Comments Add Comment

चुँदीखोला अतिक्रमणको चपेटामा, कार्यकारी अधिकृत भन्छन्- घरटहरा भत्काउछौं

१२ बैशाख, तनहुँ । तनहुँको डुम्रे बजार क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम तीब्र बनेको छ । डुम्रे बजार नजिकबाट बगेको चुँदी खोलाको दायाँ-बायाँ अतिक्रमण गरी घर बनाइएको छ । खोला किनाराबाट झण्डै १० वटा पक्की घर निर्माण गरेर होटल सञ्चालन गरिएको छ ।

बन्दीपुर हालै नगरपालिकाबाट गाउँपालिकामा घटुवा भएको हो ।

बन्दिपुर गाउँपालिका वडा नम्बर १ अन्तर्गत पर्ने डुम्रे बजारमा चुँदी खोलाकै किनाराबाट खोलाको मापदण्ड मिचेर घर निर्माण हुन थालेपछि स्थानीय केही व्यापारी र वुद्धिजीविहरूले बिरोध गरेका छन् । ‘चुँदी खोला किनाराबाट सार्वजनिक जग्गा मिचेर १० वटा निजी घर र उद्योग वाणिज्य संघ डुम्रे इकाईको भवन तथा बन्दिपुर एफएमको घर गरी १२ वटा संरचना निर्माण गरेको पाइएको छ,’ बन्दिपुर गाउँपालिकाका प्रमुख भेषबहादुर कुँवरले भने, ‘बनेका संरचना भत्काउन र नयाँ निर्माण नगर्न पत्राचार गरेका छौं ।’

सार्वजनिक जग्गा मिच्ने छुट कसैलाई छैनः प्रजिअ

डुम्रे बजारतर्फ बजार विस्तार हुने ठाउँको अभाव भएपछि पारीपट्टी (भानु नगरपालिका तर्फ) बस्ती बिस्तार हुन थालेको छ । सो क्षेत्रबाट पनि चुँदी खोला अतिक्रमणमा परेको छ । बन्दिपुर गाउँपालिका र स्थानीय राजनीतिक पार्टीका प्रतिनिधिहरूलाई सार्वजनिक जग्गाको संरक्षण गर्न पटक-पटक अनुरोध गरेपनि ध्यान नदिएको भन्दै स्थानीय व्यापारी घनश्याम श्रेष्ठले आक्रोश व्यक्त गरे । श्रेष्ठले भने, ‘डुम्रे बजारमा एउटाले खोला मिचेर बनाउन हुने अर्कोले किन नहुने भन्ने भावना फस्टाएको छ ।’

प्रजिअ फणिन्द्रमणि पोखरेलले भने– अन्य कुनै सहयोग चाहिन्छ भने जिल्ला प्रशासन कार्यायलले तत्कालै उपलब्ध गराउँछ । सार्वजनिक जग्गा मिच्ने छुट कसैलाई छैन

उद्योग वाणिज्य संघ डुम्रे इकाईका अध्यक्ष सुनिल श्रेष्ठले सार्वजनिक जग्गा मिचेर घर बनाएकाहरूलाई आफूहरुले सम्झाएपनि नमानेको गुनासो गरे ।  श्रेष्ठले भने, ‘सार्वजनिक जग्गा संरक्षणमा बेलैमा ध्यान नदिए समस्या बिकराल हुने छ ।’

तनहुँका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले डुम्रे बजार क्षेत्रको सार्वजनिक जग्गा मिचिएको विषय जानकारीमा आएको भन्दै गाउँपालिकालाई तत्कालै आफूलाई प्राप्त अधिकार प्रयोग गर्न निर्देशन दिइएको बताए । ‘गाउँपालिकाका कार्यकारीलाई मैले स्पष्ट निर्देशन दिइसकेको छु । बरु अन्य कुनै सहयोग चाहिन्छ भने जिल्ला प्रशासन कार्यायलले तत्कालै उपलब्ध गराउँछ,’ प्रजिअ पोखरेलले भने, ‘सार्वजनिक जग्गा मिच्ने छुट कसैलाई छैन ।’

बन्दिपुर गाउँपालिकाका कार्यकारी अधिकृत भेषबहादुर कुँवरले सार्वजनिक जग्गा मिचेर बनाएका घर टहरा भत्काइने बताए ।

डुम्रे बजारमा अधिकांश घरहरु नक्सापास नगरी निर्माण गरिएको छ ।  डुम्रे बजार क्षेत्रमा कति सार्वजनिक जग्गा छ भन्ने पत्तो गाउँपालिकालाई छैन ।

तनहुँ, लम्जुङ र गोरखाको व्यापारीक केन्द्रका रूपमा विकास हुँदै गएको डुम्रे बजार क्षेत्र आफैमा पनि भौगोलिक बनावटका कारण निकै साँघुरो अवस्थामा छ । पार्किङ असुविधा, सवारी साधानको दिनहुँ बढ्दो चापका कारण दुर्घटना समेत हुने गरेका छन् । पृथ्वीराजमार्गको मापदण्ड लागू गराउँदा डुम्रे बजार क्षेत्रका अधिकांश घरहरू आधा भत्कन्छन् । मापदण्डमा पर्ने घर निकै कम छन् । सडककै मापदण्ड मिचेर डुम्रेमा बजार बसेको छ । बजारमा सार्वजनिक सडकपेटीको अभाव छ ।

ढल र फोहर बिसर्जन स्थल 

चुँदी खोला अतिक्रमणको चपेटामा त परेको छ नै, बजार क्षेत्रको ढल र फोहरले दिनहुँ दुर्गन्धित पनि बन्दै गएको छ । बजार क्षेत्रको ढललाई पुल नजिकबाट खोलामा मिसाइएको छ । वर्षातको समयमा खोला केही ठूलो हुने भएपनि हिउँदको समयमा भने पानी एकदमै कम हुने गर्दछ । बजार क्षेत्रमा थुप्रिने फोहरलाई समेत खोलामा फाल्ने गर्दा खोला र वरपरको सौन्दर्यमा समेत ह्रास आएको छ ।

शहरको बजार बिस्तार हुदै जाँदा फोहरको मात्रा पनि बढ्दै गएको छ र त्यसको मार चुँदी माथि परेको छ । नुहाउने, कपडा धुने जस्ता काम पनि खोलामा नै हुदै आएको छ । जसका कारण पानी प्रदुषित भएको देखिन्छ । यस तर्फ गाउँपालिकाले खासै चासो देखाएको छैन ।

कानुन विपरित डाँडा भत्काएर घडेरीको ब्यापार 

डुम्रे बजार सानो क्षेत्र भएकाले थप बजार बिस्तार हुन सक्ने अवस्था छैन । त्यसैले थप बजार बिस्तारका लागि भू-माफियाहरूले हरिया डाँडाहरू भत्काउने क्रम तिव्र बनाएका छन् । कतिपय निजी स्वामित्वका त कतिपय सार्वजनिक डाँडाहरु समेत आफुखुसी डोजर लगाएर भत्काउने र उजाड बनाउने काम जारी छ ।

सो क्षेत्र वरपर करीव ६/७ ठाउँमा योजनावद्ध ढंगले डाँडाहरु भत्काउने क्रम चलिरहेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी भत्काइएका डाँडाहरूमा पहिरो र भूक्षयको जोखिम बढेको छ । डाँडा भत्काएर भूमाफियाहरूले एकातिर माटोको ब्यापार गरेका छन् भने अर्कोतिर घडेरीको व्यापार गर्दै आएका छन् ।

तनहुँका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल यस्ता डाँडाहरू निजी स्वामित्वकै भएपनि भत्काउन नदिन र वातावरणीय प्रभाव मूल्यांकन पछि मात्रै भत्काउन दिन बन्दिपुर गाउँपालिकालाई निर्देशन दिएका छन् । तर गाउँपालिकाले प्रभावकारी रूपमा निर्देशनको पालना गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment