+
+
Shares

१० वर्षमा समृद्ध नेपाल बनाउन सकिने पूर्वअर्थमन्त्रीको विश्वास

‘मुलुकलाई नाराले होइन, नीतिले अगाडि बढाउनु पर्दछ । र, यो मुलुकको भविष्य छ । नेपाललाई हामी दश वर्षभित्रमा समृद्ध नेपाल बनाउन सक्छौं । त्यो खाकाका साथ हामी अगाडि बढौं,’ कार्कीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १९:४७
Photo Credit : RSS

२५ वैशाख, काठमाडौं । पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नीति तथा कार्यक्रम देशको भावी यात्रा भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘नीति–कार्यक्रम केवल सरकारको औपचारिक दस्तावेज होइन । यो राष्ट्रको भावी यात्राको नक्सा हो,’ उनले भने ।

सरकारको प्राथमिकता, दृष्टिकोण र प्रतिबद्धता नीति तथा कार्यक्रममा आएको उनले बताए ।

१९ वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

त्यसमाथिको छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री कार्कीले वर्तमान सरकार संसद्का दुई ठूला दल मिलेर बनेको बलियो सरकार रहेको स्मरण गरे ।

वर्तमान सरकार मुलुकको विकास र समृद्धिका लागि गठन भएको पनि उनले बताए ।

नेपाली कांग्रेस र नेकपा एमालेले वर्तमान सरकार बनाउने गरी १७ असार २०८१ मा ७ बुँदे सम्झौता गरेका थिए ।

उक्त सहमतिको जगमा ३० असार २०८१ मा केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको थियो । यो सरकारले अघिल्लो सरकारले ल्याएको बजेट नै कार्यान्वयन गरेको थियो ।

मुलकमा निराशा रहेको भनेर कतिपयले गलत भाष्य स्थापित गर्ने प्रयास समाजमा भइराखेको र यस्तो गलत भाष्य र लोकप्रियता वादलाई चिरेर मुलुक अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

कांग्रेस र एमाले सम्मिलित ओली नेतृत्वको सरकारले पहिलो पटक ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा पूर्वअर्थमन्त्री कार्कीले सरकार निर्माण गर्नुको कारणबारे व्याख्या गरेका हुन् ।

उनले भनेका छन्, ‘कसैलाई भ्रम नहोस्, प्रतिशोधले ग्रसित भएर त्यसअनुसारको सरकार बनेको होइन ।’

वर्तमान सरकारले मुलुकको वास्तविकता र वर्तमान आवश्यकता अनुसारको नीति तथा कार्यक्रम संसद्‍मा प्रस्तुत गरेको उनको भनाइ छ ।

सरकार साझेदार दलको हैसियतमा उनले प्रस्तुत नीति तथा कार्यक्रमको समर्थन गरे । विकास केवल नारामा सीमित हुन नहुने आफ्नो मान्यता रहेको उनले बताए । सबै वर्ग, क्षेत्र र भूगोलको समान विकास हुनुपर्ने उनले बताए । आफूलाई सरकारको गति यही दिशामा रहेको विश्वास लागिरहेको बताए ।

मुलकमा निराशा रहेको भनेर कतिपयले गलत भाष्य स्थापित गर्ने प्रयास समाजमा भइराखेको उनले बताए । यस्तो गलत भाष्य र लोकप्रियता बादलाई चिरेर मुलुक अगाडि बढ्नुपर्ने बताए ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामै अगाडि बढ्ने उनले बताए । संविधान सभाबाट जारी संविधानले मुलुकलाई अगाडि लैजाने उनको विश्वास छ ।

समाजमा निराशा चिर्न सरकारले प्रभावकारी काम गर्न सक्नुपर्ने उनले बताए । विदेशिदो युवा पलायन रोक्नुपर्ने बताए ।

नेपाल वित्तीय अवस्थामा ग्रेलिस्टमा रहेको उल्लेख गर्दै उनले यसमा सुधार गर्नका निम्ति सबै राजनीतिक दलहरू जिम्मेवार भएर लाग्नुपर्ने बताए । यसमा सरकारले अग्रसरता लिने उनको विश्वास छ ।

नेपालमा अहिले पनि विद्युत् कटौती हुने गरेको उल्लेख गर्दै उनले सदाका लागि लोडसेडिङ अन्त्यका निम्ति आन्तरिक उत्पादन अझ बढाउनुपर्ने बताए ।

विकास र समृद्धिका लागि आईटी क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ । वर्तमानको क्रान्ति आईटी क्षेत्र रहेको उनको विश्वास छ ।

नेपालले ऊर्जामा समेत ध्यान दिनुपर्ने उनलाई लाग्छ । ऊर्जा निर्यातमा सरकारले आवश्यक पहल लिनुपर्ने पनि उनको आग्रह छ ।

नेपालमा अहिले पनि विद्युत् कटौती हुने गरेको उल्लेख गर्दै उनले सदाका लागि लोडसेडिङ अन्त्यका निम्ति आन्तरिक उत्पादन अझ बढाउनुपर्ने बताए ।

नेपालले कृषिलाई प्राथमिकतामा राख्नुको विकल्प नरहेको पनि उनले बताए । सरकारले रासायनिक मल कारखाना निर्माणक निम्ति आवश्यक बजेट छुट्याउनुपर्ने उनको आग्रह छ ।

उनका अनुसार नेपाल पर्यटनका दृष्टिले पनि सम्भावनाले पूर्ण देश हो । यसको सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

शिक्षाको गुणस्तर बढाउन आवश्यक रहेको बताए । स्वास्थमा पनि गुणस्तरता आवश्यक रहेको बताए ।

बजेट ल्याएर मात्रै नहुने र ल्याएका बजेट कार्यान्वयन गर्न सक्नुपर्ने बताए ।

सही नीतिका साथ अगाडि बढ्दा मुलुकलाई १० वर्षभित्र समृद्ध बनाउन सकिने उनको विश्वास छ ।

‘मुलुकलाई नाराले होइन, नीतिले अगाडि बढाउनु पर्दछ । र यो मुलुकको भविष्य छ’ उनी भन्छन्, ‘नेपाललाई हामी दश वर्षभित्रमा समृद्ध नेपाल बनाउन सक्छौं । त्यो खाकाका साथ हामी अगाडि बढौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?