Comments Add Comment

पुराना पंखा मिल्काउनोस्, विद्युत प्राधिकरणले नयाँ दिँदैछ

विद्युत प्राधिकरणले ल्यायो ४ सय मेगाबाट विजुली बचाउने योजना

२७ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको योजना सफल भए आगामी वर्ष ३ सयदेखि ४ सय मेगावाटसम्म बिजुली जोगिने भएको छ । प्राधिकरणले आफ्ना उपभोक्तालाई किफायती बल्ब तथा उपकरणको प्रयोगमा प्रत्यक्ष प्रोत्साहन गरेरै विजुली बचाउने रणनीति लिएको छ ।

यसका लागि प्राधिरकणले ५४ लाख थान साधारण पंखालाई ‘इनर्जी इफिसियन्ट’ पङ्खाका माध्यमबाट प्रतिस्थान गर्ने योजना अर्को अघि सारेको छ ।

योभन्दा पहिले नै सीएफएल बल्बलाई एलइडीमार्फत विस्थापन गर्न प्राधिकरणले प्रक्रिया नै अघि बढाइसकेको छ । यी दुई कामपछि उपभोक्ताको बिलमा उठ्ने महसुल घट्नेछ । तर, यो बचेको बिजुलीले प्राधिकरणलाई लोडसेडिङ हटाउन र सहज रुपमा लोड ब्यवस्थापन गर्न मद्धत गर्नेछ ।

एलइडी बल्बको विरण योजना सकिएलगत्तै प्राधिकरणले धेरै विजुली खपत गर्ने साधारण पङ्खा हटाउन पनि काम सुरु गर्नेछ । यसका लागि ‘इनर्जी इफिसियन्ट’ पङ्खा आफैं ल्याएर सुपथ मूल्यमा आफ्ना ग्राहकलाई विक्री वितरण गर्ने योजना बनाइएको प्रवक्ता प्रबल अधिकारीले अनलाइनखबरलाई बताए ।

प्राधिकरणले यो वर्षबाट बिजुलीको किफायती प्रयोगका लागि अभियान थालेको छ । यसैअन्तरगत प्राधिकरणले पहिलो चरणमा आफ्ना ग्राहकलाई एलइडी बल्ब वितरण गर्नेछ भने लगत्तै दोस्रो चरणमा विद्युत किफायती पङ्खा प्रयोगमा उपभोक्तालाई आकषिर्त गर्ने गरी योजना ल्याउन लागेको प्रवक्ता अधिकारीले स्पष्ट पारे ।

पङ्खाले बचाउनेछ २ सय ६ मेगावाट

यसबाट राष्ट्रिय प्रशारणमा २ सय ६ मेगावाट बिजुलीको लोड घट्नेछ भने राज्यको ४८ अर्ब रूपैयाँ बराबर बचत हुनेछ । गत फेब्रुअरीमा काठमाडौंमा भएको नेपाल-भारत उर्जा सचिव स्तरीय बैठकमा भारत नेपाललाई सुपथ मूल्यमा एलइडी बल्बसँगै कम बिजुली खपत गराउने पङ्खा पनि उपलब्ध गराउन सहमत भएको थियो । प्राधिकरणले भारतबाट सहुलियत मूल्यमा ग्राहकलाई सुपथ मूल्यमा एलइडी बल्बसहित पङ्खा पनि उपलब्ध गराउनेछ ।

गुणस्तरीय यस्ता पङ्खाको मूल्य बजारमा उपलब्ध अन्य विजुली बचत गर्ने किसिमका पङ्खाहरुभन्दा निकै सस्तो पर्नेछ । पहिलो चरणमा वितरण हुने यो २ करोड एलइडी बल्ब किन्ने प्रक्रियाका लागि उर्जा मन्त्रालयमार्फत अर्थमा २ करोड रुपैयाँको बजेट माग गरिएको छ । त्यो रकमका लागि सहमति प्राप्त हुनासाथ भारतबबाट २ करोड बल्ब नेपाल भित्रिनेछ ।

त्यसलाई एउटा प्रणाली बनाएर विक्री/वितरण गर्नासाथ पङ्खाको प्रयोगमा पनि प्रोत्साहन गर्न अर्को कार्यक्रम ल्याउने प्रवक्ता अधिकारीले बताए । एलईडी बल्बपछि पङ्खा पनि त्यसैगरी वितरण गर्ने योजनमा प्राधिकरण छ ।

भारतमा निकै प्रचलित भएका यस्ता पङ्खालाई नेपालमा पनि उपभोक्तालाई प्रयोगमा प्रोत्हसाहन दिएर प्रयोगमा ल्याउन लागिएको हो । भारत सरकार स्वामित्वको ईईएसएल कम्पनीले ऊर्जा मन्त्रालयमार्फत प्राधिकरणलाई २ करोड थान एलडी बल्बलगत्तैै ५४ लाख पङ्खा सहुलियत रेटमा नेपाललाई विक्री गर्नेछ ।

भारतले ऊर्जा बचत गर्ने यस्तै विभिन्न परियोजना सफल बनाएर बिजुलीको माग घटाउँदै आफ्नो ऊर्जा संकटलाई व्यवस्थापन गरिरहेको छ । नेपालले पनि अबको डेढ वर्षसम्म ठूला आयोजना नआउने भएकाले हिउँद समयमा पर्याप्त विजुली बचत गर्ने उपकरणको प्रयोगमा ग्राहलाई प्रोत्साहन गर्ने यो नीति लिएको प्रवक्ता अधिकारीले बताए ।

‘यो आर्थिक वर्षमा थप ४५ मेगावाट बिजुली प्रसारण लाइनमा जोडिन्छ, अर्को वर्ष पनि २४५ मेगावाट बरा बर विजुली थपिन्छ । त्यसबाहेक हामी अरु थप ३२५ देखि ४०० मेगावाट विजुली यस्तै विद्युत बचाउने उपकरणको प्रयोगबाटै जोगाउँछौं’ प्रवक्ता अधिकारीले भने,’उपभोक्तको साथ रह्यो भने हामी असफल हुँदैनौं । हामी योजना नै बनाएर काम गरिहेका छौं ।’

‘महसुल घट्दा छिट्टै पे-ब्याक’

नेपाल आउने एलइडी र पावर इफिसियन्ट पङ्खालाई भारतले उपलब्ध गराउने मूल्य र आपूर्ति लागतकै आधारमा उपभोक्तालाई वितरण गरिने प्रवक्ता अधिकारीले बताए । अब आउने पंखा ३० वाटसम्मका हुनेछन् ।

अहिले प्रयोगमा रहेका पङ्खा ६० देखि १०० वाटसम्मको धेरै हुँदा धेरै विजुली खपत भइरहेको छ । प्राधिकरणले उभोक्तालाई साधारण पङ्खाभन्दा कम बिजुली खपत गरेर पनि उच्चस्तरको हावा र शितलता दिने पङ्खाको प्रयोगमा प्रोत्साहन गर्न लागेको हो ।

प्राधिकरणबाट यो बल्ब किन्दा उपभोक्तालाई बजारमा पाइने साधारण पङ्खाभन्दा थोरै महंगो पर्नेछ । तर, यस्तो पङ्खामा ६ वर्षको पे-ब्याक ग्यारेन्टी हुनेछ । यसले उपभोक्ताहरु ठगिनु नपर्ने प्रवक्ता अधिकारीले बताए । तर, बजारमा उपलब्ध यसतै इफिसियन्ट फ्ानभन्दा प्राधिकरणले उपलब्ध गराउने पङ्खा सस्तो पर्नेछ ।

‘साधारण पङ्खाभन्दा केही महंगो हालेर किने पनि यसले उपभोक्ताको विजुलीको महसुल घटाउँछ । एउटा साधारण पंखाले उठाउने बिल यस्ता दुईवटा पंखाले पनि उठाउँदैनन् । महंगो परे पनि यसले उपभोक्तालाई छिटै पे-ब्याक गर्छ र यसको गुणस्तरले वर्षौंसम्म ढुक्क हुने अवस्था आउँछ’ अधिकारीले भने ।

८० अर्बको बचत गरेसरह

इनर्जी इफिसेन्ट पङ्खाको प्रयोगले बिजुली कम खपत हुनेछ । त्यसले बिजुलीको लोड व्यवस्थापनमा सहयोग पुग्ने प्राधिकरणले जनाएको छ । २ करोड वटा एलईडी र ५४ लाख इफिसेन्ट पङ्खा जोडिएपछि प्राधिकरणले उस्तै सेवा दिएर पनि ३२५ देखि ४ सय मेगावाटसम्म बिजुली बचाउनेछ । एलइडीले १२५ देखि २ सय र नयाँ प्रविधिको पङ्खाले २०६ मेगाट बिजुलीको बचत गनेछन् ।

कम बिजुली खाने, उपभोक्तालाई आर्थिक भार कम पर्ने र उच्च स्तरको प्कार र हावा दिने भएकाले यसलाई प्राधिकरणले आफैंले यी दुई उपकरणको प्रयोगमा प्रोत्साहन गर्न लागेको हो ।

अहिले ४ सय मेगावाटको एउटा आयोजना बनाउने हो भने ८० अर्ब खर्च हुन्छ । यी दुई योजना सफल भए प्राधिकरणले यति रकम बचत गरेसरह नै हुने छ ।

उपभोक्तालाई नै लाभ

यस्ता विद्युतीय उपकरण्को प्रयोगले उपभोक्तालाई पनि फाइदा हुनेछ । प्राधिकरणले कम बिजुली खपत गर्ने उपकरणको महत्व उपभोक्तालाई बुझाउन पनि यस्तो अभियान थाल्न लागेको हो ।

‘यसले उपभोक्ताको बिजुली खर्च पनि कम गर्छ, यसले सबैपक्षबाट लाभ मिल्छ ।’ अधिकारीले भने, ‘उर्जाको संकट निवारण गर्ने योजनामा हामीलाई उपभोक्ताले साथ दिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौं । अन्य देशले पनि कम विजुली खपत गर्ने उपकरण्को प्रयोग गरिरहेका छन् । हामी पनि त्यतपटि्टी लागेका छौं ।’

अब कम विजुली खपत गर्ने बल्ब र उपकरणमामा उपभोक्तालाई आकषिर्त गर्न र यसको महत्व एवम् विशेषताबारे बुझाउन भारतबाटै ल्याएर भए पनि वितरण गर्ने योजना बनेको प्राधिकरणले जनाएको छ ।

यसअघि फिलामेन्ट बल्ब विस्थापन गर्न प्राधिकरणले उपभोक्तालाई सीएफएल बल्ब वितरण गरेको थियो । सो अभियानपछि सिएफल प्रयोग ह्वात्तै बढेको थियो । सीएफएलपछि एलइडी बल्ब त्यो भन्दा प्रभावकारी रुपमा आयो । अब भने साधारण पङ्खा प्रतिस्थापनमा पनि प्राधिकरणले प्रयास थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment