Comments Add Comment

पानीको ट्यांकरमा आजबाट स्टिकर अनिवार्य

स्टिकर हेरेर मात्र पानी प्रयोग मन्त्रीको अपील


५ बैशाख, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले खानेपानी बोक्न प्रयोग हुने ट्यांकरहरुले आजदेखि अनिवार्य रुपमा स्टिकर टाँस्नु पर्ने व्यवस्था लागू गरेको छ ।

नागरिकलाई शुद्ध पानी उपलब्ध होस् र जनस्वास्थ्य माथि कसैले पनि खेलवाड नगरोस् भन्ने उदेश्यका साथ पानी बोक्ने ट्यांकर माथि स्टिकर प्रणाली लागू गर्न गरिएको हो ।

ट्यांकरबाट वितरण हुने पानीको गुणस्तर परिक्षण हुन् नसक्दा जनस्वास्थ्यमाथि गम्भीर खेलवाड भएको, सर्वसाधारणसँग जथावाभी मूल्य लिएको जनगुनासो आएपछि यसको उचित व्यवस्थापन र मूल्यमा एकरुपता ल्याउन स्टिकर टाँस्ने व्यवस्था लागू गरिएको हो ।

अबदेखि ट्यांकरमा रहेको पानीको परीक्षण गरेर पानीको शुद्धता र गुणस्तरीयताको आधारमा ट्यांकरमा स्टिकर टाँसिने छ ।

खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले ट्यांकरमा भएको पानीको गुणस्तर र शुद्धताको आधारमा स्टिकर प्रदान गरिने भन्दै स्टिकर हेरेर मात्र ट्यांकरको पानीको प्रयोग गर्न आम नागरिक समक्ष अपिल गरेका छन् ।

कुन स्टिकरले के संकेत गर्छ ? 

खानेपानी व्यवस्थापन बोर्डले पानी बोक्ने ट्यांकरहरुमा पानीको परीक्षण गरेर त्यसको सुद्धताको आधारमा निलो, पहेलो र हरियो स्टिकरलगाएर प्रमाणित गरिदिन्छ । स्टिकर नभएको ट्यांकर प्रयोग गरेको भेटिए बोर्डले तुरुन्त कारवाही गर्न सक्ने व्यवस्था लागू गरिएको छ । गुणस्तर प्रमाणित नभई कुनै पनि ट्यांकरले पानी वितरण गर्न पाउने छैनन् ।

पानीको शुद्धताको आधारमा फिजिकल ,केमिकल र माइक्रोबाइलोजिकल तिनै हिसाबले उपयुक्त पानी भएको ट्यांकरलाई निलो स्टिकर प्रदान गरिन्छ । जुन पानी सिधै पिउन सकिन्छ ।

पानीको परीक्षण गर्दा फिजिकल र केमिकल मात्र मिलेको तर माइक्रोबाइलोजिकलको मात्र कम रहेछ भने त्यस्तो ट्यांकरलाई पहेलो स्टिकर प्रदान गरिने छ । पहेलो स्टिकर भएको पानी उमालेर खान मात्र मिल्छ ।

यस्तो पानी नउमाली खाए स्वास्थ्यमा समस्या देखिन सक्छ । यस्तो पानी पिउने बाहेक अन्य कामको लागि भने प्रयोग गर्न सकिन्छ ।

पानीको परीक्षण गर्दा माइक्रोबाइलोजीकलको हिसाबले उपयुक्त छ तर फिजोकल र केमिकलको हिसाबले उपयुक्त छैन भने त्यस्तो पानी भएको ट्यांकरलाई हरियो स्टिकर दिईन्छ ।

हरियो स्टिकर प्रयोग भएको ट्यांकरको पानी खान मिल्दैन । त्यो हात मुख,धुन र शरीर सफा गर्न त्यस्तै भान्सामा प्रयोग मात्र सकिन्छ ।

संचालन अनुमति लिनुपर्ने

खानेपानी बोक्ने ट्यांकरहरुले अनिवार्य रुपमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था पनि लागू गरिएको छ ।

अबदेखि बोर्डसँग अनुमति नलिई कुनै पनि ट्यांकर संचालन गर्न पाइने छैन । यस अघि खानेपानी व्यवस्थापन बोर्डसँग संचालन अनुमति नलिई खानेपानी बोक्ने ट्यांकरहरु संचालमा आइरहेको पाएपछि त्यसता ट्यांकरहरुलाई अनिवार्य रुपमा संचालन अनुमति लिनुपर्ने व्यवस्था गर्न मन्त्री शाहीले निर्देशन दिएका थिए ।

मन्त्री शाहीले भने , ‘ट्यांकरले ओसार्ने पानीमा अधिकांशले न कुनै अनुमति लिएको देखिन्छ । न त पानीको गुणस्तरको परीक्षण नै हुन्छ । यसरी जथाभावी गर्न दिने हो भने भोलि यो बिकराल समस्याको रुपमा निम्तिने खतरा छ । अहिले ट्यांकरले कुनै खोलाबाट सिधै पानी भरेर जनतालाई वितरण गर्यो भने पनि कसैले केहि गर्दैन । यस्तो अव्यवस्थित र जथाभावी रुपमा चल्न दिनु हुँदैन । निश्चित प्रक्रिया अपनाएर मात्र व्यवसाय गर्न दिनुपर्छ ।’

नियमन गर्ने निकाय कमजोर हुँदा ट्यांकरबाट वितरण हुने पानीको गुणस्तर कमसल भएको भन्दै मन्त्री शाहीले अब देखि अनुमति नलिएका ट्यांकरलाई कडाई गर्नुपर्ने बताए । उनले ट्यांकरले उपलब्ध गराउने पानीमा पैसा लिए अनुसारको गुणस्तर हुनुपर्नेमा जोड दिंदै गुणस्तर परीक्षण र मूल्यमा एकरुपता ल्याउन पनि अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था गर्नुपरेको बताए ।

उपत्यकामा अहिले करिब ६०० ट्यांकर छन् भने दैनिक ५ करोडलिटर जति पानीबेचिरहेको तथ्यांङ्क रहेको छ । तर यीमध्ये अधिकांश ट्यांकरले बोर्ड संग अनुमति लिएका छैनन् ।

यो व्यवस्था लागू भएपछि यी ट्यांकरहरुले अनिवार्य रुपमा संचालन अनुमति लिने र सुद्धता मापन गरेर स्टिकर टाँस्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment