 
																			१४ कात्तिक, काठमाडौं । सम्पादकहरूसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट्दा शुक्रबार साँझ बालुवाटारमा मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल, कुलमान घिसिङ, अनिल सिन्हा, जगदीश खरेल साथमै थिए ।
सुरुमा जगदीशमात्रै भए पनि विस्तारै अरु मन्त्री थपिएका थिए । कुलमान पनि सम्पादक भेलामा छिरेपछि एक पत्रकारले प्रश्न थपे, ‘उहाँहरू चुनाव लड्दै हो ?’
प्रधानमन्त्री कार्कीले आफूहरु चुनाव लड्ने योजनामा नरहेको, बरु सफल चुनाव गराएर बिदा लिने भनिन् । उनले आफ्नो भनाईमा मन्त्रीहरु कायम छन् कि छैनन् भनी जाँच्न खोजिन् ।
‘म त लड्दिनँ, तपाईंहरु चुनाव लड्ने हो र ?’ कार्कीले मन्त्रीहरुतर्फ हेर्दै सोधिन्, ‘रामेश्वरजी लड्दिनँ भन्नुहुन्छ, कुलमानजी लड्नुहुन्छ कि ?’
अर्थमन्त्री रामेश्वर खनालले मुन्टो हल्लाउँदै नकारभाव जनाए । गृहमन्त्री अर्याल हाँसिरहे, कुनै भाव व्यक्त भएन । उर्जामन्त्री कुलमानले भने अनुहारलाई भावविहीन बनाउँदै भुइँतर्फ हेरिरहे ।
यति बेला कुलमानको तर्फबाट पार्टी दर्ता गर्ने तयारीसहित मुक्तसिंह लामा लगायतले घोषणापत्र विधान मस्यौदा गरिरहेका छन् । उनको उज्यालो नेपाल अभियानलाई पार्टी बनाउने तयारी छ भनी प्रसंगहरु चलेका छन् ।
‘हामी मन्त्रिपरिषद्मा रहेका कोही पनि चुनाव लड्दैनौं । कुलमानजीको चाहीँ के हो थाहा छैन,’ बालुवाटारमा सम्पादकहरुसँगको अन्तर्क्रियामा प्रधानमन्त्री कार्कीले मन्त्री घिसिङलाई देखाउँदै भनिन्,’हामीलाई कुनै माया मोह छैन । अब म बुढी भइसकेँ के चुनाव लड्छु ?’
उनले चुनाव गराउने बाहेक सरकारको कुनै अर्को लक्ष्य नरहेकाले त्यसमा नै सबै मन्त्रीहरू लाग्ने बताइन् । उनले सँगै रहेका गृहमन्त्री ओमप्रकाश अर्याललाई देखाउँदै भनिन्,’म लड्दिँन । ओप्रकाशजी कहिले चुनाव गराएर वकालतमा जाउँ भन्दै हुनुहुन्छ ।’
 
                









 
                     
                                 
 
 
 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4