Comments Add Comment

राप्रपा भन्छ-राजा अब सहमति र सम्झौताको साझा संस्था

राजालाई संसदको नियन्त्रणमा राखौं : थापा

१३ बैशाख, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्थालाई संसदको नियन्त्रणमा राख्न प्रस्ताव गरेका छन् । राजा महेन्द्रको राष्ट्रवाद र वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति राप्रपाको प्रेरणाको स्रोत हो भन्दै उनले राजसंस्थासहितको लोकतन्त्रमा जोड दिए ।

बुधबार ललितपुरको हिमालय होटलमा स्थानीय चुनावको घोषणापत्र सार्बजनिक गर्दै उपप्रधानमन्त्रीसमेत रहेका थापाले भने, ‘राप्रपा संविधानको परिधिभित्र रहेर, संसद अन्तर्गत, संसदको नियन्त्रणमा रहने राजसंस्थासहितको लोकतन्त्रको पक्षमा छ ।’

राप्रपाले चुनावी घोषणापत्रमा पनि राजसंस्थालाई ‘चुनावी राजनीतिभन्दा माथि रहेको तथा सबैले सम्मान र विश्वास गर्ने संस्था’को रुपमा व्याख्या गरेको छ । उसले राजसंस्थालाई ‘राष्ट्रियता र सांस्कृतिक एकताको प्रतीक’को उपमा समेत दिएको छ ।

घोषणापत्रमा लेखिएको छ, ‘सार्वभौमसत्ता जनतामा निहित रहने, देशको शासन जनताबाट निर्वाचित प्रतिनिधिहरुले गर्ने तथा संसदको परिधि र संविधानअन्तर्गत राष्ट्रियता र सांस्कृतिक एकताको प्रतीकको रुपमा संवैधानिक राजसंस्था रहने मान्यतालाई राप्रपाले आत्मसाथ गर्दछ ।’

उसले राजसंस्था परिवर्तनका पक्षधरहरुलाई पनि चित्तबुझ्दो साझा संस्था हुने विश्वास समेत गरेको छ ।

‘अबको राजसंस्था परिवर्तनका पक्षधरहरुलाई समेत चित्त बुझ्ने सहमति र सम्झौताको साझा संस्था हुनेछ,’ राप्रपाको घोषणापत्रमा लेखिएको छ, ‘राजसंस्थासहितको लोकतन्त्रको अवधारणा त्यस्तो सम्झौताको सुत्र हुनसक्दछ ।’

राप्रपाले आफ्ना उम्मेदवार विजयी हुने हरेक गाउँपालिका र नगरपालिकाका सबै सरकारी कार्यालय, विद्यालय र संघसंस्थाहरुमा पृथ्वीनारायण शाहको तस्वीर राख्ने तथा फागुन २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्बजनिक विदा दिने घोषणा गरेको छ ।

राजा महेन्द्र र वीपी कोइराला प्रेरणाको स्रोत

पार्टी अध्यक्ष कमल थापाले सात सालदेखि २०६२/६३ को दोस्रो जनआन्दोलनको उपलब्धीबारे चर्चा गरे पनि गणतन्त्र शब्दको उच्चारण भने गरेनन् । उनले समावेशी र समानुपातिकलाई दोस्रो जनआन्दोलनको सबैभन्दा ठूलो उपलब्धी भने ।

अध्यक्ष थापाले भने, ‘सात सालको क्रान्तिको सबैभन्दा ठूलो उपलब्धी प्रजातन्त्र हो । ०४६ सालको जनआन्दोलनको महत्वपूर्ण उपलब्धी बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्था हो । ०६२/६३ को दोस्रो जनआन्दोलनको सबैभन्दा ठूलो उपलब्धी भनेको समावेशी समानुपातिक मान्यता हो । राप्रपाले यी तिनै बिचारहरुलाई प्रजातन्त्र, संवैधानिक राजसंस्था र समानुपातिक समावेशी मान्यतालाई अवलम्बन गरेको छ ।’

कार्यक्रममा गणतन्त्र शब्दको उच्चारण नगरे पनि राप्रपाले आफ्नो घोषणापत्रमा गणतन्त्रलाई ‘राष्ट्रिय यथार्थ’को रुपमा आत्मसाथ गरेको छ । ‘गणतन्त्र राष्ट्रिय यथार्थ बनिसकेको वर्तमान अवस्थामा राजसंस्थाबारे आवश्यक परे जनताको प्रत्यक्ष अभिमतका लागि जनमतसंग्रह गर्नु उपयुक्त विकल्प हुनेछ,’ घोषणापत्रमा लेखिएको छ ।

अध्यक्ष थापाले राजा महेन्द्रको राष्ट्रवाद र वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति, राष्ट्रियता र प्रजातन्त्र सँगै जानुपर्दछ, भन्ने मान्यतालाई आफ्नो बिचारको प्रेरणा स्रोतको रुपमा अवलम्बन गरेको जानकारी दिए ।

राप्रपा ठूलो समस्यामाः राणा

निर्वाचन आयोगले संविधानसँग बाझिएको भन्दै राप्रपाको विधानबाट राजसंस्था र सनातन हिन्दु राष्ट्र भन्ने वाक्यांश हटाउने निर्णय गरेको थियो । त्यसविरुद्ध राप्रपाले निर्वाचन आयोग घेराउ लगायतका आन्दोलन गरेको थियो । राप्रपाको आन्दोलनपछि निर्वाचन आयोगले पूर्वनिर्णयलाई थाति राखेको छ ।

कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष पशुपति समशेर राणाले निर्वाचन आयोगले राप्रपाका महत्वपूर्ण बिचारलाई हटाइदिएको भन्दै अझै संघर्ष गर्नुपर्ने बताए । ‘ठूलो समस्या पार्टीमा आइरहेको’ भनेर सम्बोधन सुरु गरेका राणाले भने, ‘निर्वाचन आयोगले महत्वपूर्ण विश्वास हटायो । हामीले दबाव दियौं । दबावपछि आयोगले आफ्नो निर्णय थाति राख्यो । तर फेरि त्यो विश्वास कायम गर्न आन्दोलनमा उत्रिनुपर्दछ साथीहरु ।’

उनले संविधानको आलोचनात्मक समर्थन गर्न पाइने भन्दै त्यसैअनुसार राप्रपा अगाडि बढिरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment