१७ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय चेन होटल म्यारियटको ठमेलमा निर्माण भएको चार तारे होटल हालैमात्रै सञ्चालनमा आएको छ ।
म्यारियटले होटल सञ्चालनमा ल्याएपनि औपचारिक रुपमा उद्घाटन भने गरेको छैन । यो सातामै औपचारिक रुपमा उद्घाटन गर्ने होटल व्यवस्थापनको योजना छ ।
होटलका एक कर्मचारीका अनुसार अहिले होटलले ग्राहकलाई सेवा दिन सुरु गरिसकेको छ । अनलाइन बुकिङ भने यसले यस अगावै नै सुरु गरिसेकेको थियो ।
म्यारियटले गत वर्षदेखि नै यो होटललाई सञ्चालनमा ल्याउने योजना बनाएको थियो । तर, भारतीय नाकाबन्दी र भूकम्पका कारण यसको निर्माण सम्पन्न १ वर्ष ढिलो हुन गएको थियो ।
यो बजेट होटल हो अर्थात बजेटका हिसाबले बस्नका लागि सस्तो पर्ने होटलमा यो होटल पनि पर्दछ । होटलमा अन्तर्राष्ट्रिय स्तरका १ सय १५ कोठा छन् ।
जसमध्ये ७१ वटा डिलक्स किङ बेड रुम छन् भने अन्य ४३ वटा डिलक्स टुइन बेड रुम हछन् । कोठामा ४० इन्चको एलइडी टेलिभिजन, रेफ्रिजेरेटरका साथै चिया तथा कफी मेकर पनि छ ।
यो होटलमा झण्डै डेढ सय जनाको क्षमतायुक्त कुजिन रेष्टुरेण्ट, कफी सप र आउटडोर डाइनिङ सञ्चालनमा छ ।
एमएस ग्रुपको झण्डै एक अर्बको लगानीमा निर्माण भएको यो होटलमा म्यारियटले व्यवस्थापनको जिम्मा लिएको छ । म्यारीयटले यो होटल ३० वर्षका लागि ब्यवस्थापनको जिम्मा लिएको हो ।
झण्डै एक दशकको अबधिमा नेपालमा सुरु भएको यो नै पहिलो अन्तर्राष्ट्रिय चेन होटल हो । अन्य अन्तर्राष्ट्रिय चेन होटलले निर्माणको काम सुरु गरेपनि अझै सकिएको छैन ।
म्यारीयटकै अर्काे पाँच तारे होटल भने नक्सालमा निर्माण हुँदै गरेको छ जसको अहिले इन्टेरियर डिजाइनको काम भइरहेको छ । अहिले म्यारयिटबाट आएका महाप्रवन्धक प्रकाश जयदेबनले सम्पुर्ण व्यवस्थापनको जिम्मेवारी लिइरहेका छन् ।
प्रतिक्रिया 4