य सचिव रहने गरी जिल्ला कमिटी पुनर्गठन गरेको थियो ।

तर, पुनगर्ठित कमिटीलाई कृष्ण राई पक्षले अस्वीकार गर्दै बसन्त मानन्धरलाई सहसंयोजक नमान्ने र थपिएका ३८ सदस्य पनि स्वीकार नगर्ने चुनौति दिएपछि पार्टीभित्र विवाद चुलिएको हो ।

यसबीचमा राई पक्षले काठमाडौं जिल्लाको चुनावी अभियान शुरुवात भएको भन्दै केपी ओलीका हातबाट कृष्ण राईलाई सूर्य चिन्ह अंकित झण्डा हस्तान्तरण गराएको थियो ।

सो कार्यक्रममा तीन नम्बर प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य, काठमाडौं जिल्ला सहइन्चार्ज सुरेन्द्र मानन्धरसहित माधव नेपाल पक्षका कसैलाई पनि सहभागी गराइएन ।

राजधानीका सम्भावित मेयरका दावेदारहरु केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ र जिल्ला सहसंयोजक प्रस्तावित बसन्त मानन्धरलगायतको नामै सिफारिस नहुने अवस्था छ

जिल्ला इञ्चार्ज सावित्रा भुसालले भने प्रदेश संयोजक र सहइञ्चार्जलाई चिठी पठाइए पनि उनीहरु कार्यक्रममा नआएको बताइन् ।

पार्टीको विधानभन्दा बाहिर गएर जिल्ला कमिटीमा मान्छे थपिएकाले यो विषय अब स्थायी कमिटीबाटै टुंगो लगाउनुपर्ने भुसालले अनलाइनखबरलाई बताइन् ।

प्रदेश संयोजक तथा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले माथिल्लो कमिटीको निर्देशन मान्दिन भन्नु जनवादी केन्द्रीयता विपरीतको अराजकता भएकाले यो विषय स्थायी कमिटीमा पुगेको प्रतिक्रिया दिइन् ।

उनले काठमाडौं जिल्ला किमटीले वर्षौंदेखि अधिवेशन नगरेर अवैध भइसकेकाले चुनावका बेलामा पार्टीमा एकता कायम गर्नका लागि ५ महिना लगाएर कमिटी विघटन नगरी पुनर्गठन मात्रै गरिएको बताइन् ।

सात वर्षदेखि अधिवेशन भएन

काठमाडौंमा एमालेले विगत ७ वर्षदेखि जिल्ला अधिवेशन गरेको छैन । विधानतः जिल्ला कमिटीको कार्यकाल तीन वर्षको मात्रै हुन्छ । ७ वर्षअघि निर्वाचित जिल्ला अध्यक्ष निर्मल कुइँकेल पशुपति विकास कोषको भ्रष्टाचार मुद्दामा परेपछि निलम्बित भएका थिए ।

त्यसैबेलादेखि तत्कालीन उपाध्यक्ष कृष्ण राईले कार्यवाहक अध्यक्षका रुपमा जिल्ला कमिटी चलाउँदै आएका छन् । त्यहीादेखि माधव नेपाल पक्षलाई निषेध गरिएको आरोप लाग्दै आएको छ ।


यसबीचमा स्थानीय चुनावमा पार्टीको एउटा पंक्ति निष्क्रिय बस्ने अवस्था भएपछि प्रदेश कमिटीले काठमाडौं जिल्ला कमिटीको अधिवेशन नहुञ्जेल सबैलाई समेटेर चुनाव हााक्ने कमिटी बनाउन कार्यदल बनाएको छ ।

प्रदेश सहसंयोजक काशिनाथ अधिकारीको संयोजकत्वमा गठित कार्यदलमा अरुण नेपाल, सानुकुमार श्रेष्ठ र केदार न्यौपाने सदस्य छन् । अरुण नेपाल बाहेक सबै सदस्य ओली पक्षकै हुन् ।

यही कार्यदलको सिफारिसका आधारमा कृष्ण राईलाई संयोजक र बसन्त मानन्धरलाई सहसंयोजक बनाएर ८८ सदस्यीय जिल्ला कमिटीमा ३८ जना थपिएका छन् । तर, बसन्त मानन्धर र थपिएका ३८ जनालाई स्वीकार नगर्ने केपी ओली पक्षका राईले बताएपछि । पार्टीमा थप भााडभैलो मच्चिएको माधव नेपाल पक्षका एक नेताले बताए ।

राईले निर्वाचित कमिटीलाई चलाउने अधिकार प्रदेश कमिटीलाई नभएको बताएका छन् । पुनगर्ठित कमिटीका पदाधिकारीमध्ये बसन्त मानन्धर बाहेक संयोजक कृष्ण राई ,सचिव विद्यासुन्दर शाक्य र उपसचिव सरिता न्यौपाने ओली पक्षका हुन् । काठमाडौं जिल्ला कमिटीले कृष्ण राई संयोजक र रामवीर मानन्धर सहसंयोजक रहने गरी निर्वाचन परिचालन कमिटी समेत घोषणा गरिसकेको छ ।

यसअघि कायम रहेको ८७ सदस्यीय जिल्ला कमिटीमा ओली पक्षको एकलौटी थियो । नेपाल पक्ष बिगत ५/६ वर्षदेखि जिल्ला कमिटीका कुनै पनि कार्यक्रममा सहभागी छैन । त्यसैले स्थानीय चुनावपछि अधिवेशन गर्ने गरी तत्काललाई विवाद मिलाउन नेपाल पक्षकोसमेत सहभागिता गराएर ३८ सदस्य थप गरिएको एमाले स्रोतले जनाएको छ । थपिएकाहरु पूर्व जिल्ला र क्षेत्रीय कमिटीका पदाधिकारी छन् ।

समानान्तर कमिटी बनाउने तयारी

चरम गुटबन्दीका कारण काठमाडौंमा पार्टी निरन्तर ओरालो लाग्यो । विगतमा सिंगो राजधानीमा जित्ने पार्टी आज गुटबन्दीकै कारण सबै हार्ने ठाउँमा पुगेको छ- अष्टलक्ष्मी

नेपाल पक्षले भने केन्द्रबाट चााडो विवाद निरुपण नभए अर्को जिल्ला कमिटी गठन गरेर समानान्तर अभ्यास गर्ने चेतावनी दिइसकेको छ । यदि तत्कालै विवाद समाधान नभए महानगरपालिका लगायत नगरपालिकाका उम्मेदवारको सिफारिस पनि दुईवटा जाने अवस्था रहेको शाक्यले बताइन् ।

प्रदेश संयोजक शाक्यले भनिन्- मैले प्रदेश कमिटीको निर्णय अनुमोदनका लागि पार्टी अध्यक्ष कमरेडलाई पनि एकप्रति निर्णय दिइसकेकी छु, स्थायी कमिटी बैठकमा पनि काठमाडौंमा सबै पक्ष समेटेर कमिटी पुनर्गठन नगर्ने हो भने राजधानीका सबै निकायमा चुनाव जित्न नसकिने जानकारी गराइसकेकी छु । अबको बैठकमा पनि म कुरा राख्छु ।

ओली पक्षले एकलौटी भेला गरेर चुनाव अभियान शुरु गरेको भन्दै नेपाल पक्ष आक्रोशित बनेको छ । राजधानीका सम्भावित मेयरका दावेदारहरु केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ र जिल्ला सहसंयोजक प्रस्तावित बसन्त मानन्धरलगायतको नामै सिफारिस नहुने अवस्था छ । तत्काल स्थायी कमिटीले टुंगो नलगाए अलग्गै भेला गरेर कमिटी गठन गर्ने र त्यसले उम्मेदवारको नाम सिफारिस गरिने नेपाल पक्षका एक नेताले बताए ।

राजधानीमा हार्‍यौं भने देशभर जितेर अर्थ छैनः अष्टलक्ष्मी शाक्य

काठमाडौंको विवादबारे अष्टलक्ष्मी शाक्यको भनाइ यस्तो छः

प्रदेश कमिटीको निर्णय नमान्ने भनेको गैरजिम्मेवार र अराजक कुरा हो । आफ्नो भन्दा माथिल्लो कमिटीको निर्णय मान्न हरेक कमिटीहरु बाध्य छन् । तर, काठमाडौं जिल्ला कमिटीमा जे भइरहेको छ, यसले चुनावको मुखमा धेरै नराम्रो गर्छ ।

चुनावको मुखमा विवाद गर्नुहुँदैन भनेर अवैध भइसकेको काठमाडौं जिल्ला कमिटी बिघटन नगरी हामीले पााच महिना लगाएर कार्यदल मार्फत पुनर्गठन गरेका हौं ।

चरम गुटबन्दीका कारण काठमाडौंमा पार्टी निरन्तर ओरालो लाग्यो । विगतमा सिंगो राजधानीमा जित्ने पार्टी आज गुटबन्दीकै कारण सबै हार्ने ठाउँमा पुगेको छ । मैले काठमाडौं जिल्ला कमिटी पुनर्गठनको निर्णय अनुमोदनका लागि अध्यक्षलाई पनि दिएकी छु । छिटो अनुमोदन गरेर काठमाडौंमा सबै नेता-कार्यकर्ता एकमना एकताका साथ चुनावी अभियान लाग्ने वातावरण बनाउनुपर्छ भनेर स्थायी कमिटीमा पनि कुरा राखेा ।

राजधानीमा चुनाव हार्‍यौं भने देशभर अन्य जितेर पनि त्यसले अर्थ राख्दैन । यदि पार्टीमा एकता कायम नहुने, एउटा पक्षलाई पाखा लगाएर कमिटी चलाउने हो भने चुनाव जितिँदैन ।

यअसघि एकपक्षीय कमिटी भएकाले सबैको मन र भावना मिल्ने गरी एक ठाउँमा बस्ने गरी पुनर्गठन गरौं र चुनाव जितेपछि अधिवेशन गरेर बैधानिकता दिउँ भन्ने भावनाका साथ निर्णय भएको हो । हामीले राजधानीमा चुनाव जित्ने आधार यहीमात्र हो । नत्र त अहिलेकै अवस्था रहने भने चुनाव हारिन्छ ।

समानान्तर भेला गर्छौं भन्दा मैले अशन्तुष्ट साथीहरुलाई नगर्नुस भनेर रोकेकी छु । तर, उहााहरुको अस्थित्व नै स्वीकार नगर्ने र सिध्याउने नै उद्देश्य राखेर जाने हो भने त समानान्तर भेला हुन्छ । भोलि समानान्तर कमिटी बन्ला । उम्मेवारहरु बागी, बिद्रोही होलान् । यस्तो भयो भने बर्बाद हुन्छ भनेर मैले त्यसलाई रोक्ने पहल गरिरहेकी छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment