 
																			२५ फागनु, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार कसुरको पाँच वटा मुद्दाका फरार आरोपीलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुल्सीपुर उपमहानगरपालिका–१ घर भएका कमलकुमार न्यौपाने छन् । स्रोतका अनुसार उनलाई मावन बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले भारतको पहाडगञ्जबाट पक्राउ गरेर ल्याएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा २०७६ मा उनीविरुद्ध पाँच वटा जाहेरी दर्ता भएको थियो । त्यतिबेला सीआईबीकै एक पिलर मानव बेचबिखनको अनुसन्धान गरेर मुद्दा चलाउँथ्यो । तर, मानव बेचबिखन अनुसन्धान ब्यूरो छुट्टै स्थापना भएपछि उक्त मुद्दा मानव बेचबिखन ब्यूरोले हेरेको थियो ।
पाँच वटा मुद्दाका उनै फरार प्रतिवादी न्यौपानेलाई ब्यूरोले शनिबार काठमाडौं ल्याइ पुर्याएको थियो । आइतबार उनलाई सार्वजनिक गर्दै ब्यूरोका एसएसपी दीपेन्द्र जिसीले मानव बेचबिखनका ठूला अभियुक्त पक्राउ गर्न सफल भएको बताए ।
भारतको पहाडगञ्जमै लामो समयदेखि बसोबास गरेको उनी त्यहाँ रहँदा पनि यस्तै धन्दा गर्ने गरेको प्रहरीको दाबी । प्रहरीले उनको साथबाट विभिन्न भारतीय कार्डहरू बरामद गरेको छ ।
उनीबाट आइफोन र रेडमी मोबाइल एक/एक थान, कमलकुमार शर्माको नाममा जारी भएको भारतीय आधार कार्ड, भारतीय ड्राइभिङ लाइसेन्स, भारतीय स्थायी लेखा नम्बर, भारतीय आईसीआईसीआई बैंकको डेबिट कार्ड, एसआईबी बैंकको डेविट कार्ड, आईडीएफसी फस्ट बैंकको डेविट कार्ड, कोटाक महिन्द्रा बैंकको डेबिट कार्ड र भारतीय माता देवी पाटन प्रालिको भिजिटिङ कार्ड बरामद गरेको छ ।

पोर्चुगल भन्दै दिल्ली पुर्याएर ८ लाख ठगी
पोचुर्गल भन्दै दिल्ली पुर्याएर दुई पुरुषलाई अलपत्र पारेको र ८ लाख रुपैयाँ ठगी गरेको आरोप न्यौपानेमाथि छ । पोर्चुगलमा इन्टरनेसनल मनी एक्सचेन्ज र होटलमा काम लगाइदिने भन्दै दिल्ली पुर्याएर अलपत्र पारेको आरोप छ । १ हजार २ सय युरोदेखि १ हजार ८ सय युरोसम्म कमाई हुन्छ भन्दै उनले पीडितलाई प्रलोभन देखाएका थिए ।
उनले पोर्चुगल जान जनही १० लाख रुपैयाँ लाग्ने बताएका थिए । प्रोसेसिङका लागि ३ लाख लाग्ने भने पनि सुरुमा उनले दुई जनाबाट जनही २/२ लाख गरी चार लाख रुपैयाँ असुलेको पाइएको ब्यूरोका एसएसपी दीपेन्द्र जिसी बताउँछन् । पछि पुनः ४/४ लाख गरी ८ लाख रुपैयाँ उनले असुलेको खुलेको छ । दुई जनाबाट ६/६ लाख रुपैयाँ गरी १२ लाख रुपैयाँ असुलेपछि भारतको नयाँ दिल्ली जानु भन्दै उनीहरूलाई नयाँ दिल्ली पठाइएको थियो । नयाँ दिल्लीमा पुगेपछि पिताम्बर कँडेल नाम गरेका व्यक्तिलाई सम्पर्क गरी भेट गर्नु भनेअनुसार उनीहरूले भेट गरेका थिए ।
पिताम्बरलाई भेटेपछि अरबीमूलका मानिसको जिम्मा लगाइएको थियो । त्यसपछि आफूलाई बेचबिखन गर्न लागेको थाहा पाएर त्यहाँबाट भागेर नेपाल आएको पीडितको भनाइ छ । उनीहरूलाई २८ अक्टोबरदेखि ३० अक्टोबर २०१८ सम्म नयाँ दिल्लीमा राखिएको थियो । भारतबाट भागेर आएपछि उनीहरूले त्यतिबेलो सीआईबीमा उजुरी दिएका थिए ।
एक महिलालाई पोल्यान्ड भन्दै दिल्ली पुर्याएर बन्धक
प्रहरीका अनुसार न्यौपानेले अर्की एक महिलालाई पोल्यान्ड पठाउने भन्दै दिल्ली पुर्याएर बन्धक बनाएका थिए । ती महिलालाई न्यौपानेले आफू दुबईको शेखको ‘विशेष मान्छे हुँ’ भन्दै प्रलोभनमा पारेका थिए । त्यसपछि ती महिलालाई न्यौपानेले पोल्यान्ड पठाइदिने बताएका थिए ।
पोल्यान्ड पठाउने भन्दै ती महिलाई दुबईको भिसा समेत लगाएर दुबई पठाइएको थियो । तर दुबईमा काम नभएपछि ती महिलालाई भारतको नयाँ दिल्ली ल्याइएको थियो । नयाँ दिल्लीमा पिताम्बर कँडेल नाम गरेका मान्छे रहेको भन्दै उनलाई भेट्न भनेको प्रहरी अधिकारीहरू बताउँछन् । त्यतिबेलासम्म ती महिलाले उनले ५ लाख ७० हजार रुपैयाँ दिइसकेका थिए । दिल्लीमा पुगेपछि फेरि पिताम्बरले कागजात मिलाउन भन्दै २ लाख ३० हजार रुपैयाँ माग गरेका थिए । ती महिलालाई उनै पिताम्बरले दिल्लीको एक कोठामा लगेर बन्धक बनाएको ब्यूरोका प्रवक्ता नरेन्द्र कुँवर बताउँछन् ।
पिताम्बरले एक मुस्लिम मान्छेको जिम्मा लगाएको पीडित महिलाको भनाइ थियो । ती मुस्लिम व्यक्तिले जबरजस्ती गाडीमा राखेर लैजाँदै गर्दा बेचबिखनमा परेको शंका लागेर पिसाब फेर्ने बहानामा पीडित महिला भाग्न सफल भएकी थिइन् । ती महिलालाई २५ अगस्टदेखि २७ डिसेम्बरसम्म नयाँ दिल्लीमा बन्धक बनाएर राखिएको थियो ।
दुई जनालाई आयरल्यान्डको सपना देखाएर दुबईमा बन्धक
एक पुरुष र एक महिलालाई आयरल्यान्ड पठाउने भन्दै न्यौपानेले दुबईमा बन्धक बनाएका थिए । मासिक १ हजार २ सयदेखि १ हजार ८ सय युरोसम्म कमाई हुने भन्दै उनीहरूलाई प्रलोभन देखाइएको थियो ।
१५ दिनभित्र सबै काम हुने भन्दै उनीहरूलाई पैसा लिएर काठमाडौंबाट ५ असोज २०७५ मा दुबई पुर्याइएको थियो । दुबईमा एक महिनासम्म चरम यातना दिएर कोठामा बन्धक बनाएको पीडितको दाबी छ । एक महिनासम्म बन्धक बनाएपछि काम नहुने भयो भन्दै त्यहाँबाट फेरि भारतको नयाँ दिल्ली लगिएको थियो ।
नयाँ दिल्लीमा भने उनै पिताम्बर कँडेल नाम गरेका व्यक्तिले दलालको काम गर्ने गरेको प्रहरीको भनाइ छ । एक हप्तापछि कोठाबाट भाग्न सफल भएका पीडितले प्रहरीमा उजुरी दिएका थिए ।
त्यसैगरी एक जना बाट ८ लाख ६० हजार रुपैयाँ लिएर ८ अगस्ट २०१८ मा दुबई पुर्याएर न्यौपानेले अलपत्र पारेको आरोप छ । अर्का दुई पुरुषलाई भने पोर्चुगल पठाउने भन्दै उनले २३ अगस्ट २०१८ मा नेपालबाट दिल्ली पुर्याएर अलपत्र पारेका थिए ।
५५ दिनसम्म्म दिल्लीको एक होटलमा बन्धक बनाएपछि उनीहरू भागेर नेपाल आएका थिए । ८ जना पीडितले ५ वटा जाहेरी दिए पनि लामो समयसम्म उनी फरार थिए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4