Comments Add Comment

राष्ट्रपति आज भारत जाँदै, दुई दिन सार्वजनिक विदा

मन्त्रिपरिषद बैठकबाट भारत भ्रमणको तालिका स्वीकृत

३ बैशाख, काठमाडौं । सरकारले राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने र आउने दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भारत भ्रमण स्वीकृत गर्दै विदाको निर्णय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित भोलि भारत भ्रमणमा जाँदैछिन् । राष्ट्रपतिका रुपमा उनको यो पहिलो विदेश भ्रमण हुनेछ ।

विगतमा राजाहरुको विदेश भ्रमणमा निस्कँँदा सार्वजनिक विदा दिने प्रचलन थियो । गणतन्त्र स्थापना पछि यो प्रचलन हट्यो । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति विदेश भ्रमणमा जाँदा सार्वजनिक विदा दिइएन ।

तर, अहिले फेरि ‘शाही शैली’मा नै राष्ट्रपतिको विदेश भ्रमणमा विदा दिने निर्णय भएको छ ।

भारतका राष्ट्रपति मुखर्जी गत कात्तिक १७ नेपाल आउँदा पनि प्रचण्ड सरकारले सार्बजनिक विदा दिएको थियो, जसको जनस्तरबाट चर्को आलोचना भएको थियो ।

यस्तो छ भारत भ्रमणको कार्यक्रम 

राष्ट्रपतिको यो भ्रमण राजकीय हो । ३४ सदस्यीय भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव लगायत छन् ।

राष्ट्रपति भण्डारीले भारत बसाईको क्रममा समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग शिष्टाचार भेट गर्नेछिन् । उनले गुजरात र उडिसा राज्यको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी शुक्रबार स्वेदश फर्कने छिन् । र, त्यो दिन पनि सार्वजनिक विदा हुनेछ ।

विदाको सूचनाका लागि गृह मन्त्रालयले जारी गरेको वक्तव्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment