Comments Add Comment

संशोधन अघि नबढे पनि मधेसी मोर्चा चुनावमा आउँछः प्रचण्ड

'महाअभियोग प्रस्तावले चुनावमा कुनै असर गर्दैन'

१८ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणको निर्वाचनमा मधेसी मोर्चा पनि सहभागी हुने दाबी गरेका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले स्थानीय तह चुनावमा कुनै असर नपर्ने उनले स्पष्ट पारे ।

सोमबार लाजिम्पाटस्थित निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले पहिलो चरणको निर्वाचनसम्म संविधान संशोधन विधेयक अघि नबढे पनि चुनावलाई असर नगर्ने बताए ।

निर्वाचनलाई उत्सवका रुपमा मनाउन अपील गर्दै प्रचण्डले भने, ‘मनोनयन दर्ता भएपछि भोलिबाट निर्वाचनबारे सबै अन्यौल हट्छ । तपाईहरु सबै निर्वाचनमा होमिनुस्, महाअभियोगले निर्वाचनमा कुनै असर गर्दैन ।’

उनले अघि भने, ‘पहिलो चरणको निर्वाचनसम्म संशोधन विधेयक अघि नबढे पनि यसले चुनावलाई कुनै असर पर्दैन । मधेशी मोर्चा पनि पहिलो चरणको निर्वाचनमा सहभागी हुन्छ । स्वस्थ ढंगले निर्वाचनमा प्रतिस्पर्धा गरौं ।’

भोलि मनोनयन दर्ता हुने र बैशाख ३१ गते पहिलो चरणको चुनाव हुने प्रचण्डको भनाइ छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भ्रममा नपरी निर्वाचनमा सहभागी हुन नेता-कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।

कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता बुद्धराज बस्नेत, नेकपा एमालेकी नेतृ दुर्गा नेपाल, संघीय समाजवादीका रामसिंह लामा, ताम्सालिङ नेपाल राष्ट्रिय दलका राजन योञ्जन लगायतका दर्जनौं नेता कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

कार्यक्रममा बस्नेतले भने, ‘अहिलेको समस्याको समाधान गर्ने हैसियत माओवादीबाहेक अरु शक्तिसँग छैन, समृद्धि र विकासको योजना पनि माओवादीसँग मात्रै छ, त्यसैले माओवादीमै आएर राजनीतिक र सामाजिक सेवा गर्ने सोंचमा पुगें ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment