Comments Add Comment

चुनावी गीतमा आ-आफ्नै डम्फु, युट्युवमा कसले कसलाई पछार्‍यो ?

‘ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा’ भन्दै भाका हाल्ने बद्री पंगेनी अहिले चुनावी गीतमा स्वर घुमाउँदैछन् । नेकपा एमालेको चुनावी प्रचारलाई सघाउने गरी उनले गाएका छन्, ‘हजुरबाले भन्नुहुन्छ, सूर्यमा भोट हाल्ने ।’ यो गीत अहिले युट्युबमा पनि अपलोड भएको छ ।

‘सुर्के थैली खै’, ‘पूर्व पश्चिम रेल’ जस्ता सर्बाधिक चर्चित गीतका सर्जक राजनराज सिवकोटी पनि ‘भोट माग्ने’ गीतमा लय हाल्दैछन् । उनले मनिषा पोखरेलसँग गाएका छन्, ‘रुख छापमा भोट लगाउँ ।’

यो दौडमा माओवादी किन पो पछि हट्थे र ? ‘आयो आयो माओवादी’ गीति एल्बम नै बजारमा ल्याएको छ । गीतमा स्वर दिएकी छिन्, स्मिता दहालले । यिनी प्रचन्डका साख्खै नातिनी हुन् । दुइ वटा गीत संग्रहित एल्बममा संगीत भने बि. बि. अनुरागीको छ ।

दुई चरणमा हुने भनिएको चुनावको तिथी जति-जति नजिकिदैछ, चुनावी गीतको ध्वानी चर्कदैछ । आ-आफ्नै भाका, आ-आफ्नै तालमा गीतहरु घन्किदैछन् । कलाकर्मीहरु को भन्दा को कमको शैलीमा उत्रिएका छन् । यद्यपी ती सबैको सार भने एउटै छ, ‘हाम्रो पार्टीमा भोट हालौं ।’

गीत सुनेकै भरमा कसैले भोट हाल्छ कि हाल्दैन ? त्यो छुटै पाटो हो । तर, गीतको फेरो समातेर नेताहरुलाई जनताको घरदैलो पुग्न भने जाँगर चल्नेछ । मुखले भट्याउनुपर्ने कुरा गीतमै भनेपछि ‘भोटदाता’ कसो प्रभावित नहोला ?

गीतमा आह्वान गरिएको छ, आफ्नो पार्टीलाई भोट हाल्न । कतै उत्साह भरिएको छ, कतै पीडाको गीत गाइएको छ । कतै प्रतिशोधको भाव जगाइएको छ त कतै प्रतिरक्षाको आह्वान गरिएको छ ।

गीतमै आरोप प्रत्यारोप

गीतमा एक अर्कालाई होच्याइएको छ । एकअर्काको पोल खोल्ने काम पनि गरिएको छ । पार्टी-पार्टीबीच चुनावी गीतमै दोहोरी चलेको छ, एउटाले आरोप लगाए जस्तो, अर्कोले खण्डन गरेजस्तो ।

जस्तो नेपाली कांग्रेसको चुनावी गीत छ, ‘हत्या हिंसा आतंक गर्न खोजे अरुले, हतियारबाट शासन गर्न खोजे अरुले ।’ उसको यो गीतले सतापक्ष माओवादीलाई लखेटेको छ ।

माओवादीको चुनावी गीत पनि कम छैन । अहिलेसम्म भएका राजनीतिक परिवर्तनको संवाहक माओवादी नै हो भन्ने उसको आशय छ ।

‘जनयुद्दले हेपिएका जनतालाई उठायो

संघियता र संविधान माओवादीले ल्यायो

यो देशलाई बनाउने हामी हौं माओवादी ..।’

नेकपा एमाले आफ्नो सामु अरु बामपुड्को भएको भन्दै खिल्ली उडाएका छन् । देशमा संकट पर्दा एमाले नै अग्रसर हुन्छ भन्ने भावको गीतमा भनिएको छ,

‘सिमानामा छिमेकीले साह्रै आँखा गाढे

अरु कोही बोल्ने छैनन्, एमालेले छाडे

आँच पुर्‍याउन खोजे भने राष्ट्रियतामाथि

एकजुट हुने बेला आयो देशैभरका साथी ।’

खै देउडा, खै मारुनी ?

भूगोल र परिवेश अनुसार नेपाली गीतको स्वादमा पनि विविधता खोजिन्छ । जस्तो सुदूर पश्चिमेलीहरु देउडा भाकामा हुरुक्कै हुन्छन्, पूर्वेलीहरु मारुनी भाकामा घत मान्छन् । यद्यपी पार्टीका चुनावी गीतमा भने मध्यमाञ्चल क्षेत्रमा रुचाइने दोहोरी भाका सुन्न सकिन्छ ।

अहिले निकै हिट भएको गीत ‘सुन साइली’को प्यारोडी बनाएर चुनावी गीत तयार गरिएको छ । यसो भन्दै, ‘सुन साइली, सुन साइली विदेशबाट म आउँला, यसपाली माओवादीलाई जिताउँला ।’

कसको गीत बढी हेरिए

अहिले कुन गीत कति चर्चित भयो भनेर नाप्ने साझा इकाई हो, युट्युव । त्यसैले अहिले गीतको अडियो मात्र चल्दैन, भिडियो पनि चल्छ । अहिले यी प्रमुख तीन दलकै गीत युट्युवमा राखिएको छ ।

माओवादी केन्द्रको चुनावी गीत ‘घर घरमा माओवादी’ भन्ने गीत यो आलेख तयार पर्दासम्म २९ हजार पटक हेरिएको छ । अक्सिजन मिडियाले २०१७ अपि्रल १९ मा अपलोड गरेको यो गीत झंकार बुढाले गाएका हुन् ।

माओवादीकै अर्को चुनावी गीत ‘माओवादी केन्द्रलाई बिजय गराउ“m’ भन्ने गीत ४५ हजार पटक हेरिएको छ ।

नेपाली कांग्रेसको चुनावी गीत ‘उठ ए उठ नेपाली, जाग ए जाग नेपाली, कांग्रेसलाई जिताउन लाग नेपाली’ गीत युट्युबमा ५९ हजार पटक हेरिएको छ । यो गीत आचार्य डिजिटलले २०१७ अपि्रल १५ मा अपलोड गरेको हो ।

यो दौडमा सबैभन्दा अगाडि छ, एमाले । उसको ‘मै पनि एमाले’ भन्ने गीत १ लाख ३० हजार पटक हेरिएको छ । बर्दन डिजिटलले २०१७ अपि्रल २४ मा अपलोड गरेको भिडियोमा बद्री पंगेनी र पि्रय भन्डारीले स्वर दिएका छन् ।

इस् तँलाई भोट !

एकातिर कांग्रेस, एमाले र माओवादी चुनावी गीतमार्फत भोटदाता फकाउने मेलोमेसो मिलाइरहेका छन् भने अर्कोतिर नेताहरुको झुटो आश्वसन, सत्ताको लुछाचुटी जस्ता विकृत राजनीतिलाई औंल्याउदै एउटा गीत सार्बजनिक भएको छ, ‘इस तँलाई भोट ।’

एक युवाले र्‍याप शैलीमा यस्तो गीत सार्वजनिक गरेका हुन् ।

‘नमस्ते भनी, आमाबुवा भनी,

गरिबको अगाडि हरियो नोट गनी,

भोट जितेपछि कता हराइस

यसपालीको चुनावमा इस तँलाई भोट

यो गीत सबिन भट्टराइले गाएका हुन् उनलाई स्वरमा साथ दिएकी छिन्, झुमा निरौलाले । दुवै पति-पत्नी पनि हुन् । उनीहरुको गीतमा नेताको द्वैध चरित्रमाथि सर्तक रहन पनि सुझाइएको छ । भोट माग्ने बेला मात्र घर आँगनमा देखा पर्ने नेताहरु चुनाव जितेपछि कुर्सीको लुछाचुडीमा लाग्ने भन्दै नेतालाई लोप्पा ख्वाउनुपर्ने सुझाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment