Comments Add Comment

विवेकशीललाई रवीन्द्र मिश्रको प्रस्तावः किशोरलाई मेयर, दर्शनालाई उपमेयर

१५ बैशाख, काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टी स्थानीय चुनावमा साँठगाँठका लागि प्रयत्नशील छन् । तर, काठमाडौं महानगरपालिकाको मेयरमा दुवैले आफ्नो दावी नछाडेपछि प्रयत्न सार्थक बन्न सकेको छैन ।

आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने दुई दललाई मिल्न शुभेच्छुकहरुले सल्लाह दिँदै आएका थिए । यसैलाई मनन गरेर उनीहरुले सहकार्यको पहल गरेका हुन् ।

सुरुमा साझा पार्टीका रविन्द्र मिश्रले काठमाडौंको मेयरमा किशोर थापालाई र उपमेयरमा रञ्जु दर्शनालाई साझा उम्मेदवार बनाउने प्रस्ताव गरे । तर, विवेकशील मेयर छाड्न तयार भएन । उसले रञ्जुलाई मेयर र किशोरलाई उपमेयरमा उठाउने काउन्टर प्रस्ताव राखेको छ, जुन साझा पार्टीलाई मञ्जुर छैन ।

मेयर आफूले पाउनुपर्नेमा दुवै पार्टीका आ-आफ्ना तर्क छन् । साझा पार्टीले वरिष्ठता, अनुभव र विज्ञताका आधारमा किशोर मेयरका लागि योग्य भएको र उनको मातहतमा रहेर रञ्जुले आफूलाई निखार्न सक्ने तर्क गरेको छ ।

विवेकशीलले भने युवापुस्ताकी प्रतिनिधि र उर्जावान नेतृ भएकाले रन्जु नै मेयरका लागि उपयुक्त हुने तर्क गरेको छ । साझा पार्टी जन्मनै बाँकी रहेको तर, आफू चार वर्ष पुरानो भएकाले पनि पहिलो पदमा आफ्नो हक लाग्ने उसको भनाइ छ ।

रविन्द्र मिश्र भन्छन्ः रञ्जुको बेला भएको छैन

साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले किशोरलाई मेयर र रञ्जुलाई उपमेयरमा उठाउनु सहज र स्वभाविक हुने बताए । उनको भनाइको सार यस्तो छः

‘हामीले उहाँहरुलाई मेयर र उपमेयरमा तालमेल गर्ने प्रस्ताव गरेका हौं । किशोरजीलाई मेयर र रञ्जुजीलाई उपमेयरमा उठाउनु उचित हुन्छ भन्ने हाम्रो धारणा थियो । किशोरजीको अनुभव, इमान, विज्ञता, क्षमता सबै कारणले उहाँ मेयरको लागि लायक व्यक्ति हुनुहुन्छ । तर, उहाँहरुले रञ्जुलाई मेयर र किशोरजीलाई उपमेयरमा उठाआंै भन्नुभो । त्यो हामीलाई मान्य भएन ।

यो पनि पढ्नुस्- काठमाडौंको चुनावः नानीमैयादेखि रञ्जु दर्शनासम्म !

हामी पनि युवाहरुलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने पक्षमा नै छौं । साझा पार्टीमा पनि २३-२४ वर्षका धेरै युवाहरु छन् । तर, काठमाडौंको मेयर भनेको चानचुने जिम्मेवारी होइन । यो पदका लागि अनुभवी, सक्षम, इमान्दार र विज्ञ व्यक्ति आवश्यक हुन्छ । विकसित देशहरुमा हेर्नुभयो भने पनि युवालाई प्रवर्द्धन गर्ने त भनिन्छ । तर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मेयर आदिमा अलि उमेर खाएका परिपक्व मान्छेहरु नै हुन्छन् । उहाँहरुले मार्क जुकरबर्ग, मलाला, पृथ्वीनारायण शाह आदिको उदाहरण दिनुभएको छ । उनीहरु भनेका अपवाद हुन् । अपवादलाई सामान्यिकरण गर्न मिल्दैन । उदाहरणका लागि मलालाले १७ वर्षको उमेरमा नोबेल पुरस्कार जितिन् भने हरेक १७ वर्षका छोरीलाई आमाबाबुले नोबल पुरस्कार खोइ जितेको भन्न मिल्छ ? सबै मान्छे बुद्ध हुन सक्दैनन् ।

युवाहरुको पनि उमेर समूह हुन्छ । २० वर्षको पनि युवा हुन्छ, ३५ वर्षको पनि युवा हुन्छ । युवालाई जिम्मेवारी दिने नाममा २१ वर्षको व्यक्तिलाई थाम्नै नसक्ने भारी बोकाउन हुँदैन । मैले महसुस गरेअनुसार ९९ प्रतिशत जनमत किशोरजीलाई मेयर र रञ्जुलाई उपमेयर दिनुपर्ने पक्षमा नै छ । रञ्जुको पक्षमा पनि लहर छ तर, समय बित्दै जाँदा मानिसहरु यथार्थको धरातलमा आउनेछन् ।’

विवेकशीलका प्रवक्ता भन्छन्ः रञ्जुलाई रोक्न असम्भव

विवेकशील पार्टीका अध्यक्ष उज्ज्वल थापाले यस विषयमा प्रतिक्रिया दिन मानेनन् । तर, सो पार्टीका प्रवक्ता रमेश पौडेलले रञ्जुलाई अब मेयरको उम्मेदवारीबाट तल ओराल्न सकिने अवस्था नरहेको बताए । उनको भनाइको सार यस्तो छः

हामी पनि सहकार्यको पक्षमा नै थियौं । सुरुमा हाम्रो पार्टीका अध्यक्ष उज्ज्वल थापाले काठमाडौं र ललितपुरमा मिलेर उम्मेदवारी दिने प्रस्ताव साझा पार्टीका संयोजक रवीन्द्र मिश्रसँग राख्नुभएको थियो । तर, मिश्रले चुनाव लड्ने नलड्ने विषयमै टुंगोमा नपुगेको बताउनुभयो । पछि अचानक किशोर थापाजीलाई उम्मेदवार बनाउनुभयो । त्यसपछि हामीले पनि आफ्नो ढंगले रञ्जुलाई उम्मेदवार छनौट गर्‍यौं ।

यो पनि पढ्नुस्- राजनीतिमा ताजा हावा चाहिएको छ, त्यसैले काठमाडौंको मेयरमा उठेँ: रञ्जु दर्शना

कसलाई मेयर र उपमेयरमा उठाउने भन्ने मुल मुद्दा होइन । मुल मुद्दा भनेको नयाँ नेतृत्वलाई स्थापित गर्नुपर्छ भन्ने हो । व्यवहारिक अर्थमा युवालाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने आधारभूत मान्यताबाट हामी पछि हट्न सक्दैनौं । नयाँ नेतृत्वको वकालत गर्ने, तर कपाल फलेको मान्छे अघि सार्ने कुरा विरोधाभाषपूर्ण हुन्छ ।
युवा भएको कारण मात्र होइन, क्षमता र प्रतिभाका हिसाबले पनि रञ्जु मेयर पदका निम्ति योग्य उम्मेदवार हुन् । उनलाई हामीले कुनै सहानुभूतिबस मेयरको टिकट दिएका होइनौं, सार्वजनिक आह्वान गरेर प्रतिस्पर्धाका आधारमा जुरीले छनोट गरेको हो । भलै उनको अनुभव कम होला तर, अनुभव मात्रै सबैथोक होइन । अहिले रञ्जुकोे पक्षमा लहर उर्लिरहेको छ । यसले देशको राजनीतिमा नै नयाँ उत्साहको सञ्चार गरेको छ । त्यसैले अब उनी ‘अनस्टपेबल’ भएर अघि बढेकी छिन् ।

हामीले उहाँहरुसँग प्रस्ताव राखेका छौं कि रञ्जुलाई मेयर र किशोरजीलाई उपमेयरमा उठाऔं । उहाँजस्तो अनुभवि मान्छेले उपमेयर पदमा रहेर रञ्जुलाई बलियो सपोर्ट गर्न सक्नुहुन्छ । तर, उहाँहरुले स्वीकार्नुभएको छैन । हामी अझै आशावादी छौं, त्यसैले उपमेयरमा उम्मेदवारी घोषणा गरेका छैनौं ।

विवेकशील र साझा पार्टीः को कति पानीमा ?

विवेकशील नेपाली पार्टी चार वर्षअघि निर्वाचन आयोगमा दर्ता भएको हो । यसले आम राजनीतिक पार्टीभन्दा फरक शैलीमा आफूलाई अघि बढाइरहेको छ । आर्थिक पारदर्शीता र सामाजिक सक्रियताले युवा जमातबीच विवेकशीलको राम्रो छवी छ । २०७२ सालको भूकम्पपछिको उद्दार र राहतमा सो पार्टीको सक्रियता प्रशंसनीय थियो ।

दोस्रो संविधानसभाको चुनावमा विवेकशीलले पार्टीका तर्फबाट काठमाडौंमा ४ जना उम्मेदवार उठाएको थियो । उनीहरुले कुल मिलाएर तीन हजार भोट ल्याएका थिए । काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका उज्ववल थापा पाँचौं स्थानमा रहेका थिए । निर्वाचन आयोगमा दर्ता नभइसकेकाले उनीहरुले कुकुर चुनावचिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

यदि मेयर र उपमेयरमा भागबण्डा गरेर जाने हो भने किशोर र रञ्जुको टिमले ठूला दलहरुलाई स्तब्ध नबनाउलान् भन्न सकिँदैन । तर, दुवैले मेयरमै उम्मेदवारी दिँदा उनीहरुको भोट बाँडिने खतरा ठूलो हुन्छ । किनकी किशोर र रन्जु दुवैको भोट बैंक लगभग एउटै हो

देश तथा विदेशमा गरी विवेकशीलका १४ हजार साधारण सदस्य छन् भने ५ सय सक्रिय सदस्य छन् । सदस्यता शुल्क र शुभेच्छुकहरुबाट प्राप्त आर्थिक सहयोगले यो पार्टीको खर्च चल्दै आएको छ । आफूले पाएको सहयोगलाई विवेकशीले पारदशीरुपमा वेबसाइटमा राख्ने गर्छ ।

यता, बीबीसीको मासिक ७ लाखको जागिर छोडेर रवीन्द्र मिश्रले साझा पार्टी गठन गरेका हुन् । निर्वाचन आयोगमा दर्ता नभएकाले यो पार्टीले औपचारिकता पाउन भने बाँकी नै छ । पुराना दल तथा नेताहरुबाट वाक्क दिक्क भएको जनमतलाई साझा पार्टीले अलिकति आकर्षण गरेको छ ।

बीबीसी नेपालीको सम्पादक र सामाजिक अभियन्ताका रुपमा रवीन्द्र मिश्रको आफ्नो छाप छ । देशमा उनका फ्यानहरु पनि निकै छन् । यही आधारमा पनि उनी राजनीतिमा हाम्फाल्न हौसिएका हुन् । राजनीतिज्ञका रुपमा उनी कति सफल हुनेछन् त्यो भविष्यले बताउनेछ ।

साझा पार्टीमा हाल २० जनाको संयोजन समिति छ । पार्टीमा पूर्वसचिव थापा, अधिवक्ता ओमप्रकाश अर्याल, विश्लेषक मुमाराम खनाल, चिकित्सक सरोज धिताल, इन्जिनीयर सुर्यराज आचार्य, अधिवक्ता निरुपमा यादव लगायत छन् । यादवलाई सो पार्टीले काठमाडौंको उपमेयरमा उम्मेदवार बनाएको छ ।

साझा र विवेकशील दुवै पार्टीले निर्वाचन आयोगबाट चुनाव चिहृन पाएका छैनन्, त्यसैले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिनुपर्ने वाध्यता छ । विवेकशीलले ‘स्माइल’ र साझाले तराजु चुनावचिन्हको दावी गर्दै आएका थिए ।

को हुन् किशोर र रञ्जु ?

साझा पार्टीले मेयरको उम्मेदवार बनाएका किशोर थापा पूर्व प्रशासक हुन् । ३२ वर्ष सरकारी सेवामा रहँदा उनले आफ्नो छवी स्वच्छ राख्न सफल भए । आर्किटेक्ट इन्जिनीयर थापा शहरी योजना र हाउजिङका विज्ञ मानिन्छन् । तर, थापासँग राजनीतिक अनुभव भने छैन । चुनावमा भोट माग्नका लागि आफ्ना योजनाहरु सुनाइरहँदा हिजो उच्च ओहदामा रहँदा चाहिँ के-के गरे त भन्ने प्रश्नहरु उनीतिर सोझिनेछन् । उनले सचिवका रुपमा तीन वटा मन्त्रालयमा काम गरेका थिए ।

विवेकशील पार्टीले उम्मेदवार बनाएकी रञ्जु दर्शना एक उर्जावान युवती हुन् । देश र समाजप्रति उनको समर्पण तथा इच्छाशक्तिमा शंका गर्ने ठाउँ छैन । यद्यपि, राजधानी हाँक्नका लागि उनी कच्चै रहेको आलोचकहरुले टिप्पणी गर्छन् । दर्शना हाल विकास अध्ययन विषयमा स्नातक तह अध्ययनरत छिन् । उनी राजनीतिमा लागेको चार वर्ष मात्र भएको छ ।

भोट बाँडिने खतरा

उम्मेदवारी घोषणालगत्तै किशोर र रञ्जु दुवैलै घोषणापछि प्राप्त प्रतिक्रियाले किशोर र रञ्जु दुवै मज्जाले हौसिएका छन् । ठूला पार्टीहरुलाई छिचोल्दै मेयर पड्काउँछु भन्ने महत्वाकांक्षा दुवैलाई पलाएको छ । रञ्जुको उम्मेदवारीपछि किशोर केही छायामा परेका छन् तर उनको पनि उत्साह कम छैन ।

अहिलेको माहौल हेर्दा यस्तो लाग्छ, मानौं काठमाडौंको मेयरमा मुख्य प्रतिस्पर्धा रञ्जु र किशोरबीच नै हुन गइरहेको छ । ठूला दलहरुले अहिलेसम्म उम्मेदवार घोषणा गर्न नसकेको अवस्थामा एकछत्र उनीहरुको चर्चा हुनु स्वभाविक नै हो । पुराना दल र नेताहरुप्रति वितृष्णा बोकेका मतदाताहरुमा यी दुईको उम्मेदवारीले चुनावप्रति चाख बढाएको पनि छ ।

यदि मेयर र उपमेयरमा भागबण्डा गरेर जाने हो भने किशोर र रञ्जुको टिमले ठूला दलहरुलाई स्तब्ध नबनाउलान् भन्न सकिँदैन । किनकी हरेक चुनावमा नौलो प्रयोग गर्न खोज्ने काठमाडौंका मतदताको प्रवृत्ति छ ।

तर, दुवैले मेयरमै उम्मेदवारी दिँदा उनीहरुको भोट बाँडिने खतरा ठूलो हुन्छ । किनकी किशोर र रन्जु दुवैको भोट बैंक लगभग एउटै हो । कुनै पनि राजनीतिक दलमा कट्टर आस्था नभएका तटस्थ मतदाताहरु उनीहरुतिर तानिने हुन् । त्यसमध्ये बौद्धिक जमातको बढि आकर्षण किशोरतिर हुनेछ भने युवा जमातले रञ्जुलाई टेस्ट गर्न चाहनेछन् । धेरै तटस्थ मतदाता चाहिँ रञ्जु र किशोरबीच कसलाई रोज्ने भनेर अलमलमा पर्नेछन् । यस्तोमा दुवैलाई घाटा छ ।

दिर्घकालीन एकताको सम्भावना

साझा र विवेकशीलबीच स्थानीय चुनावमा मिलेमतो नभए भने पनि भविष्यमा उनीहरु एक हुने सम्भावना टरेको छैन । शुभेच्छुकहरुको चाहनालाई कदर गर्दै एक दिन मिल्नैपर्छ भन्नेमा दुवै दल सहमत छन् ।

साझाका संयोजक मिश्र भन्छन्, ‘हामी दुवै पार्टीको आदर्श र मूल्य-मान्यता एउटै छ, त्यसैले ढिलो चाँडो एकता हुनैपर्छ ।’

विवेकशीलका अध्यक्ष उज्ज्वल थापा पनि स्थानीय चुनावमा तालमेल नहुँदैमा दिर्घकालिन एकताको सम्भावना नसकिने बताउँछन् । उनले भने, ‘हामी पनि एकताको पक्षमा नै छौ । तर, त्यो कहिले जुर्छ भन्न सकिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

पौडेल अनलाइनखबर डटकमका पूर्व एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment