१७ बैशाख, काठमाडौं । नेपाली काँग्रेसले प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई सहमतिमा ल्याएर संविधान संशोधन प्रस्ताव पारित गर्न अधिकतम पहल गर्ने बताएको छ ।
पार्टी संसदीय दलको आइतबार बसेको बैठकले एमालेलाई समेत सहमतिमा लिएर संविधान संशोधन प्रस्ताव पारित गर्न अधिकतम पहल गर्ने निर्णय गरेको हो ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान जारी गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको एमालेलाई पनि सहमति ल्याएर संविधान संशोधन गर्न सबैभन्दा उत्तम विकल्प हुने निष्कर्ष कांग्रेसले निकालेको छ ।
सबै दललाई सहमतिमा लिएर संविधान संशोधन प्रस्ताव पारित गर्न अधिकतम पहल गर्ने निर्णय लिइएको पार्टी नेता एवम् रक्षा मन्त्री बालकृष्ण खाँडले जानकारी दिए ।
काँग्रेसले सबै दललाई निर्वाचनमा सहभागी गराउन सरकारले संविधान संशोधन प्रस्ताव ल्याएकाले त्यसलाई पारित गर्न एमालेलाई साथ दिन आग्रह गर्दै आएको छ ।
यता, एमालेले स्थानीय तह र प्रदेशको समेत अधिकार कटौति हुने गरी आएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने अडान राख्दै आएको छ ।
काँग्रेसले स्थानीय तहमा पार्टीको तर्फबाट उठाउने सबै उम्मेदवारी टुंगो लगाउन पनि आन्तरिक छलफललाई तीव्र बनाएको छ ।
महानगर, उपमहानगरका मेयर र उपमेयरमा धेरै आकांक्षी देखिएपछि त्यसलाई अन्तिम टुंगो लगाउन पार्टीका शीर्ष नेताहरुबीच छलफल भइरहेको हो ।
पार्टीका शीर्ष नेताहरुबीच कतिपय स्थानीय तहको उम्मेदवारहरुको टुंगो लगाउने विषयमा पनि छलफल भइरहेको नेता खाँडले स्पष्ट पारे ।
यसैबीच, कांग्रेसले सोमबार विहानसम्म स्थानीय तहका सबै उम्मेदवार टुंगो लगाउने तयारी गरेको छ । निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनको मनोनयन कार्यतालिका मंगलबार तय गरेपछि दलहरु उम्मेदवारीको अन्तिम टुंगो लगाउने तयारीमा जुटेका हुन ।
प्रतिक्रिया 4