Comments Add Comment

मोरङका मतदाता भन्छन्ः पहिलेजस्तो गल्ती गरिन्न, विकास गर्नेलाई जिताइन्छ

पार्टीलाईभन्दा व्यक्तिलाई हेरेर मतदान गर्ने

२ बैशाख, बिराटनगर । मोरङको रतुवा माई नगरपालिका- ६ कि उमादेवी मण्डल अघिल्लो स्थानीय निकायको चुनावमा मत हाल्दा २४ वर्षकी जवान थिइन् । अर्कोपटक मत हाल्ने बेला उनको उमेर ४२ वर्ष पुगिसकेको छ ।

तर, यो १८ वर्षमा उमादेवीको जीवनस्तरमा कुनै परिवर्तन आएन ।

अब फेरि स्थानीय जनप्रतिनिधि छान्ने अवसर आउँदा उमादेवी कम्ति उत्साहित छैनन् । स्थानीय चुनावमा भोट हाल्ने सुरमा रहेकी उमादेवी भन्छिन्, ‘हामीजस्तो दैनिक अरुको काम गरेर गुजारा चलाउनेको अवस्था जस्ताको त्यस्तै छ ।’

उमादेवीले भनिन्- बिहानै गएर भोट हाल्छु, छलकपट नगर्ने र गाउँको विकास गर्ने व्यक्तिलाई जिताउने हो

। यो चुनावमा विचार पुर्‍याएर भोट हाल्ने सोच छ उमादेवीको । ‘बिहानै गएर भोट हाल्छु’ उनले भनिन्, ‘छलकपट नगर्ने र गाउँको विकास गर्ने व्यक्तिलाई जिताउने हो ।’

उमादेवीको जस्तै उत्साह छ बिराटनगर उपमहानगरपालिकाको छिमेकी गाउँपालिका जदाहाका ५१ वर्षीय पर्शुराम राजवंशीमा पनि । उनी विगतको स्थानीय चुनावमा सही व्यक्तिलाई भोट नहालेकोमा अहिलेसम्म चुक्चुकाइरहेका छन् । यसपालि चाहिँ आफ्नो मतको सही सदुपयोग गर्ने उनको अठोट छ ।

‘लामो समयपछि हुन लागेको स्थानीय चुनावमा भोट हाल्न आतुर छु,’ उनले भने, ‘तर अघिल्लोपटकको चुनावमा जस्तो गल्ती यसपालि गर्दिनँ । पार्टीभन्दा पनि गाउँको विकास गर्ने असल व्यक्तिलाई भोट दिने हो ।’

त्यस्तै कटहरी गाउँपालिका- ३ का उमेशराज राजवंशीलाई पनि भोट हाल्ने हतारो छ । गाउँमा चुनावको माहोल बनिसक्दा पनि नेताहरु नआउँदा  भने उमेशराज खिन्न छन् ।

उनी भन्छन्, ‘उम्मेदवारको टुंगो नलागेर होला, कोही पनि नेता गाउँ आएका छैनन् ।’ उनी पनि विकासप्रेमी उम्मेदवारको छनोट गरी भोट हाल्ने पक्षमा रहेको बताउछन् ।

चुनाव हुनेमा ढुक्क स्थानीयवासी

मोरङमा रहेका १ उपमहानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकासहित १७ स्थानीय तहमा नयाँ जनप्रतिनिधिहरु छानिँदैछन् । मोरङ राजधानी काठमाडौंभन्दा पनि बढी मतदाता भएको जिल्ला हो ।

कुल ५ लाख ६३ हजार मतदाता रहेको जिल्ला मोरङ्गमा ३५ दल दर्ता छन् । जिल्लाबाट कुल ८३२ जनप्रतिनिधि चुनिनेछन् ।

यो जिल्लामा पहाडे समुदायसहित आदिवासी, जनजाति मधेसी समुदायको मिश्रति बसोवास छ । जिल्लाका ग्रामीण भेगमा पनि दलहरुले आफ्ना चुनावी सभा सम्मेलन गर्न थालेपछि स्थानीयवासी जोशिएका छन् ।

दक्षिणी भेगमा पर्ने कटहरी गाउँपालिकामा राजवंशी समुदायको बाहुल्यता छ । रतुवामाई, सुनवषर्ी रंगेली नगरपालिका, जदाहा, कटहरी गाउँपालिकामा भने आदिवासी र मधेसी समुदायको वासोवास  छ ।

जिल्लाका मधेसी राजवंशी, मण्डल, सतार मेचे, झाँगड जाति-जनजाति पनि वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क देखिन्छन् ।

तीन सय मतदानस्थल तय

जिल्ला निर्वाचन कार्यालयले पनि निर्वाचनको व्यवस्थापनका लागि आवश्यक तयारी गरिरहेको छ । क्षेत्रीय निर्वाचन कार्यालय मोरङ्गका निर्वाचन अधिकारी प्रेमप्रसाद सञ्जेलले आवश्यक तयारीका क्रममा तीन सय मतदानस्थल मोरङमा तय भइसकेको जानकारी दिए ।

कुल ५६३ हजार मतदाता रहेको जिल्ला मोरङ्गमा ३५ दल दर्ता छन् । जिल्लाबाट कुल ८३२ जनप्रतिनिधि चुनिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment