Comments Add Comment

जयनगर-जनकपुर-बर्दिवास रेलमार्ग बन्न अझै २ वर्ष लाग्ने


५ वैशाख, काठमाडौं । जयनगर-जनकपुर-बर्दिवास ब्रोडगेज रेलमार्गको निर्माण सक्न अझै २ वर्ष लाग्ने भएको छ । ८ वर्षअघि नै निर्माण सम्झौता सम्झौता भएपनि कामको गति सुस्त हुँदा समस्या भएको रेल विभागले जनाएको छ ।

भौतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले एक वर्ष भित्रमा जयनगरदेखि जनकपुरसम्म रेल चलाउन निर्देशन दिएपनि रेल सञ्चालन हुने अवस्था नरहेको विभागकै अधिकारी बताउँछन् । संसदको विकास समितिले पनि यो रेल्वेको निर्माण सकेर एवर्षभित्रै रेल चलाइसक्न निर्देशन दिएको थियो ।

तर, जयनगर-जनकपुर-बर्दिबास ब्रोडगेज रेलमार्गको बसै काम सक्न सन् २०१८ को डिसेम्बरसम्म लाग्ने विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले जानकारी दिए ।

‘बीचमा कुनै समस्या नआए अबको २० महिनामा काम सकिन्छ’, उपाध्यायले भने,’काममा विभिन्न किसिमका समस्याहरु आएका छन् । मआब्जा विवाद मिलाउनै समय लाग्दा समस्या भएको हो ।’

सन् १९९४ सालदेखि सञ्चालनमा आएको जनकपुर-जयनगर-विजलपुरा रेल सेवा अहिले बन्द छ । तीन वर्षअघि भारतीय सीमावर्ती क्षेत्र जयनगरदेखि जनकपुरसम्म ब्रोडगेज रेलमार्ग निर्माणको काम सुरु गरिए पनि विभिन्न प्राविधिक र निर्माण कार्यमा भएको ढिलाइले काम समयमै सकिने छाँटकाँट देखिएको छैन ।

जयनगरदेखि महुवासम्मको २७ किलोमिटरमा माटो, ग्राभेल बिछ्याउनुका साथै पुलपुलेसा निर्माणको जिम्मेवारी पाएका ठेकेदारले सरोकारवालाले निर्माण सामग्रीको उचित प्रवन्ध नगरिदिएका कारण एक वर्षभित्र काम पूरा नहुने बताउँदै आएका छन् ।

६९ किलोमिटरको यो रेलमार्ग निर्माणका लागि भारत सरकारले भारु ५ अर्ब ५० करोड सहयोग गरेको छ । रेल सेवा बन्द भएपछि धनुषा, महोत्तरीलगायत सीमावर्ती क्षेत्रका स्थानीयवासी यातायातको सुविधाबाट वञ्चित हुनुपरेको छ ।

रेल किन्न अलमल
मुआब्जाको समस्या समाधानको अन्तिम तयारी भइरहेकाले अब तीब्र गतिमा काम हुने विभागका इञ्जिनियर उपाध्यायले बताए । अहिलेसम्म यो रेलमार्गमा चलाउने रेलबारे पनि सरकारले कुनै निर्णय लिएको छैन ।

रेलमार्ग भारतले बनाएपनि ब्रोडगेजमा चलाउने रेल नेपालले नै किन्नुपर्नेछ । तर, यसमा चलाउने रेल किन्ने प्रक्रिया पनि सुरु गरिएको छैन ।

रेलमार्ग बन्नासाथ रेल चलाउन अहिलेदेखि नै प्राविधिक तयारीहरु गर्नुपर्ने भएपनि बजेट अभावले समस्या भएको उपाध्यायले बताए । ब्रोडगेज रेल किन्न राष्ट्रिय योजना आयोगले सहमति दिएपनि अर्थ मन्त्रालयमा प्रस्ताव अडि्कएको विभागले जनाएको छ ।

त्यसैगरी, रेलसेवा बन्द हुँदा भारत नेपाल बीचको द्वीदेशीय पारवहनसमेत प्रभावित भएको छ । बर्दिबासतर्फको १८ किलोमिटर खण्डमा काम नै सुरु नहुँदा समस्या भएको छ ।

ब्रोडगेज रेलमार्ग निर्माण गर्न सरकारले धनुषा र महोत्तरीका जग्गाधनीलाई साढे सात करोड भन्दा बढी मुआब्जा वितरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment