Comments Add Comment

नयाँ वर्षका कसमः कुलमानदेखि धुर्मुससम्म के भन्छन् ?

१ बैशाख, काठमाडौं । नयाँ वर्ष भन्नेबित्तिकै हामीमा नयाँ उमंग छाउँछ । आशा र सम्भावनाका बेग्लै तरंगले मन-मगजलाई जोस्याउँछ । धेरैका लागि योबेला नयाँ काम र योजनाको खाता खोल्ने शुभ साइत हुने गर्छ । राम्रो कामलाई निरन्तरता दिने र नराम्रो बानी ठप्पै पार्ने कसम पनि यही साइतमा खाइन्छ ।

यसै सन्दर्भमा अनलाइनखबरले समाजका विविध क्षेत्रमा आफ्नो छाप छाड्न सफल १० व्यक्तिका नयाँ वर्षका प्रतिवद्धता र योजना जान्ने प्रयास गरेको छ । उनीहरुको लागि गत वर्ष कस्तो रह्यो र नयाँ वर्षमा के योजना छन् त ? पढौं यिनकै शब्दमाः

उज्यालो अभियानमै केन्द्रितः कुलमान घिसिङ
कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण

०७३ साल समग्रमा राम्रो र सुखद रह्यो । नेपाली जनताको मन जित्ने काम गर्न पाइयो, त्यसै अनुसार सबैको माया पनि पाइयो । सबैको सहयोग पनि प्राप्त गर्न सक्यौं । देशलाई आधारभूत रुपमा लोडसेडिङमुक्त गर्ने हाम्रो प्रयास सफल भयो ।

नयाँ वर्षमा व्यक्तिगत जीवनमा मेरो कुनै आकांक्षा छैन । मैले ऊर्जाकै क्षेत्रमा काम गर्ने हो । यस क्रममा चुनौती र जिम्मेवारी धेरै छन् । जनताको अपेक्षा ह्वात्तै बढेकाले अझ बढी मिहिनेत गर्नुपर्ने देखेको छु ।

आउने वर्ष मेरा लागि देशमा लोडसेडिङ अन्त्य हुने अहिलेको अवस्थालाई निरन्तरता दिने र संस्थागत गर्ने विषय नै प्रमुख रहन्छ । यस क्रममा जनतालाई आवश्यकता अनुसार विद्युत् उपलब्ध गराउने, गुणस्तरीय विद्युत् दिने, भरपर्दो आपूर्ति दिने र सुरक्षित विद्युत् दिने यी चार वटा विषय प्राथमिक छन् ।

यसका लागि हामीले उत्पादन बढाउनुपर्‍यो, प्रसारण लाइन विस्तार गर्नुपर्‍यो, अपग्रेडेसन गर्नुपर्‍यो, ट्रान्समिसन लाइन बनाउनुपर्‍यो, निर्माणाधीन अवस्थामा भएका आयोजनाहरुलाई तत्काल पूरा गर्नुपर्‍यो । दीर्घकालीन रुपमा अरु ठूला आयोजनाहरुलाई अगाडि बढाउनु छ । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारालाई सार्थक बनाउनु छ । समग्रमा भन्ने हो भने नेपाललाई विद्युतमा आत्मनिर्भर बनाउन केन्द्रित भइनेछ ।

विकासको खाका बनाउन सकियोस्ः रविन्द्र अधिकारी

नेता तथा सांसद

बितेको वर्ष मेरो निम्ति सिर्जनात्मक र उपलब्धिमूलक रह्यो । ‘समृद्ध नेपाल’ नामक पुस्तक लेखेँ, राम्रा प्रतिक्रियाहरु आए । विकासको बारेमा ठूला परियोजना अगाडि बढाउन सकियो र विकासको बहसलाई देशको केन्द्रीय भागमा ल्याउन सकियो । नकारात्मक कुरा गर्दै नगर्ने जुन मेरो प्रतिबद्धता थियो, त्यसलाई निरन्तरता दिएँ । अध्ययन-अनुसन्धानमा समय लगाउने र नपुगेका ठाउँमा पुगेर वस्तुस्थिति बुझ्ने काम पनि भयो ।

०७४ मा व्यक्तिगत रुपमा भन्नुपर्दा आफूमा रहेका कमजोरीहरु जाऊन् । देशको कुरा गर्दा यो वर्ष निर्वाचनको वर्ष र संघीय गणतन्त्रको कार्यान्वयनको वर्ष हुनेछ । नयाँ वर्षमा प्रादेशिक विकासबारे अध्ययन र छलफल गर्ने तथा थप समृद्धि र विकासको सन्दर्भमा केही खाका निर्माण गर्न सकियोस् भन्ने इच्छा छ । साथै, राजनीतिमा सक्षम युवा नेतृत्वको विकास कसरी गर्न सकिन्छ भनेर पनि चिन्तन र छलफल गर्नेछु ।

यो वर्ष ‘समृद्ध नेपाल’ पुस्तकको अंग्रेजी अनुवाद ल्याउने विचार छ । विगत वर्ष जस्तै यो वर्ष पनि घर-परिवारलाई समय दिन सकिएला जस्तो छैन । ०७५ सालदेखि समय दिन सकिएला कि भन्ने छ ।

कला क्षेत्र र समाजसेवा सँगसँगैः सीताराम कट्टेल (धुर्मुस)

कलाकार/समाजसेवी

०७३ साल मेरो लागि सन्तुष्टिको वर्ष रह्यो । धुर्मुस-सुन्तली फाउन्डेशन मार्फत सिन्धुपाल्चोकको गिरान्चौर र महोत्तरीको बर्दिबासमा गरी दुई वटा एकीकृत नमूना बस्ती निर्माण गरियो ।

नयाँ वर्षमा पनि समाजसेवा जारी रहनेछ । कलाक्षेत्रमा पनि सक्रिय रहनेछु । खासगरी पूर्ण सरफाइयुक्त देश र बालमैत्री देश नेपाल बनाउन हाम्रो संस्था जुट्नेछ । अर्को ठाउँ पहिचान नहुन्जेल नयाँ बस्ती बनाउने अहिलेसम्म कुनै योजना छैन । यस हिसाबले ०७४ सालमा योजनाविहीन यात्रा हुनेछ । यस अगाडि पनि दुई वटा बस्ती बनाइएला भनेर सोचेका थिएनौं । तर, बनायौं । योजना नभएकाले समय र परिस्थिति अनुसार अगाडि बढिनेछ ।

होम प्रोडक्सनको फिल्मको तयारीः नम्रता श्रेष्ठ
नायिका

कलाकारको हिसाबले ०७३ साल मेरो लागि एकदमै राम्रो बित्यो । ‘क्लासिक’ रिलिज भयो । त्यसबाट वर्षका सबैजसो अवार्ड मैले नै पाएँ । अब नयाँ वर्षमा पनि राम्रा प्रोजेक्टहरुमा सहभागी भएर काम गर्ने नै सोच छ ।

नयाँ वर्षमा अवश्य पनि गत वर्षभन्दा फिल्म क्षेत्रमा राम्रो गर्ने र काम अझै सिक्ने सोच छ । आफ्नै प्रोडक्सन कम्पनीको नयाँ फिल्म बनाउने योजना पनि छ । यो वर्ष स्क्रिप्टमा काम गर्ने र त्यसको अर्को वर्ष फिल्म निर्माण सुरु गर्नुपर्ला ।

 

मैले बनाउने गरेका योजना प्रायः अधुरो रहँदैन । किनभने वर्षमा थोरै फिल्म गर्ने भएकाले मसँग आफ्नो लागि पर्याप्त समय हुन्छ । तर, फुर्सदको समयमा रमाउन कुनै एउटा म्युजिक इन्स्ट्रुमेन्ट सिक्छु भन्ने योजना त्यत्तिकै थियो । यसपालि भने किबोर्ड सिक्न सुरु गरेकी छु । नयाँ वर्षमा खप्पिस भइसक्छु होला ।

निजी क्षेत्रको हितमा केन्द्रित हुनेछुः शेखर गोल्छा

व्यवसायी

०७३ सालमा मैले खासगरी उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारीमै धेरै समय बिताएँ । निर्वाचन जितेको खुसी नै मेरो लागि ठूलो कुरा रह्यो । व्यावसायिक रुपमा हेर्दा गत वर्ष उतारचढावको अवस्था रह्यो । वर्षको सुरुमा एकदमै राम्रो रहे पनि बीचमा राष्ट्र बैंकको ब्याजदर बढ्दा व्यापार खस्किएको थियो भने अहिले अहिले फेरि सुधार भएको छ ।

नयाँ सालका लागि मैले मुख्यगरी तीन कुरामा प्राथमिकता दिनुपर्ने ठानेको छु । एउटा त महासंघको चुनाव जितिसकेपछि मतदाता साथीहरुको अपेक्षा धेरै छन्, तिनलाई सम्बोधन गर्दै निजी क्षेत्रको हितमा केन्द्रित हुनेछु । अर्कोतिर, मेरो मोटरसाइकल फ्याक्ट्री सुरु हुन लागेको छ भने त्यसपछि भर्खर सञ्चालनमा आएको अर्को उद्योगलाई गति दिनुपर्नेछ ।

व्यक्तिगत जीवनको कुरा गर्दा नयाँ वर्षमा म आफ्नो स्वास्थ्यलाई पनि ध्यान दिनेछु । व्यावसायिक जीवनमा भागदौड त चलिरहन्छ । तर, त्यस क्रममा मानसिक शान्ति पनि आवश्यक हुने भएकाले मेडिटेसन (ध्यान) मा समय दिनेछु ।

अंग प्रत्यारोपणको क्षमता विस्तारः डा. पुकार श्रेष्ठ

चिकित्सक

०७३ साल मेरो लागि चिकित्सा क्षेत्रको अनुभवका हिसाबले एकदमै उपलब्धिमूलक रह्यो । नेपालमा मानव अंग प्रत्यारोपण सम्बन्धमा निकै उत्कृष्ट कानून लागू भएकाले यो वर्ष हामीले चिकित्सा क्षेत्रमा केही इतिहास रच्यौं जस्तो लाग्छ । प्रत्यारोपणका लागि मिर्गौला दान गर्ने दायरा पहिले अत्यन्तै साँघुरो थियो भने अहिले फराकिलो भयो ।

अर्को महत्वपूर्ण कुरा, अंग प्रत्यारोपणको नियमावली आएपछि हामीले तीन महिनाअघि सफलताका साथ नेपालमा पहिलो कलेजो प्रत्यारोपण गर्‍यौं । चिकित्सा विज्ञानमा सबैभन्दा जटिल मानिने कलेजो प्रत्यारोपण नेपालमा सम्भव भएपछि यसलाई नियमित गर्दै लैजानुपर्ने हाम्रो चुनौती छ ।

अब ०७४ सालमा प्रत्यारोपण केन्द्रमा बेडको संख्या वृद्धि गर्ने कार्यलाई प्राथमिकता दिनुपर्नेछ । हाल सय वटा बेड रहेकोमा बिरामीको चापले सबै भरिभराउ हुने गरेका छन् । हामीले बेड संख्या वृद्धि गर्न सरकारलाई स्पष्ट रुपमा कुरा राखेका छौं र स्वास्थ्यमन्त्री गगन थापा यसमा अत्यन्तै सकारात्मक हुनुहुन्छ । आउँदो साल भवन विस्तारमै हाम्रो ध्यान बढी केन्द्रित हुनेछ ।

०७३ सालमा चिकित्सा क्षेत्रकै नयाँ कामहरुमा व्यस्त भएकाले मैले परिवार र साथीभाइलाई अति नै कम समय दिएँ । अबको समयमा काम र परिवारबीच सन्तुलन मिलाउनुपर्छ भनेर मेरो मनमा पक्कै परेको छ ।

नयाँ उपन्यास यसै वर्षः नारायण वाग्ले

लेखक/पत्रकार

०७३ कसरी आयो र कतिखेर गयो, पत्तै भएन । मेरो दोस्रो उपन्यास ‘मयूर टाइम्स’ मा भनिए जस्तै भयो, आएको थियो, गयो भन्दिनू ।

नयाँ वर्षमा म अझ धेरै पढ्ने सुरमा छु, धेरै पढ्ने भनेको धेरै लेख्ने हो । लेखिरहेको उपन्यास सक्ने अठोट छ । गत वर्ष साहित्य महोत्सवहरुमा भाग लिँदा होस् या अरु यात्रामा, मलाई नयाँ किताब कहिले आउँदै छ भन्ने प्रश्न नै प्रमुख रुपमा आयो । त्यसले मलाई थप प्रोत्साहन दिएको छ ।

लेखन भनेको पुनर्लेखन हो रहेछ । पुनर्लेखन भनेको फेरि नयाँ लेख्ने रहेछ । म त्यही गर्दै छु । नयाँ वर्षले पुरानो वर्ष सिकिएका कुरा बिर्साउने होइन, फेरि सम्झाउला । लेख्नुका साथै पुस्तकहरु, उत्कृष्ट लेखन र अनुसन्धान भएका सामग्री पढिरहेको छु । जीवन, समाज, देश, विदेश, प्रेम बुझ्ने संघर्ष जारी छ । आउने वर्ष अझ राम्रो होस् शुभकामना सोच्नु छँदै छ, त्यही अनुसार गर्नुपर्नेछ ।

खेलमै आफूलाई तिखार्छुः दीपेन्द्र ऐरी

क्रिकेटर

गत वर्ष राम्रो रह्यो । अन्डर नाइन्टिनबाट सिनियर टिममा उक्लिने मौका पाएँ । एसिया कपमा पनि राम्रो भयो । एसिया कपदेखि क्रिकेटमा झन् व्यस्त भएँ । ०७३ मा यसो गर्छु भनेर अपूरो रहेको कुनै कुरा केही छैन । खेल्दै गएँ, सबै आफैं मिल्दै गयो । राम्रो खेलेपछि परिणाम राम्रै हुन्छ ।

नयाँ वर्षमा पनि सिनियर टिमबाट खेलिराखूँ र राम्रो पर्फम गर्दै जाऊँ भन्ने नै इच्छा छ । ढाडमा अलिकति इन्जुरी छ । त्यसलाई ध्यान दिएर खेल्नुपर्नेछ । क्रिकेट बाहेक मेरो कुनै योजना, चाहना छैन । मजाले खेल्ने, त्यत्ति हो । मान्छेहरुको साथीसँग भेटघाटमा रमाउने, घुम्ने चाहना हुन्छ । मलाई चाहिँ खेलमै रमाइलो लाग्छ ।

नयाँ वर्षमा धेरैले आफ्नो यो नराम्रो बानी हटाउँछु भन्छन् । मेरो पनि रिसाएर भित्रभित्रै पाकिराख्ने बानी छ । त्यसलाई सुधार्नुपर्नेछ ।

सोलो एल्बमलाई समयः कालीप्रसाद बाँस्कोटा

संगीतकार/गायक

०७३ साल मेरो लागि एकदमै राम्रो रह्यो । यो वर्ष ‘जैले रिसाउने’, ‘ठमेल बजार’ र ‘साइँली’ गरी मेरा तीन गीत रिलिज भए, तीन वटै भाइरल भए । युट्युबमा एक करोड भ्यूज नाघिसकेका दुई गीतलाई साइँलीले पनि पछ्याइरहेको छ ।

नयाँ वर्षमा मेरो त्यस्तो विशेष प्रतिबद्धता केही पनि छैन । जे-जसरी संगीत कर्म गरिरहेको छु, त्यही कुरालाई निरन्तरता दिने हो । आफ्नो क्षेत्रमा सकेसम्म इमानदार बन्न प्रयास गर्ने हो । त्यसबाहेक यो वर्षको अन्त्यदेखि चाहिँ म आफ्नो सोलो एल्बमको काम सुरु गर्छु । दुई वर्षदेखि एल्बम गर्छु भनेर सोचिरहे पनि अरुकै संगीत गर्दा भ्याइरहेको छैन । यसपालि चाहिँ त्यसको लागि समय छुट्याइरहेको छु ।

मेरो आगामी कार्यक्रम हेर्ने हो भने ०७४ सालभरिको सेड्युल नै प्याक भइसकेको छ । आउँदो अगष्ट (साउन) सम्म नेपालभित्र हुन्छु, त्यसपछि भने विदेशका कार्यक्रममा व्यस्त हुनेछु ।

आर्ट हबको सपना साकार पार्नेछुः अनुप बराल

रंगकर्मी

आफ्नो रुचिको क्षेत्र कलाकर्ममा लागिरहन पाइएकाले गत वर्ष समग्रमा सुखद रह्यो । भूकम्पपछि सुटिङ रोकिएर बसेको ‘दोख’ भन्ने फिचर फिल्मको यसपालि काम सक्यौं । ‘थाङ्ला’ नाटक पनि ०७३ मै निर्देशन गरेर मञ्चन गरेँ । म वर्षमा जम्मा एक-दुई वटा नाटक मात्र गर्ने तर राम्रैसँग गर्ने भन्ने सोच्छु ।

०७४ सालमा मैले धेरै वर्षदेखि सोच्दै आएको आर्ट हबको निर्माण सुरु गर्नेछु । गृहनगर पोखराको नदीपुरमा बनाउने त्यो कला केन्द्र सम्भवतः यसै वर्ष पूरा हुनेछ । मेरो इच्छा चाहिँ एउटा यस्तो ठाउँ निर्माण गरुँ, जहाँ कलाकर्म गर्ने सबै विधाका मान्छे बसेर भलाकुसारी गर्न सकून्, वरिष्ठदेखि कनिष्ठसम्मको एउटै प्लेटर्फम होस् भन्ने हो ।

व्यक्तिगत कुरा गर्ने हो भने काम गर्ने क्रममा कसैलाई नाइँ भन्न नसक्ने आफ्नो स्वाभावदेखि म दिक्क छु । मैले धेरै ठाउँमा धेरै कुरा मनले नखाए पनि गरेको छु । अबदेखि चाहिँ त्यसो गर्दिनँ भन्ने संकल्प गरेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment