काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका किशोर थापा मूलतः पूर्वप्रशासक हुन् । ३२ वर्ष सरकारी नोकरी गरेका आर्किटेक्ट इन्जिनियर थापालाई शहरी योजना र हाउजिङका विज्ञ मानिन्छ । अवकासपछि पुनर्निर्माण र बाग्मती सफाइमा सक्रिय थापा पछिल्लो पटक रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीमा आवद्ध भएका छन् । र, काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
भर्खर खुलेको साझा पार्टी निर्वाचन आयोगमा दर्ता नै नभएकाले थापाले बैशाख ३१ को स्थानीय तहको चुनावमा दलीय नभई स्वतन्त्र उम्मेदवारको हैसियतमा हुनेछन् ।
राजनीतिक दलका नेताहरूले उम्मेदवारी नै तय गर्न सकिरहेका छैनन् । थापा भने उम्मेद्वारी घोषणामा पहिलो भएका छन् । उनले काठमाडाैं महानगर कस्तो हुनुपर्छ भन्ने एजेन्डामा बहस गर्ने प्रयास समेत गरेका छन् ।
साझा पार्टी गठन भएको औपचारिक घोषणा नै नभएको अवस्थामा काठमाडौंको मेयरमा उम्मेदवार दिन तयार भएका स्वच्छ छविका मानिने पूर्वसचिव थापालाई हामीले महानगर कस्तो बनाउने योजना छ भनेर सोध्यौं –
तपाईको उम्मेदवारी केका लागि ? मेयर बन्नुभयो भने काठमाडाैंलार्इ कस्तो बनाउने योजना छ ?
मैले काठमाडौं उपत्यका र महानगरका लागि विगतमा जे जति काम गरेको छु, त्यसको मूल्यांकन गर्दै भविष्यमा यो शहरलाई दक्षिण एशियाको उत्कृष्ट शहर बनाउन लागि मलाई नगरवासीले साथ दिनुपर्ने हुन्छ । यसका लागि म नगरवासीको रोजाइमा पर्छु भन्नेमा विश्वास छ ।
म विजयी भएँ भने काठमाडौंलाई धुलोमैलोबाट मुक्त गर्नेछु । अहिलेे शहरवासीले जुन सास्ती भोगिरहनुभएको छ, त्यसबाट म मुक्ति दिलाउनेछु । त्यसपछि सडकमा भएका खाल्डाखुल्डीको सुधार गर्नेछु
तपाईले बनाउन चाहेको दक्षिण एसियाको नमुना शहर कस्तो हुन्छ त ?
म विजयी भएँ भने काठमाडौंलाई धुलोमैलोबाट मुक्त गर्नेछु । अहिलेे शहरवासीले जुन सास्ती भोगिरहनुभएको छ, त्यसबाट म मुक्ति दिलाउनेछु ।
त्यसपछि सडकमा भएका जतिपनि खाल्डाखुल्डी छन्, त्यसको सुधार गर्नेछु । वाटो विस्तार गर्छु । राजधानीमा सार्वजनिक यातायातमा जुन सास्ती छ, त्यसमा धेरै सुधार ल्याउँछु । यो मेरो दोस्रो काम हुन्छ ।
मैले काम गर्ने मौका पाएँ भने नगरक्षेत्रका नदीनालालाई सफा राख्नेछु । बाटो सफा गर्नेछु ।
अव्यवस्थित शहरलाई सुधार गर्दै काठमाडौंलाई साँच्चिकै सुन्दर बनाउनेछु । सम्भ्रान्त परिवारका लागि मात्रै नभएर सबैका लागि काठमाडौंलाई सुन्दर बनाउने मेरो सपना पूरा गर्न मेयरका लागि उम्मेदवारी घोषणा गरेको हुँ ।
तपाईहरुकै शब्दमा मेन्यू हेर्ने हेर्ने र अन्त्यमा मःमः नै मगाउने हाम्रो आदत छ । त्यस्तो अवस्थामा मतदाताले प्रमुख तीन दललाई छाडेर तपाईलाई भोट देलान् ?
त्यो त आम नगरवासीले विचार गर्ने कुरा हो । दलहरुले अहिलेसम्म शासन गरे । तर, के कति विकास गर्नुभयो ? त्यो मैले भनिरहनुपर्दैन, शहरवासीले देख्नुभएको छ ।
यो शहरका लागि विगतमा जसले केही गरेर देखाएको छ र गर्न सक्छ भन्ने विश्वास दिलाएको छ, नगरवासीले उसैलाई रोज्छन् भन्नेमा ढुक्क छु ।
तपाई सचिव भइसकेको व्यक्ति । हिजो मन्त्रालयमा हर्ताकर्ता हुँदा केही गर्न नसक्ने अनि, अब मेयर भएँ भने कायापलट गर्छु भन्दा कसरी विश्वास गर्ने ?
म पदमा रहँदा काठमाडौंका साँघुरा २ सय किलोमिटर सडक विस्तार भएकै हुन् । मेलम्चीबाट चिनियाँ ठेकेदार काम पूरा नगरी भागेपछि मैले सही व्यवस्थापन गरेर मेलम्चीलाई अगाडि बढाएको हुँ
म पदमा रहँदा काठमाडौंका साँघुरा २ सय किलोमिटर सडक विस्तार भएकै हुन् । त्यो सबैले देखेकै हुन् । मेलम्चीबाट चिनियाँ ठेकेदार काम पूरा नगरी भागेपछि मैले सही व्यवस्थापन गरेर मेलम्चीलाई अगाडि बढाएको हुँ ।
शहरी विकास सचिव हुँदा कालो लेदो भएको पानीलाई सफा गर्न थालेको, अहिले केही सफा गराएकै हो । यो कुरा नगरवासीले राम्रोसँग देखेका छन् ।
राजनीतिमा आउने निर्णय लिएपछि प्रमुख दलहरुतिर किन जानुभएन र साझा पार्टीतिर लाग्नुभयो ? कि ठूलाले तपार्इलार्इ स्वीकार गरेनन् ?
म उहाँहरु भन्दा फरक मूल्यमान्यता राख्ने मान्छे हुँ । म उहाँहरुसँग फिट हुन सक्दिनँ । युवाहरुको जोस जाँगरसहित आएको युवाहरुको पार्टीमा समर्थन गर्दै विकास गर्न सकिन्छ भनेर राजनीतिमा आएको हुँ ।
प्रतिक्रिया 4