Comments Add Comment

दैलेखमा यस्तो छ स्थानीय चुनावको जोड घटाउ

बिरासत जोगाउने तयारीमा एमाले,पुनगरागमनको पर्खाइमा कांग्रेस

१३ बैशाख, दैलेख । स्थानीय तहको निर्वाचनको मिति नजिकिएपछि दैलेखमा राजनीतिक दलहरुले निर्वाचनको जोड घटाउ सुरु गरेका छन् ।
दैलेखमा बैशाख ३१ गते पहिलो चरण मै निर्वाचन हुने भएपछि यहाँका राजनीतिक दलहरुले निर्वाचनको जोड घटाउ थालेका हुन् ।

पछिल्ला २ वटा संविधानसभा निर्वाचन यता नेकपा एमालेको पकड रहेको दैलेख जिल्लामा ९ वर्षपछि कांग्रेसले नतिजा उल्टाउने ध्याउन्नमा लागेको छ ।

४ वटा नगरपालिकासहित ११ वटा स्थानीय तह रहेको दैलेखमा यस पटक मुख्य गरी एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा हुने दुवै दलले स्वीकार गरेका छन् । नेकपा माओवादी केन्द्रले भने तत्कालीन जनयुद्वका बेलाको आधार इलाकाका रुपमा रहेको नौमुले गाउँपालिकालाई सुरक्षित गर्ने रणनीतिमा छ ।

निर्वाचनको मिति नजिकिएपछि कांग्रेस पुनरागमनको पर्खाइमा छ भने एमालेले आफ्नो पुरानो पकडलाई कायम राख्न लागि परेको छ ।

पुनरागमनको पर्खाइमा कांग्रेस

करिब एक दशकसम्म दैलेख एमालेकै कब्जामा छ । एमालेले मुख्य प्रतिस्पर्धी कांग्रेसलाई पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा पराजित गरेको थियो ।

पहिलो संविधानसभा निर्वाचनमा कडा प्रतिस्पर्धा भएको दैलेखमा दोस्रो निर्वाचनमा कांग्रेस अझै कमजोर देखिएको थियो । तर, यो स्थानीय तहको निर्वाचनमा दैलेखमा कांग्रेसले एक दशकपछि पुनरागमन हुने दाबी गरेको छ ।

दोस्रो संविधानसभाको भन्दा अहिले आफ्नो माहोल निकै राम्रो भएकोले यसपटक पुनरागमन हुने नेपाली कांग्रेस दैलेखका सभापति कृष्ण बीसीले दाबी गरे । ‘हिजो के थियो भन्दा पनि अहिले हामी धेरै मजबुत भएका छौ,’ सभापति बीसीले भने,’यस पटक कांग्रेसको पुनरागमन हुन्छ ।’

उनले कांग्रेसले एक दशक अघि विकास निर्माणको सुरु गरे पनि करिब एकदशक नेतृत्वमा नहुँदा विकास निर्माण ओझेलमा परेकाले त्यसका लागि कांग्रेसको पुनरागमन आवश्यक भएको बताए ।

दैलेखका ११ वटा स्थानीय तह मध्ये ८० प्रतिशतमा आफ्नो जित सुनिश्चित भएको दावी उनको छ ।

गुराँस, डुङ्गेश्वर, नौमुले र भैरवी गाउँपालिका, चामुण्डा-विन्द्रासैनी नगरपालिका, आठवीस र नारायण नगरपालिकामा कांग्रेसको जीत निश्चित भएको उनले बताए । अन्यमा पनि प्रतिस्पर्धा हुने उनको दाबी छ ।

इतिहास निरन्तरताको खोजीमा एमाले

पहिलो संविधानसभाको चुनावमा एउटा सीट र दोस्रो निर्वाचनमा दैलेखका २ वटै निर्वाचन क्षेत्रमा एमाले विजयी भएको थियो ।

त्यसअघि ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि एमालेको दैलेखमा बलियो उपस्थिति थियो । एमाले क्षेत्र नं. २ मा विजयी भएको थियो भने क्षेत्र नं. १ मा पराजित भए पनि निकटतम प्रतिस्पर्धी थियो ।

दुई वटा संविधानसभाको निर्वाचनको मतलाई आधार मान्दा पछिल्लो ९ वर्षमा दैलेख जिल्ला एमालेकै कब्जामा छ ।

पुनः यही इतिहासलाई निरन्तरता दिन एमाले यतिबेला निर्वाचनमा होमिएको छ । पुनः इतिहास दोहोरिने एमालेको दाबीसमेत छ ।

दोस्रो संविधानसभामा प्रभावशाली नेता माओवादीमा प्रवेश गर्दासमेत दुवै क्षेत्र जितेको भन्दै एमाले नेताहरुले स्थानीय तह निर्वाचनमा एमालेकै पल्ला भारी हुने दाबी गरेका छन् ।

माओवादी केन्द्रबाट दैलेखमा दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्र नं. १ बाट उम्मेदवार बनेको तेजबहादुर चन्द अहिले एमालेमै फर्केकाले पनि यो क्षेत्रका सबै तह सुनिश्चित भएको एमाले दैलेखका अध्यक्ष रविन्द्र शर्माले बताए ।

जिल्लाका चार नगरपालिकासहित ८ वटा स्थानीय तह सुनिश्चित रहेको र अन्यमा पनि प्रतिस्पर्धाकाबीच विजयी हुने दावी अध्यक्ष शर्माको छ । एमालेले भैरबी बाहेक अन्य १० स्थानीय तहमा उम्मेदवारको समेत टुङगो लगाएर प्रचारमा लागिसकेको छ ।

यस्तो छ कांग्रेस-एमालेको शक्ति

दोस्रो संविधानसभाको निर्वाचनमा एमाले पहिलो शक्ति बन्यो । कांग्रेसले दुबै क्षेत्र गुमायो । तर, यहाँको मतलाई हेर्ने हो भने कांग्रेस-एमालेको कडा प्रतिस्पर्धा निश्चित जस्तै छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा दुर्व क्षेत्रमा विजयी भएको एमालेका क्षेत्र १ नं. अम्मरबहादुर थापाले १५ हजार ६ सय ७० मत ल्याएका थिए । कांग्रेसका गणेशबहादुर खड्काले ११ हजार ८ सय ९४ मत ल्याएका थिए । खड्काको २ हजार मत बागी उम्मेदवार नरसिंह मल्लले काटेका थिए ।

पहिलो संविधानसभाको निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसका गणेशबहादुर खड्का विजयी भएका थिए । दोस्रो निर्वाचनमा बागीकै कारण कांग्रेसले हारेको कांग्रेसले निष्कर्ष निकालेको छ ।

क्षेत्र नं. १ मा माओवादीबाट तेजबहादुर चन्दले ७ हजार ४५ मत प्राप्त गरेका थिए । उनी एमालेबाट माओवादीमा प्रवेश गरेर उम्मेदवार बनेका थिए । उनी अहिले एमालेमै फर्किसकेका छन् । राप्रपा नेपालले यस क्षेत्रबाट २ हजार ३३ मत ल्याएको थियो ।

क्षेत्र नं. २ मा एमालेका लक्ष्मीप्रसाद पोखरेलले १५ हजार ६१९ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका हिमबहादुर शाहीले १३ हजार ९६ मत ल्याएका थिए । क्षेत्र नं. १ का तुलनामा यो क्षेत्र काँग्रेसको बलियो क्षेत्र पनि हो ।

यस क्षेत्रमा पनि माओवादीका थिरबहादुर कार्कीले ७ हजार ३ सय ४७ मत ल्याएका थिए भने । नेमकिपाका जग्यबहादुर शाहीले ३ हजार ५ सय ११ मत ल्याएका थिए ।

आधार इलाका सुरक्षित गर्ने माओवादीको तयारी

दैलेखमा माओवादी केन्द्र एमाले र कांग्रेसको प्रतिस्पर्धामा जान सक्ने स्थिति देखिँदैन । तर, दुवै संविधानसभामा पराजित भएको माओवादीले यसपटक दैलेखमा आफ्ना आधार इलाकालाई सुरक्षित गर्ने गरी तयारीमा जुटेको छ ।

दोस्रो संविधानसभाको निर्वाचनमा दुवै क्षेत्रमा तेस्रो भएको माओवादी केन्द्रले मुख्य गरी जनयुद्वका बेला जिल्लाको आधार इलाकाका रुपमा रहेको नौमुले क्षेत्रलाई सुरक्षित गर्ने गरी तयारी थालेको हो ।

माओवादी केन्द्र दैलेखका संयोजक गंगबहादुर घर्तीले नौमुले गाउँपालिकालाई सुरक्षित गर्ने दाबी गरे । यस्तै ११ स्थानीय तहमध्ये नौमुलेसँगै भगवतीमाई, ठाटीकाँध र महाबु गाउँपालिका जित्ने दाबी गरे ।

‘नौमुलेमा हाम्रो पुरानो पकड हो,’ उनले भने, ‘नौमुलेसहित अन्य केही गाउँपालिकामा जित्छौं, एकतापछि स्थिति पहिलेको जस्तो छैन ।’

तालमेलको सम्भावना पनि

पूरै जिल्लामा चुनावी नभए पनि नगरपालिका र गाउँपालिका स्तरमा जो जससँग सम्भावना हुन्छ त्यही राजनीतिक दलहरुवीच चुनावी तालमेल हुने सम्भावना देखिएको छ ।

नेकपा एमालेका अध्यक्ष रविन्द्र शर्माले नेपाली कांग्रेस बाहेक अन्य जुनसुकै राजनीतिक दलहरुसँग नगरपालिका, गाउँपालिका र तिनका वडाहरुमा तालमेल हुन सक्ने बताए । पूरै जिल्लामा भने तालमेल हुने सम्भावना नभएको उनको भनाइ छ ।

नेपाली कांग्रेसले तालमेल गर्न सक्ने बताएको छ । छलफल र वार्ताबाट सहमति भएको अवस्थामा जुन पार्टीसंग पनि तालमेल हुने सम्भावना रहेको कांग्रेसका सभापति बीसीले बताए । उनले कुनै एउटा दलसँग मात्र नभई फरक तहमा फरक दलसँग तालमेल हुन सक्ने बताए ।

माओवादी केन्द्रले पनि तालमेलको संकेत गरेको छ । माओवादी केन्द्रले केही ठाउँमा कांग्रेससँग तालमेल गर्न प्रस्ताव गरेको बुझिएको छ ।

पूरै जिल्लामा कुनै एउटा दलसँग मात्रै तालमेल गर्ने सम्भावना भने नरहेको माओवादी केन्द्रका संयोजक घर्तीले बताए ।

दैलेखमा नेमकिपाको केही गाउँपालिकाका वडामा पकड भएकाले त्यस्ता ठाउँमा ठूला दलहरुले नेमकिपासँग तालमेल गर्न सक्ने अवस्था छ ।

क्षेत्र नं. २ अन्तर्गतका केही स्थानीय तहका वडाहरुमा नेमकिपाको पकड रहेको छ । यस्तै राप्रपा र राष्ट्रिय जनमोर्चाको पनि केही वडामा प्रभाव रहेकाले यी साना दलहरुसँग पनि तालमेल गरेर चुनावमा जान सक्ने कांग्रेस र एमाले संकेत गरेका छन् ।

तीन दलकै एजेण्डा उस्तै : जडीबुटी प्रशोधन र जलविद्युत

स्थानीय तहको निर्वाचनमा होमिएका दैलेखका प्रमुख तीन राजनीतिक दलहरुका चुनावी एजेण्डा भने करिब उस्तै छन् ।

स्थानीय जनतालाई प्रभाव पार्नका लागि निर्माण गरिएका प्रतिवद्धतापत्रमा उनीहरुले दैलेख जिल्लाको समृद्धिको उठान गरेका छन् ।

तीनवटै दलले दैलेखमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने, जलविद्युत उत्पादन गर्ने, दैलेख जिल्लालाई फलफूल (सुन्तला, माल्टा लगायत) को पकेट क्षेत्रका रुपमा विकास गर्ने, व्यवसायिक कृषि लगायतलाई जोड दिएका छन् ।

कांग्रेसले यहाँको जल, जमीन, जडीबुटीसँगै हाइड्रोपावरलाई आधार बनाएर प्रतिवद्धता पत्र बनाएको छ । जसमा व्यवसायिक फलफूल खेती, कृषि उद्योग, युवाका लागि स्थानीय स्तरमा स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता पनि जनाइएको जिल्ला सभापति बीसीले बताए ।

यस्तै एमालेले पनि आर्थिक समृद्धिका लागि भन्दै कृषि, पशुपालन, जडिबुटी, जलविद्युत निर्माणमा पहल गर्ने प्रतिवद्धता गरेको छ । पर्यटन विकास, खनिज पदार्थ र कर्णाली जोड्ने वैकल्पिक राजमार्ग निर्माण गर्ने एमाले अध्यक्ष शर्माले बताए ।

यता नेकपा माओवादी केन्द्रका स्थानीय प्रतिवद्धताहरु उस्तै छन् । माओवादीले नदी भएका स्थानीय तहहरुमा जलविद्युत निर्माणमा पहल गर्ने, दैलेखका पर्यटकीय क्षेत्रहरुको विकासका लागि प्याकेजमा योजना बनाएर कार्यान्वयन गर्ने, जडबिुटी उत्पादन क्षेत्रमा प्रशोधन केन्द्र स्थापना गरी बजारीकरण गर्ने लगायतका प्रतिवद्धता तयार गरेको छ ।

विकासे नेताको आवश्यकता

दैलेखका जनताले राजनीति गर्ने मात्रै भन्दा पनि विकास र समृद्धिको नेतृत्व गर्न सक्ने नेताको खोजी गरिरहेका छन् ।

दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष शान्ति शर्माले जुनसुकै राजनीतिक दलहरुबाट उम्मेदवार भए पनि जनतालाई बुझेको विकास र समेद्धिको नेतृत्व गर्न सक्ने नेता यहाँका जनताले चाहेको बताए ।

दैलेखको सम्भावनालाई अवसरका रुपमा लिई विकासका रुपमा कार्यान्वय गर्न सक्ने नेताहरुलाई मत दिन दैलेखी जनता तयार रहेको उनले बताए ।

दैलेखमै सञ्चालन गर्न सकिने उद्योग, कलकारखानाका लागि पहल गर्ने, हरेक क्षेत्रलाई व्यवसायिक क्षेत्रका रुपमा विकास गर्न सक्ने, आर्थिक समृद्धिको नेतृत्व गर्न सक्ने नेता आवश्यक भएको उनको भनाइ छ ।

विशेष गरी दैलेखका लागि कृषि, पर्यटन र जलविद्युतलाई आधार बनाएर विकासको नेतृत्व गर्ने उम्मेदवारहरु चाहिएको शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment