+
+
Shares

पायल्सको प्राकृतिक उपचार

- डा. हेमराज कोइराला - डा. हेमराज कोइराला
२०७४ वैशाख १७ गते ९:००

हर्षा, पाइल्स, बबासीर, हेमोरोईड्स, अर्ष तथा मूलब्यादी जस्ता नामबाट परिचित यो रोग अन्तर्गत मलद्वारा तथा मलाशयका भित्ताहरुमा स्थित रक्तनलीहरु विभिन्न कारणले सुन्निन गई देखापरेका श्रृङ्खलाबद्ध समस्याहरू पर्ने गर्छन् ।योग, आयुर्वेद, युनानी र परम्परागत चाईनीज चिकित्सा (टी.सी.एम.) जस्ता हजारौ साल पुराना चिकित्सा प्रणालीका वैद्यकीय ग्रन्थहरू देखि बाइबल जस्तो धार्मीक ग्रन्थहरूमा समेत यो रोगलाई अत्यन्त कष्टकारक रोगको रूपमा सूचिकृत गरिएको छ । मानवतालाई प्राचिन समयदेखि नै प्रताडित गर्दै आएको यो रोगबाट आज पनि विश्व जनसङ्ख्याको ७० प्रतिशत हिस्सा जीवनको कुनै न कुनै कालखण्डमा संक्रमित हुने गरेका छन् । संक्रमित भएकाहरू मध्ये १० प्रतिशत रोग ठिक नभएर  दीर्घरोगीभएका छन् भने ९० प्रतिशत रोगी सरसफाई, खानपान र औषधिय प्रबन्धले ठिक भएका छन् । ठिक नहुनुको मुख्य कारणहरु मध्ये, बेलामा उपचार नपाउनु, रेागका बारेमा जानकारी नहुनु र हेर बिचारमा कमि आदि पर्दछन् ।    संक्रमित हुनेहरूमा ४५ देखि ६५ उमेर समूहका व्यक्तिहरू ज्यादा छन् ।

यो रोग हुँदा मलाशय तथा गुदद्वराका भित्ताहरूमा अवस्थित रक्त शिराहरू सुन्निने शिरा र धमनीहरूको मिलन विन्दु फुल्ने, तन्कने र वरिपरीका तन्तुहरू सहित तलतिर खस्ने गर्दछ । तलखसेका नशा र तन्तुहरू गुज्मुजिएर अंगुरको झुप्पाझै मासुपलाए जस्तो देखिने र सुन्निएका नशाहरू फुटेर रक्तश्राव हुने गर्दछ ।

पाइल्सका प्रकारः

यो रोगलाई रोगोत्पती क्षेत्रका आधारामा आन्तरिक, बाहृय र संयुक्त पाइल्स गरेर तीन समूहमा बाँडिएको छ । मलद्वरामा अवस्थित प्याक्टिनेट लाइन भन्दा तलबाट उब्जिएको पाईल्सभए बाहृय, माथिबाट उब्जिएको भए आन्तरिक र दुवै क्षेत्रबाट उब्जिएको भए संयुक्त पाइल्स भनिन्छ ।

पाइल्सलाई क्रमशः प्रथम, द्वितीय, तृतीय र चर्तुथ गरेर चार श्रेणीमा विभक्त गरिएको छ । प्रथम श्रेणीको पाइल्समा शिराहरू सुन्निएर सानो डल्लो बनी मलाशयमा नै रहने तर बाहिर नआउने हुन्छ । द्वितीय श्रेणीको पाइल्समा सुन्निएका नशाहरू मल त्याग गर्दा मात्र बाहिर आउने गर्दछ तर मलत्याग पछि पुन आˆनै स्थानमा जाने गर्दछ । तृतीय श्रेणीको पाइल्समा शिराहरूको डल्लो बाहिर आउने तर आफै यथास्थानमा नजाने, हातको सहाराले भित्र पसाएमा मात्र भित्रजाने गर्दछ । चौथो श्रेणीको पाइल्समा सुन्निएको नशाका डल्लाहरू निरन्तर मलद्वारा बाहिरनै रहिरहने गर्दछ ।

आन्तरिक पाइल्स

आन्तरिक पाईल्सलाई रक्तश्रावी पाइल्स पनि भनिन्छ । रक्तश्रावी पाइल्स हुँदा रोगीलाई धेरै दुख्दैन तर नशाहरू फुटेर एक्कासी रक्तश्राव हुन्छ । रक्तश्राव पनि सामान्य, मध्यम र तिव्र गरी तीन प्रकारले हुने गरेको छ । सामान्य रक्तश्राव हुँदा रगत दिसासँग लागेर मात्र आँउछ , मध्यम रक्तश्राव हुँदा रगतका थोपा, थोपा टप्कीने गरी रक्तश्राव हुने भने तिव्र रक्तश्रावमा रगत छिक्रा हालेर बाहिर आँउछ ।

बाहृय पाइल्स

बाहृय पाइल्स हुँदा रोगीलाई अत्याधिक पीडा हुन्छ तर रक्तश्राव भने धेरै हुँदैन । दिसा कडा भए रक्तश्राव पनि हुन सक्छ । यो पाइल्स लामो समयसम्म निको नभए गुद्द्वाराको वरिपरी क्र्याक (फिसर) आउने घाँउ हुने र घाँउ बड्दै गएर घाँउको मुख अन्तै गएर खुल्ने (फिस्चुला) घाँउ पाक्ने पिप बग्ने र घाँउको नयाँ मुखबाट दिसा निस्कने र अन्तत्वगत्वा गुद्द्वारा खस्ने गुद्द्वारा तथा मलाशयको क्यान्सर सम्म हुन सक्छ ।

लक्षणहरूः

यो रोग सुरु हुँदा मलाशय तथा गुद्द्वारमा भारीपन बड्ने, चिलाउने, दिसा खलास नहुने र अली अली दुख्ने जस्ता लक्षणहरू देखापर्दछन् । रोग बड्दै गएमा मलाशयका रक्त नलिहरू सुन्निने, फुट्ने भई अकस्मात् रक्तश्राव हुने गर्दछ । सुन्निएका रक्त नलिहरू र वरिपरीका तन्तुहरू तलखस्न जाँदा गुजिल्टिएर अंगुरको झुप्पा जस्तो मासुका डल्ला-डल्लीहरू गुद्द्वार वरिपरी देखिने गर्दछन् । बाहृय पाइल्स भएको भए अत्यन्त पीडा हुने दिसा अड्केको आभाष हुने उड्न, बस्न, हिडडुल गर्न गाह्रो हुने, मलत्याग पछि पनि पेट सफा नभएको भान हुने । मासि पर्ने मलद्वार वरिपरी चिलाउने र दिसा बस्दा दुख्ने जस्ता लक्षणहरु पनि यो रोगमा देखा पर्दछन् ।

कारणहरूः

यो रोगको मुख्य कारण भनेको पेटमा दवाब पर्ने कुनै पनि काम जसले इन्टरनल हेमरोईडल भेनस प्लेक्सेस -.गुदद्वार भित्रका रक्तशिराहरू) लाई असाधारण तरिकाले तन्काइ दिने गर्छ । यसरी पेटलाई दवाव पर्दा यी नसाहरूमा चाप बड्न गई फैलीन पुग्छन् । नसाहरू फैलदा यिनमा रगत बढ्नगई आपसमा गुजमुजिएर गिर्खा-गिर्खी बन्न पुग्छन् । यी गिर्खाहरू विस्तारै आˆनो ठाउँ छोडेर अन्य तन्तुहरू सहित तल तिर खस्न थाल्छन् ।

यसरी गुदद्वार तथा मलाशयका नशामा दवाव बढाएर पाइल्सको समस्या गराउने अधिकांश कारणहरू मध्ये कब्जियत कै भूमिका मुख्य छ । लामो समय सम्म कब्जीयतको समस्या हुनुमा व्यक्तिगत जीवन शैली आहार, बिहार र दिन चर्या जिम्मेवार छ । विशेषतः कब्जकारक जीवनशैली, जस्तै गरिष्ठ भोजन, नुन, खुर्सानी, मसला ज्याँदा प्रयोग गरेको, तारे-भुटेको अमिलो-पिरो ज्यादा हालेको माछा-मासु अण्डाको अत्यधिक सेवन, दूध तथा मैदाका मिठाई परिकारहरू, चाउचाउ बिष्कुट, पाउरोटी जस्ता जंकफुट, चिप्स, कुरकुरे, पाउ, गुदपाक जस्ता संरक्षित खाद्यान्न, बोटल तथा बट्टावद्ध खानेकुराहरू लामो समय सम्म राखेका खानेकुराहरू मैदा, वेसनका परिकार जस्ता खाने कुराहरू खानाले हुने गर्दछ । यसै गरी समयमा खाना नखाने, भोक लागेको बेला नखाने, राती अबेर खाने, आवश्यक्ता भन्दा ज्याँदा खाने भोक लागेका बेला नखाने, भोक भन्दा ज्यादा खानेहरूमा पनि पहिले कब्जीयत र त्यसपछि पाइल्सको समस्या देखिएको छ । यसै गरी दिसा लागेको बेलामा दिसा नगर्ने दिसाको वेगलाई रोक्ने, कब्ज भएको बेला जबरजस्ती बलपूर्वक मल त्याग्न खोज्ने आदी बानीले पनि पाइल्सलाई जन्माउछ ।

यसका अलावा गर्‍हुङ्गो भारी उचाल्नाले, कलेजकोको रोग -लिवर सिरोसीस भएमा) गुदद्वारको क्यान्सर भएमा, आउ, मासी तथा डाइरीया जस्ता पेटका समस्या हुँदा, गुदा-मैथुनगर्नेहरू, गर्भवती र गर्भपात गर्नेहरूमा, मोटोपन भएकाहरूमा पाइल्सको समस्या ज्यादा देखिएकोछ । साइकियाटि्रक औषधिको सेवन गर्ने, राती जागै रहनेहरुमा, उभ्भिएर काम गर्नेहरू जस्तै ट्राफिक पुलिस, कन्डक्टर, कुली, मजदुहरू भारोत्तोलक खेलाडीहरू ज्यादै देखिएको छ । यो रोग वंशानुगत कारणहरुले पनि हुने गर्दछ ।

उपचारः

पाइल्सको उपचार गर्नुभन्दा पहिलो रोगको कारणहरूको विस्तृत जानकारी हुन जरुरी छ । यसका साथै रोगको प्रकार, स्तर, जटिलता र अन्य संन्निहित समस्याहरूको बारेमा पनि जानकारी हुन जरुरी छ । रोगको स्तर थाहा पाइसकेपछि अलग-अलग श्रेणीका लागि उपयुक्त चिकित्सा विधी अपनाउनु पर्ने हुन्छ ।

अधिकांश पाइल्सबाट छुटकरा पाउनको लागि कब्जीयतबाट छुटकरा पाउनै पर्छ । अन्यकारणले भएको पाइल्स भए पनि पेटको सरसफाईमा विशेष ध्यान दिनु पर्ने हुन्छ । यसका लागि मलत्यागलाई सामान्य तथा नियमित गराउन अत्यन्त आवश्यक छ । पाइल्स हुन नदिन र भएकाहरूलाई ठिक गर्न जीवनशैली परिवर्तन एउटा उपयुक्त आयम हो । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायम, विश्राम, विचार र व्यवहारलाई स्वास्थ्य मैत्री हुने गरी ठिक ठिक समायोजन गर्नु हो ।

१.  भोजन व्यवस्थाः पाइल्स भएकाहरूले तारे, भुटेको, अमिलो, पिरो, माछा, मासु, अण्डा, ध्यू, पनिर, मख्खन, र मैदाबाट बनेका वस्तुहरूको पहरेज गर्नुपर्दछ । नुन, खुर्सानी ज्यादा हालेको, बोटल तथा बट्टाबद्ध खाद्यान्नहरू जंगफूड तथा कार्बोनेटेड डि्रङ्क्स -पेप्सी, कोक, मिरिन्डा) आदि अजिनामोटो र अन्य हानिकारक रसायनहरू हालेको खानेकुरा खानु हुनैन् । चिया, कफि, इनर्जी डि्रङ्क जस्ता उत्तेजक पेयको पनि परेज गर्नु पर्दछ ।

२.  विहानको नास्तामा फलफुल लिने बाँनी बसाल्नु पर्छ । रातीको खानामा अन्नको सहभागिता नगराएको राम्रो हो । पाइल्स एक्टिभ र रक्तश्रावी छ भने सकभर अन्न नखाएर फलफूल र तरकारी मात्र सेवन गर्नु पर्छ । सकिन्छ भने केही दिन उपवास गरौं ।

३.  मौसम अनुसारको फलफूलहरू जस्तौ मौसम, सुन्तला, नास्पाती, खरबुजा, काँक्रो, आँप, सरिफा,  बेल, बेलौती, मेवा, अंगुरित, मुङ्ग- चना-मेथी र भिजाएको छोकडालाई ताजादहिसँग मिसाएर खानाले कब्जीयत कम हुन गई पाइल्समा पनि फाइदा पुर्‍याउछ ।

४.  ठोस भोजन दिनको एक पटक मात्र भएको राम्रो हो । बिहानको भोजनमा रातो चामल, सामा, मकै, बजराको भात अथवा गहुँको दलिया, गहुँ, मकै, फापरको रोटी, काउली, बन्दा, लौका, तोरईको सब्जी विशेष समायोजन होस् । मास र खेसरी बाहेक बोक्रैसमेत पकाएको दालले पनि कब्जीयत तथा पाइल्सलाई राम्रो गर्दछ । बेलुकाको भोजनमा अन्नको सहभागिता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा दुईसय पचाँस ग्राम उमालेको सब्जीसँग ताजा मोहीमात्र खाँदा पाईल्समा राम्रो हुन्छ ।

५.  गाई, बाख्रा,उट वा घोडाको दूध विहान नास्तापछि र सुत्नु भन्दा अगाडि सेवन गर्नु फाइदाकारक छ । भैँसीको दूध तथा दूग्ध परिकार पाइल्सका लागि राम्रो होइन ।

६.  चिकु (सपोटा), केरा, स्याउ, अंकुर, लिची जस्ता फलहरूले कब्जीयत तथा पाइल्समा राम्रो गर्दैन । आलु, पिडाँलु, तरुल, सुठोनी, भण्टा, चुकन्दर, ओल, सिमलतरुल, राजमा, सेतो चना, मास, भटमास जस्ता कन्दमुल तथा दहलनहरूको प्रयोग नितान्त बरजित छ ।

पाइल्सका रोगीलेहरुअपनाउनु पर्ने आहार क्रमः

१.  विहान ५:३० बजे – जागरण तथा तीन गिलास मन तातो पानीको सेवन

२.  बिहान ७:०० बजे – गाई अथवा बाख्राको दूधसँग आधा मुठ्ठी कालो तील चपाएर खाने ।

३.  बिहान ८:०० बजे – मेवा, तरबुजा, काँक्रोको सलाद सय ग्राम, उमारेको मुंग ३० ग्राम भिजाएको किसमिस र छकडा २० ग्राम ताजा दहि २० ग्राम र एउटा भिजाएको अन्जिर ।

४.  बिहान ११:०० बजे – दुई ओटा चोक्कर सहितको आटाको रोटी ५० ग्राम मसला, खुर्सानी नहालेको सब्जी, २५० मि.लि. मेथीको धुलो अथवा हिँगहालेको ताजा मोही सय ग्राम गहुँको पानी दलिया ।

५.  दिउँसो १:३० बजे – मौसमी, सुन्तला, आँपको रस

६.  साँझ ६:३० बजे – ३०० ग्राम उसिनेको सब्जी -लौका, बन्दा, ब्रोकाउली, काउली, घिरौला, स्कुस, चुस्चेकरेला आदी) वा हरियो  सागसब्जी र ताजा मोही अथवा भेज सुप २५० मि.लि. ।

७.  राती १०:०० बजे १गिलास दूध वा एक गीलास मनतातो पानीमा २ चम्चा  त्रीफला चुर्ण

व्यायम व्यवस्थापनः

अंग व्यायम, रिढ व्यायम, सिथिलिकरण व्यायम, प्राप्त भ्रमण जस्ता हल्का व्यायम विधीहरू पाइल्सका लागि अत्यन्त आवश्यक व्यायमहरू हुन् । कब्ज हुन नदिनका लागि अग्निसार, कपालभाती, विपरितकरणी जस्ता क्रिया विधि पवनमुक्तासन, ताडासन, त्रियकताडासन, उतित्थपादासन, मान्डुकासन, ससकासन, भुजङ्कासन, सर्वाङ्गासन, बज्रासन, सुप्तबज्रासन, धनुरासन र सर्वासन जस्ता आसन विधि जालन्धर, उड्यान र मूलबन्ध जस्ता बन्ध विधि अश्वनी, ज्ञान र चिनमय जस्ता मुदा विधि सितली, सितकारी, भ्रमरी जस्ता स्वासन विधि एनिमा -बस्ती) लघु तथा गुरू शंख प्रक्षालन जस्ता सोधन विधिको नियमित अभ्यास गरिरहनु पर्दछ ।

पाइल्स भएको खण्डमा रक्तश्राव नरोकिउनजेल र घाँउ तथा पीडा कम नहुनजेल कुनै पनि योग विधि गर्नु हुँदैन । रक्तश्राव रोकिएपछि  यथासम्भव यी विधिहरू अपनाउनु पर्ने हुन्छ ।

प्राकृतिक उपचारः

१.  पाइल्स रोगलाई ठिक गर्नको लागि आद्राहरूमा कुपित भएर बसेको मललाई निकाल्न नितान्त आवश्यक छ । यसका लागि बिरामीलाई ३ देखि ७ दिनसम्मको थैरापिटिक उपवासमा राख्नु पर्दछ । उपवासका फलफूलको जुस, मह तथा कागती पानी आदि प्रसस्त दिनु पर्दछ । उपवास गरी सके पछि १० -१५ दिन सम्म फलाहार वा साग सब्जी मात्र सेवन गराउनु पर्छ ।

२.  बिहान बेलुका २-३ वटा भीजाएको अंजीर खाने र भीजाउन प्रयेाज गरेको पानी पिउनाले यो रोगमा फाइदा पुग्दछ ।

३.  त्रीफला चुर्ण, इसकगोलको झुसी, पंचसकार चूर्ण जस्ता औषधि राती सुत्ने बेलामा एक एक चम्चा दूध वा तातो पानीसँग खानाले कब्जीयतमा राम्रो गर्दछ ।

४.  केही दिन सम्म सख्खरमा बेलकोगुदि मिलाएर खादा पनि पाईल्स ठिक हुन मद्दत गर्छ ।

५.  रक्तश्राव भइरहेको अवस्था छ भने वरफले गुदा मालिस गर्नु पर्छ ।

६.  रक्तश्राव नभएको अवस्थामा भने तातो कटि स्नान -ठूलो खड्कुलो, बाटा अथवा ताउतोमा सहन सक्ने तातो पानी हालेर २० मीनेट जति बस्नें)  उपचार लिनुपर्छ ।

७.  मल त्याग पश्चात गुदालाई राम्ररी धोई तातोपानीले सक्ने गर्नु पर्छ । आन्तरीक घाउहरुमा एण्टी सेप्टिक क्रीम या क्षारीय मलहम लगाउनुपर्छ । मासुका गिर्खा बाहिरै आएको खण्डमा ग्लिसरिन र एप्सम साल्ट मिसाएर लेप बनाई लगाएर पट्टबिाधि दिनु पर्छ ।

८.  भेस्लिनसँग कपुर मिलाएर मासुको गिर्खा गिर्खामा लगाए पनि यो रोगमा फाइदा पुर्‍याउँछ ।

९.  रक्तश्राव नभएको खण्डमा साधा पानीको एनीमा लिनुपर्छ । तत्पश्चात कटिस्नान वा मेहनस्नान गर्नु पर्छ । दिनको दुई पल्ट माटोको पेडूपट्ट िलगाउनाले पनि यो रोग निको हुन सहयोग गर्छ ।

१०. पाइल्स भएर मासुका गिर्खा बाहिर आइरहेका छन् भने खुकुलो खालको कट्टु लगाउनु पर्छ । दुखाइ वा चिलाइ ज्यादा भएमा बरफ पानीमा सुती कपडा भिजाएर लगौटि जस्तो बनाएर लगाउनुपर्छ ।

११. यती गर्दापनि पाइल्स निकोनभए आर्युवेदीय क्षारसूत्र, एलोपेथिक रबरब्यान्ड लाइगेसन, इन्डोस्कोपीक स्क्लेरोथेरापी वा बढेको मासुका गिर्खा सुकाउने इन्जेक्सन अथवा सजर्री (अपरेसन) गर्नुपर्ने हुन्छ ।

सावधानी तथा बच्ने उपायहरूः

१.  मलको त्यागको क्रमलाई नियमति तथा सामान्य गर्नु कब्जीयत तथा पाइल्स निवारणको पहिलो आयाम हो । तसर्थ यसकारण बिहान बेलुका नियमित रूपमा निश्चित समयमा शौच जाने गरौँ ।

२.  दिनमा कमसेकम ३ – ४ लीटर पानी पिउने गर्दा खानामा मसिनो-मिठो भन्दा खस्स्रो-मोटो वस्तुहरूको समायोजन पाइल्सका लागि फाइदादायक छ । अतः रेसा र चोकर युक्त खाद्यपदार्थ सागसब्जी फलफूल, सलाद खाने बानी बसालौ ।

३.  लामो समय सम्म कुर्सीमा बसि रहने नगरै । बस्नै पर्ने भए पनि ३० – ३० मीनेटको अन्तरमा आसन परिवर्तन गर्ने गरौँ ।

४.  ज्यादा भारी बस्तु उठाउदा सावधानी अपनाऔँ । विशेषत भारी वस्तु उठाउदा पेटमा बल पार्नु हुदैन ।

५.  गर्भावस्था, कलेजोको रोग, आन्द्राको रोग, पारकिनसन रोग, थाईराईडिजम्, जस्ता विशेष रोगावस्था भएकाहरूले सावधानी अपनाऔ ।

६.  श्रम तथा व्यायामलाई दिनचर्याको अभिन्न अंग बनाऔँ । मानसिक तनावलाई बेलैमा व्यावस्थित गरौं ।

७.  गरिष्ठ भोजनको सेवन नगरौं ।

८.  मध्यपान, धुम्रपान र अन्य नसालु पदार्थहरूको सेवन नगरौं । मानसिक तथा समस्या स्नायुका समस्या अन्तःश्रावी ग्रन्थीका रोगको दवाई खाँदा सावधानी अपनाऔँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?