Comments Add Comment

विविध कार्यक्रम गर्दै मनाए युएईमा रहेका नेपालीले नयाँ वर्ष

१५ अप्रील, युएई । नेपाली नयाँ वर्ष ०७४ युएईका नेपालीहरुले हर्षोल्लासपूर्वक मनाएका छन् । नेपालीहरुको जमघटको मुख्य केन्द्र बरदुबईमा उल्लेख्य नेपालीहरु भेला भएर एकअर्कामा शुभकामना साटासाट गरेर नयाँ वर्ष मनाए ।

नयाँ वर्षको पहिलो दिन साप्ताहिक बिदा शुक्रबार परेका कारण निकै रमझमपूर्ण तरिकाले नयाँ वर्षको स्वागत गरेको भोजपुरका प्रकाश राईले बताए ।

नयाँ वर्षकै अवसर पारेर युएईमा क्रियाशील विभिन्न सामाजिक, राजनीतिक, जातीय, जिल्ला स्तरका नेपाली संघ–संस्थाले फरक–फरक कार्यक्रम गरी नयाँ वर्ष मनाएको समाचार अनलाइनखबरलाई प्राप्त भएको छ ।

नेपाली नयाँ वर्ष २०७४ को अवसर पारेर काभ्रे सेवा समाज युएईले मोडल रिया श्रेष्ठ, गायक विश्व दोङ, लोक तथा आधुनिक गायिका रिता केसीको सहभागितामा दुबईमा भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । रियाले दुबईका नेपालीहरुलाई मनोरन्जन प्रदान गरिरहेकै बेला युएईको अबुधाबीमा लिःल फङ घले समाज, युएईको आयोजनामा ज्योति मगरले नेपाली दर्शकहरुलाई आफूसँगै नचाउन भ्याइन । दुईवटै कार्यक्रममा उल्लेल्य नेपालीहरुले सहभागिता जनाएर नयाँ वर्ष मनाए । ज्योतिले स्टेजमा नाच्दै आफ्ना चर्चित गीतहरु प्रस्तुत गरिरहँदा दर्शकहरु पनि उत्साहित भएर साथ दिइरहेका थिए ।

अनाथ तथा अपांग बालबालिकाको सहयोगार्थ काभ्रे समाजले आयोजना गरेका ‘नयाँ वर्ष बृहत सांस्कृतिक साँझ’ कार्यक्रममा रियाको प्रस्तुतिले वातावरण गर्माएको थियो । दुबईको देरा काल्टन टावर होटलमा आयोजना भएको उक्त सांस्कृतिक कार्यक्रममा युएईमै ख्याति कमाएका दर्जनभन्दा बढी नेपाली कलाकारहरुले रोमाञ्चक प्रस्तुति रहेको थियो ।

यसैबीच, नयाँ वर्षकै उपलक्ष्यमा प्रवासी नेपाली मञ्च, दुबई क्षेत्रीय कमिटीले दुबईको जाबिलपार्कमा रमाइलो वनभोज कार्यक्रम आयोजना गरेको केन्द्रीय सदस्य भरत शिवाकोटीले जानकारी दिए ।

नयाँ वर्षकै अवसरमा झापाली समाज, अबुधाबी क्षेत्रले कर्निसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । अर्घाखाँची सम्पर्क समिति युएईको राख अल खेमा क्षेत्रले पनि नयाँ वर्षकै उपलक्ष्यमा युएईको अग्लो पहाड जेबल जैसमा भव्य वनभोज कार्यक्रम गरेको समाचार प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment