Comments Add Comment

प्रचण्डको ठाउँमा म भएको भए २ चरणमा चुनाव गर्थें

'प्रदेश नम्बर १ र २ मा दोस्रो चरणमा चुनाव गर्दा राम्रो'

७ बैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहको चुनाव एकै चरणमा गर्नुभन्दा दुई चरणमा गर्दा राम्रो हुने बताएका छन् । प्रचण्डको ठाउँमा आफू भएको भए दुई चरणमा चुनाव गराउने नेता नेपालले बताएका छन् ।

‘प्रचण्डजीको ठाउँमा म भएको भए १ नम्बर प्रदेश र २ नम्बर प्रदेशमा दोस्रो चरणमा चुनाव गराउने थिएँ,’ बुधबार साँझ केही सञ्चारकर्मीसँग कुरा गर्दै एमाले नेता नेपालले भने, ‘सरकारले गर्न सक्छु भनेर एकै चरणमा गरेको होला, व्यक्तिगत रुपमा भन्ने हो भने किन यस्तो गरेको होला भन्ने मलाई लागेको छ ।’

सुरक्षाकर्मी र अन्य जनशक्ति परिचालनका हिसाबले पनि स्थानीय तहको चुनाव दुई चरणमा गरिनु राम्रो हुने नेता नेपालको धारणा छ । यद्यपि उनले यो भनाइ एमाले पार्टीको नभएर आफ्नो व्यक्तिगत भएको बताए ।

नयाँ वर्षको अवरसरमा एमाले नेता नेपालले बुधबार साँझ इन्द्रेणी फुडल्याण्डको चाइनिजरुममा सञ्चारकर्मीहरुसँग डिनरसहितको शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेका थिए । सो कार्यक्रममा सञ्चारकर्मीले नेता नेपालले प्रश्न सोधे- ‘मधेसी मोर्चासँग सहमति भएको अवस्थामा दुई चरणमा चुनावमा जाँदाखेरि के हुन्छ ? यसमा तपाईलाई कस्तो लाग्छ ?’

जवाफमा एमाले नेता नेपालले यसबारे आफ्नो पार्टीको धारणा आइनसकेको हुनाले केही अप्ठ्यारो महसुस गरे । तथापि आफू दुई चरणको चुनावको पक्षमा रहेको उनले खुलाए । मधेसी मोर्चा चुनावमा आउने हो भने यसका लागि केही दिन समय दिएर जाँदा राम्रै हुने उनले आफ्नो धारणा राखे ।

एमाले नेता नेपालले भने- ‘मैले कसरी भनौं पार्टीको कुरो ? मेरो विचारमा अलिकता लचिलो भएर जाने पो हो कि ?’

सेक्युरिटीको एङगल र राजनीतिक सहमति दुईवटै कारणले मधेसी मोर्चाले मान्छ भने र यसमा सरकार विश्वस्त छ भने दुई चरणमा जान सकिने नेता नेपालले संकेत गरे ।

बैशाख ३१ गते तीनदेखि सात नम्बर प्रदेशसम्म चुनाव गर्ने र त्यसपछि १ र २ नम्बर प्रदेशमा गर्दा शक्ति परिचालनको हिसाबलेपनि सजिलो हुने नेता नेपालले धारणा राखे । तर, बैशाख ३१ को चुनावी प्रक्रिया रोक्न नमिल्ने उनले बताए ।

दुई चरणमा चुनाव गर्ने शर्तमा मधेसी मोर्चा निर्वाचनमा भाग लिन आउला कि नआउला भन्नेबारे अझै पनि आफू ढुक्क हुन नसकेको नेता नेपालले संकेत गरे । तपाईलाई मधेसी मोर्चा सहमतिमा आउँछ जस्तो लाग्छ ? यो प्रश्नमा नेपालले भने- ‘आंशिक इन्फरर्मेसनहरुका आधारमा हेर्दा उनीहरु लामो समयसम्म यसैगरी जान्छन् कि ? अर्कोतर्फ निर्वाचनमा सहभागी हुन खोजिरहेको माहोल हेर्दाखेरि, यसलाई इस्यु बनाएर चुनावमा भाग लिन खोजेको हो कि ? जस्तो पनि लाग्छ ।’

अहिले सरकारले २ नम्बर र ५ नम्बर प्रदेशको चुनाव दोस्रो चरणमा गर्ने प्रस्ताव गरेको नेता नेपालले जानकारी दिए । बुधबार बिहान बालुवाटारमा भएको छलफलबारे जानकारी दिँदै एमाले नेता नेपालले भने- ‘२ नम्बर र ५ नम्बर छाड्ने कुरा भएको छ । कहिले २ र ५ भनेको सुन्छु, कहिले पहाड पनि भनेको सुन्छु । तर, १ र २ गर्नु राम्रो ।’

एमाले नेता नेपालले थपे- ‘१ र २ नम्बर प्रशेमा १ करोड १५ लाख जनसंख्या छ । ४० प्रतिशत जनसंख्यालाई तपाईले एकैपटक म्यानेज गर्नुभयो भने हाम्रो सुरक्षा शक्तिको पनि राम्रो मोबिलाइजेसन हुन्छ ।

कहिलेकाहीँ नेताहरुको रुखो बोलीले वातावरण बिगार्ने गरेको पूर्वप्रधानमन्त्री नेपालले बताए । ‘अहिले त हामीलाई हाम्रो बोलीले पनि बिगारेको छ,’ उनले भने- ‘जात र धर्मजस्तो संवेशनशील विषयमा बोल्दाखेरि संयमित हुनुपर्छ । शब्दले कसैको चित्त दुखाउनुहुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment