Comments Add Comment

भिनाजु, दिदीको पाठेघर कुनै प्रयोगशाला हो ?

अघिल्लो साता वानेश्वरको सिभिल हस्पिटल बाहिरको प्रतीक्षालयमा छिमेकी दिदी भेटिइन् । अनुहार निकै मलिन देखिन्थ्यो । के सोचेर हो, उनी टोलाइरहेकी देखिन्थिन् । नजिकै गएर कोट्याएँ, ‘के भो दिदी ? किन टोलाएर बसेको ?’

दिदीले छेउमै बस्न इशारा गरिन् । ‘के गर्नु नानी, आइमाईको जिन्दगी भन्नै नसक्ने…’

यति भनिनसक्दै बीचमै अड्किइन् फेरि सुनाइन्, ‘मलाई यहाँ भेटेको भनेर कसैलाई पनि नभनेस् है नानी । कोटेश्वरमा एउटा मेरिस्टोप सेन्टरमा गएर क्युरेट गरेर आ’को हेर न । गलेर भुतुक्कै भएर यहाँ थकाइ मारेको ।’

दिदी ४० वर्ष नाघिसकिन् । दश र ६ वर्षका दुई छोरी छन् । तैपनि बच्चा बोक्न छाडेकी रैनछिन् ।

‘स्थायी बन्ध्याकरण गरेको भए हुन्थ्यो नि दिदी । किन यो सकस भोग्नुहुन्छ ?’

मेरो प्रश्नमा दिदीले लामो सुस्केरा तानिन्, ‘के गर्छेस् नानी, मैले भनेर मात्र नहुने रै’छ । तेरा भिनाजुलाई एउटा छोरा नपाइदि भा’ छैन । अहिलेसम्म पाँच पटक भो । हेर त, मेरो ज्यान कस्तो थ्यो, अहिले कस्तो भो ? बसे उठ्न सक्दिनँ, उठे केही काम गर्न सक्दिनँ ।’

दिदीको कुरा सुन्दै गर्दा ती भिनाजु सम्झेर धिक्कार लाग्यो । भिनाजु अधिकृत स्तरका सरकारी जागिरे हुन् । धेरैजसो उपत्यका बाहिरै सरुवा भइरहन्छ, दुई-तीन महिनामा काठमाडौं आउँछन् । दिदी गर्भवती भएपछि सोध्छन्, ‘चेक गरिस् त ? के रै’छ ? छोरी भए ढिला नगरेस्, फालिहाल ।’

‘दुई छोरी छन्, त्यसमाथि अर्की पनि छोरी नै भई भने !’ भिनाजुको चिन्ता यसमै बढी गढेको हुन्छ ।

भिनाजुको यस्तै आदेशमा रमा दिदी (नाम परिवर्तन) ले अहिलेसम्म पाँच वटा बच्चा फालिसकेकी रहिछन् । एउटी महिलाले पटक-पटक क्युरेट गर्दा उसको ज्यान कस्तो होला ? दिदी पनि दुब्लाएर झिटी भएकी छन् ।

भिनाजुले दिदी क्युरेट गर्न जाँदा वरपरका कसैलाई साथी लैजान दिँदैनन् । दिदी हरेक बेला एक्लै हस्पिटल आउँछिन् र क्युरेट गराएर र्फकन्छिन् ।

‘हाकिमकी स्वास्नीले बच्चा फाली भनेर बदनाम हुन्छ, बरु जति भाडा लागे पनि ट्याक्सीमै आउजाउ गर्नू । कसैले सुइँको नपाओस्’ भिनाजुले ठाडै आदेश दिन्छन् ।

ममा आक्रोश भरियो । कराएँ, ‘ए दिदी ! छोराको आशमा अब कति वटा बच्चा फाल्ने यसरी ? छोरा भएर भिनाजुले आफ्ना बा-आमाको लागि के गरेका छन् र ? पढेलेखेको र सरकारी जागिर खाएको मान्छेको कस्तो बुद्धि !’

दिदी फेरि खुइय्य गरिन्, ‘घरमा बा-आमा त्यसै गर्ने, यता तेरा भिनाजु त्यसै गर्छन । पोहोर नन्द र देवरका छोरा जन्मिए, त्यसपछि त झन् छोरा नभई नहुने भूत चढेको छ । अस्ति चेक गर्दा पनि छोरी नै रै’छ भनेदेखि एक सातादेखि भिनाजुसँग बोलचाल भा’को छैन ।’

भिनाजुले सधैं छोरी मात्रै हुने भन्दै दिदीलाई गाली गरिरहने रै’छन् । पहिलो सन्तान रहरको भएकाले ठूली छोरीलाई चाहिँ अलि माया गर्छन् । तर, छोरो आश गरेको बेला छोरी जन्मिएकाले कान्छीलाई चाहिँ देखिसहँदैनन् ।

ती भिनाजुले दिदीको पाठेघरलाई प्रयोगशाला नै ठानेका हुन् ? दिदीले पटक-पटक बच्चा बोक्ने, प्रयोगशालामा पाठेघरको ल्याव टेष्ट गर्ने अनि छोरी हुँदासाथ क्युरेट गर्ने, अर्को नमुनाको लागि केही महिना कुर्ने अनि त्यही हर्कत दोहोर्‍याउने ?

कहिलेसम्म दिदीको पाठेघरलाई प्रयोगशालामा परीक्षण गराइरहनुहुन्छ भिनाजु ? दिदीको प्रयोगशालाले काम गर्न नसक्ने भयो वा रोगले गाँज्यो भने के गर्नुहुन्छ ?

तपाईं जत्तिको मान्छेको त यस्तो सोच छ भने तपाईंका बुवा, हजुरबाहरुले आमा, हजुरआमाको पाठेघरलाई कतिन्जेल प्रयोगशाला बनाए होलान् ? अहिले जस्तो क्युरेट गर्ने जमाना थिएन र सन्तानले डाँडाकाँडा ढाके । दिदीको पाठेघरमा दिदीकै अधिकार किन नहुने भिनाजु ?

भिनाजु, तपाईं देशका विभिन्न ठाउँमा सरुवा भएर जानुहुन्छ । अफिसको टेबलमा फाइलमा साइन धस्काएर काम गर्नुहुन्छ । देश विदेशका समाचार हेर्नुहुन्छ । तर, छोराको इच्छामा आफूले के गर्दै छु भन्नेमा अलिकति पनि ग्लानि हुँदैन ? महिला र तिनको प्रजनन अधिकार, छोरा-छोरीलाई समान व्यवहार गर्ने समाचार कहीँ कतै हेर्नुहुन्न ? कि यस्ता समाचार सब बकवास लाग्छन् तपाईंलाई ? पाँच पटकसम्म बच्चा तुहाउँदा दिदी लखतरान परेकी छन् । यस्तै हो भने कुन दिन दिदी उठबस गर्न नसक्ने हुन्छिन् । दिदी थलिएपछि पनि तपाईंको छोराको मोह उस्तै रहला अनि छोरो पाउन अर्की ल्याउनुहुन्छ ?

दिदी त अहिले नै थला पर्ने हालतमा पुगिसकेकी छन् । दुई रहरलाग्दा छोरीहरु पढाइमा कति तेज र अनुशासित छन् । यी छोरीप्रति गौरव छैन ? तपाईंका छोरी अहिले पनि कक्षा टप गरे भनेको सुन्दा वाह छोरी भन्ने भावना आउँदैन ? अलि बुझ्ने भएपछि ती छोरीले के भन्लान् ?

आमा रातदिन बिरामी भइरहँदा कलिला छोरीहरु के भयो भनेर सोध्छन् । तर, दिदीले उनीहरुलाई केही भएको छैन भन्दै कतिन्जेल झुक्याइरहने ? कुनै दिन तिमीहरुको भाइ नभएर यो सब भएको हो भन्ने थाहा पाएपछि उनीहरुले के सोच्लान् ?

छोरीहरुलाई पढाउनुस्, राम्रो संस्कार दिनुस् । तपाईंले चाहेको छोराभन्दा कुनै कुरामा कम हुँदैनन् यी छोरी । सन्तान त रहरले जन्माउने हो । हरेक महिलाले आत्मविश्वासका साथ जबर्जस्ती छोरो नै चाहिने तपाईं जस्ता लोग्नेमान्छेलाई हरेक आमाले भन्न सक्नुपर्छ, मेरो पाठेघरमा मेरो अधिकार हुन्छ, छोरी भए निमोठ्ने कुनै प्रयोगशाला होइन ।

संविधानले महिलालाई प्रजनन अधिकार दिएको छ । तर, श्रीमान् र घरपरिवारले छोरा-नातिको निम्ति असंख्य छोरी-नातिनीको हत्या गर्न उक्साइरहेको अवस्था छ ।

कुनै दिन भिनाजु सरकारी सेवामा बढुवा भएर माथिल्लै ओहोदामा पुग्नुहोला । त्यो बेलामा छोरा र छोरीको बारेमा बहस उठ्यो भने आफ्नो तर्क तपाईं कसरी पेश गर्नुहुन्छ ? आज राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश पुगेको ठाउँमा भोलि तपाईंकी छोरी पनि पुग्न सक्नेछिन् । त्यो दिन आयो भने यस्ती छोरीको बा भएकोमा गर्व गर्नुहुन्छ कि अझ पनि छोराकै मोहमा बर्बराइरहनुहुन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
यमुना अर्याल

सामाजिक बिषयमा कलम चलाउने यमुना अर्याल अनलाइनखबरकी स्तम्भकार हुन् ।

ट्रेन्डिङ

Advertisment