Comments Add Comment

राधाको ‘खलंगामा हमला’ अंग्रेजीमा

जुम्ला । राधा पौडेलको मदन पुरस्कार पाउने कृति ‘खलंगामा हमला’ को अंग्रेजी अनुवाद बजारमा आएको छ ।

लोकप्रिय कृतिलाई अंग्रेजी भाषाको फराकिलो दायरामा लैजाने क्रममा ‘खलंगामा हमला’ को अंग्रेजी संस्करण प्रकाशनमा ल्याएको पब्लिकेशन्स नेपालयले जनाएको छ । लेखक पौडेलले अंग्रेजी संस्करण ‘जुम्ला- अ नर्सेज स्टोरी (जुम्ला—एउटा नर्सको कथा) को एक प्रति जुम्लास्थित कर्णाली सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रलाई हस्तान्तरण गर्दै पुस्तक सार्वजनिक गरिन् ।

पेसाले नर्स पौडेलले सुरक्षित मातृत्व कार्यक्रमका निम्ति जुम्लामा खटिँदा खेपेको द्वन्द्वकालको अनुभवलाई ‘खलंगामा हमला’ कृतिमा समेटेकी छिन् । माओवादीले गरेको खलंगा हमला झेलेकी उनले त्यस रात सशस्त्र द्वन्द्वको प्रत्यक्ष भोगाइको चित्रण गरेकी छिन् ।

भरतपुर अस्पतालको स्थायी सरकारी जागिर छाडेर माओवादी द्वन्द्वको उत्कर्षमा जुम्ला पुगेकी पौडेलले त्यसबेला दुर्गम बसाइका अप्ठ्यारा र त्रासलाई नजिकबाट भोगिन् । ०५९ कात्तिक २८ गते प्रत्यक्ष देखेको खलंगा हमला चाहिँ उनको जीवनमा भुल्नै नसकिने घटना बन्यो । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको अवस्थाका साथै द्वन्द्वका बेलामा अस्तव्यस्त समाज, मानवीय संवेदना र माओवादी तथा सुरक्षा निकायबीच चेपिएर काम गर्दाको कहालीलाग्दो अनुभूति उनको पुस्तकमा समेटिएको छ । सो कृतिले ०७० सालको मदन पुरस्कार पाएको थियो ।

खलंगा हमलापछि पनि निरन्तर जुम्लामै रहेर सामाजिक काममा सक्रिय रहेकी पौडेललाई अमेरिकाको युनिभर्सिटी अफ स्यानडियागोले ‘वुमन पिसमेकर– २०१२’ र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले ‘एन–पिस अवार्ड २०१२’ बाट सम्मान गरिसकेको छ ।

लेखक पौडेलले आफ्नो कृतिको अंग्रेजी अनुवाद आएसँगै अब कर्णालीका कथा–व्यथा विश्वभरिका पाठकसम्म पुग्ने अपेक्षा व्यक्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment