Comments Add Comment

सबै स्थानीय तहमा लेखा समूहका कर्मचारी खटाउन सरकारको निर्देशन

फाइल तस्वीर

७ बैशाख, काठमाडौं । सरकारले देशभरका स्थानीय तहमा तत्काल लेखा समूहका कर्मचारी खटाउन स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ । स्थानीय तहको कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्रिपरिषदको बिहीबारको बैठकले यस्तो निर्देशनात्मक निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले तह अनुसार खटाउन पर्ने कर्मचारी तोकेको छ । सरकारले प्रत्येक गाउँपालिकामा अनिवार्य रुपमा एकजना लेखापाल वा सहलेखापाल खटाउने निर्णय गरेको हो ।

यस्तै स्थानीय तहको पुनर्संरचना पश्चात बनेको नगरपालिकामा आर्थिक प्रशासन हेर्न लेखा अधिकृत वा लेखापालको अनिवार्य नियुक्त गरी पठाउन भनिएको छ ।

सरकारले हरेक स्थानीय तहका लागि कार्यकारी अधिकृत खटाएपनि लेखा समूहका कर्मचारी खटाएको थिएन । सरकारले मन्त्रिपरिषदस्तरीय निर्णय गरी हरेक स्थानीय तहमा लेखा समूहको कर्मचारीको अस्थायी दरबन्दी सिर्जना गरेको हो ।

यस्तै सरकारले महानगरपालिकाको कार्यकारी अधिकृतमा प्रशासन तर्फको सहसचिव हुनुपर्ने निर्णय गरेको छ । यसअघि नै मन्त्रालयले कार्यविधिबाट हरेक स्थानीय तहमा कार्यकारी प्रमुख तोकिसकेको छ । त्यसै कार्यविधिलाई स्वीकृत गरी मन्त्रिपरिषदले अस्थायी दरबन्दी सिर्जना गरेको हो ।

यस्तै मन्त्रिपरिषद बैठकले उपमहानगरपालिका र नगरपालिकाको कार्यकारी अधिकृतमा प्रशासनको उपसचिव नियुक्त गर्नुपर्ने निर्णय गरिदिएको छ । गाउँपालिकामा भने शाखा अधिकृतलाई कार्यकारी अधिकृतको रुपमा खटाउन सक्ने निर्णय मन्त्रिपरिषदको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment