Comments Add Comment

दिल्लीदेखि नाइजेरियासम्म बेचिन्छन् नेपाली पुरुष

मानव तस्करीको भयावह अवस्था

३ वैशाख, काठमाडौं । मानव तस्करी भन्नासाथ हामी महिला बेचबिखन सम्झन्छौं । तर, पछिल्लो दिनमा नेपालमा महिलाको तुलनामा पुरुषहरु बेचबिखनमा पर्ने क्रम बढेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ ।

वैदेशिक रोजगारीका नाममा म्यानपावर कम्पनीहरुमार्फत पुरुषहरु तस्करीमा पर्ने गरेका छन् । आर्थिक वर्ष ७१/७२ मा मात्र ३६ पुरुष बेचविखनमा परेको उजुरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा परेको छ ।

अधिकांश पुरुषहरु ‘सेक्युरिटी गार्ड’मा काम गर्ने नाममा नाइजेरियामा तस्करी हुने गरेको फेला परेको छ । जहाँ उनीहरुलाई घरेलु कामदार, श्रम शोषण तथा मानव अंग तस्करीका लागि लगिने गरेको पाइएको छ ।

साथै मानव तस्करीको अवस्था भयावह बन्दै गएको सरोकारबालाहरुले बताएका छन् । उनीहरुका अनुसार छिमेकी देश भारतदेखि नाइजेरियासम्म नेपालका महिला तथा पुरुषहरु बेचिन थालेका छन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार पाँच वर्षमा मानव बेचविखन सम्बन्धि उजुरीमा लगाता वृद्धि भइरहेको छ । आर्थिक वर्ष ०७२/७३ मा मानव वेचविखन सम्बन्धि उजुरी गर्नेको संख्या २ सय १२ पुगेको छ, जुन चार वर्ष अघि ११८ थियो ।

पछिल्लो तीन वर्षमा सबैभन्दा धेरै मानव तस्करी वेश्यावृत्तीका लागि हुने गरेको देखिएको छ । आव ०७२/७३ मा वेश्यावृत्तिका लागि १९२ जना बेचिएका छन् । यस्तै श्रम शोषणमा १ सय ४० जना, जर्वजस्ती विवाहका नाममा ६ जना तथा अन्य कारणवस १०९ गरी जम्मा ४४७ जना मावन तस्करीमा परेको तथ्यांकमा उल्लेख छ । यो संख्या आ.व ०७०/७१ मा १८५ तथा ०७१/७२ मा २८० मा सिमित रहेको थियो ।

पाँच वर्षको अवधिमा मानव तस्करी हुने मुख्य ठाउँमा विराटनगर पहिलो स्थानमा छ । ०७२/७३ मा विराटनगरबाट मात्र झण्डै ४५ जना मानव तस्करीमा परेका छन् ।

फैलिँदै मानव तस्करीका आयाम

नेपालमा मानव तस्करीको आयामहरु पछिल्लो समय बढ्दै गएका छन् । वैदेशिक रोजगारी, एजुकेसन कन्सल्टेन्सी, नक्कली विवाह, मनोरञ्जन, विदेशीसितको नक्कली विवाह तथा भूकम्प पीडितका नाममा मानव तस्करी हुने गरेको छ । तस्करीले श्रम शोषण, वेश्यावृत्ति, घरेलु कामदार तथा मानव अंग वेचविखनलाई समेत बढावा दिइरहेको केन्द्रीय अनुसन्धान व्युरोकी एसएसपी किरण बज्राचार्य बताउँछिन् ।

मानव बेचविखनको बिरूद्दको क्षेत्रमा सक्रिय संस्था जनअधिकार संरक्षण मञ्चका निर्देशक सतिशकुमार शर्माले चरम गरीबी, स्थान परिवर्तन, बेरोजगारी, जर्ववस्ती विवाह, लगायतले मानव तस्करीमा वृद्धि भइरहेको बताए ।

उनका अनुसार काठमाडौंको थानकोट, मुलपानी, साँखु लगायत सिन्धुपाल्चोकसँग जोडिएका ठाउँहरुमा मृगौला तस्करीमा पर्नेहरुको संख्या बढ्दोछ । उनले भने, ‘अहिले नेपालमा मानव तस्करीको संख्यामा जति वृद्धि भइरहेको छ, मानव अंग तस्करीमा पनि त्यति नै वृद्धि भइरहेको छ । त्यसमा पनि मृगौला बेचविखनको स्थिति भयावह छ ।’

मानव अंग तस्करीका तीन मात्र उजुरी

पछिल्लो समय मानव अंग तस्करी तीव्ररुपमा बढिरहेको भए तापनि अहिलेसम्म नेपाल प्रहरीमा यससम्वन्धी तीनवटा मुद्दा मात्र परेका छन् । सामाजिक परिवेश, तस्करहरुको डर-धम्कीलगायतका कारणहरुले यस्ता घटना बाहिर नआउने गरेको केन्द्रीय अनुसन्धान व्युरोले जनाएको छ ।

‘मानव अंग तस्करी सम्बन्धि घटनाहरु त धेरै भेटिएका छन्,’ ब्यूरोकी प्रहरी उपरीक्षक बज्राचार्य भन्छिन्, ‘तर पीडितको उजुरीको अभावमा यसको यकिन तथ्यांक आउन सकेको छैन ।’ बज्राचार्यका अनुसार अहिले मृगौला, छाला, स्टिम सेल, व्लड सेल, प्लाज्मा लगायतको तस्करी हुने गरेको पाइएको छ । तर, यसबारे प्रहरीमा जाहेरी खासै नपरेकाले प्रहरीले कारवाही गर्न नसकेको उनको भनाइ छ ।

मानव अंग तस्करीको गन्तव्यका रुपमा भारतको चेन्नई, चन्डिगढ, मुम्बई लगायतका ठाउँ प्रयोग हुने गरेको जनअधिकार संरक्षण मञ्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment