Comments Add Comment

संघीय प्रहरी ऐनको मस्यौदा तयारः केन्द्रमा आइजिपी, प्रदेशमा एआइजी


१० वैशाख, काठमाडौं । प्रहरीलाई संघीय प्रणालीमा रूपान्तरणका लागि गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको छ । मस्यौदामा संघीय प्रहरी (केन्द्रीय प्रहरी) को प्रमुखमा प्रहरी महानिरीक्षक (आइजिपी) र प्रदेश प्रहरीको प्रमुखमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) राख्ने प्रस्ताव गरिएको नयाँ पत्रिकाले लेखेको छ ।

गृह मन्त्रालयको एक समितिले शुक्रबार मस्यौदा टुंगो लगाएको हो । आइतबार गृहसचिवलाई ऐनको मस्यौदा बुझाउने तयारी छ । गृहकी सहसचिव निर्मला अधिकारी भट्टराई संयोजकत्वको समितिले मस्यौदालाई अन्तिम रूप दिएको हो ।

यसअघिका विभिन्न कार्यदलले प्रहरीको केन्द्रमा महानिर्देशक तथा प्रदेशमा महानिरीक्षक राख्न सुझाब दिएका थिए । त्यसविपरीत उक्त समितिले केन्द्रमा महानिरीक्षक र प्रदेशमा अतिरिक्त महानिरीक्षक राख्न प्रस्ताव अघि बढाएको हो । जसप्रति प्रहरी अधिकारीहरू नै असन्तुष्ट छन् ।

प्रहरीलाई संघीय प्रणालीमा रूपान्तरणका लागि गृहमा दुई समिति बनेका छन् । सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा निर्देशक समिति बनेको छ, जसमा प्रहरी महानिरीक्षक, महान्यायाधिवक्ता, कानुन सचिवलगायतका अधिकारी सदस्य छन् । त्यस्तै, सहसचिव निर्मला अधिकारीको संयोजकत्वमा अर्को ऐनको मस्यौदा समिति बनेको थियो । सोही समितिले ऐनको मस्यौदा तयार बनाएको हो । मस्यौदा अन्तिम चरणमा पुगेको सहसचिव अधिकारीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment