Comments Add Comment

काठमाडौंका उम्मेदवारः एमाले र राप्रपा मिल्दा कांग्रेसलार्इ ‘प्रेसर’

विवेकशील नेपाली र साझा पार्टीले कसको भोट काट्लान् ?

१९ बैशाख, काठमाडौं । उम्मेदवारी मनोनयनसँगै मंगलबारदेखि स्थानीय तह निर्वाचनको माहौल एकाएक तातिएको छ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ गरी तीन प्रदेशमा निर्वाचन हुँदैछ, जसमा काठमाडौं महानगरपालिका चर्चाको शिखरमा छ ।

काठमाडौंको मेयर र उपमेयरमा २१ वर्षदेखि ६९ वर्ष उमेर समूहका प्रत्यासीहरुले दाबी प्रस्तुत गरेका छन् । उम्मेदवारहरु हेर्दा बाबुछोरीजस्तै समेत देखिएका छन् । काठमाडौंको मेयरमा रञ्जु दर्शना त चर्चामा छँदै थिइन्, एकाएक नयाँ अनुहारहरुले पनि उम्मेद्वारी दर्ता गरेका छन् ।

आखिर कस्ता छन् त काठमाडौंको महानगरपालिकाको कुर्सी ताक्नेहरु ? सुरु गरौं मेयरका उमेदवारहरुको चर्चाबाट-

विद्यासुन्दर शाक्यः नेकपा एमाले

काठमाडौं महानगरपालिकामा एमालेले केही ढीलो गरेर मेयरको उम्मेद्वार तोक्यो । तर, पार्टीभित्रै तालमेल गर्न नसकिरहेको एमालेले ‘सर्जिकल स्ट्राइक’कै शैलीमा राप्रपासँग तालमेल गरेर उम्मेद्वार दिएका कारण विद्यासुन्दर शाक्य एकाएक चर्चाको शिखरमा आएका छन् ।

काठमाडौंको मेयरमा उम्मेदवार बनेका शाक्य ०४९ र ०५४ सालको स्थानीय चुनावमा काठमाडौं-२१ का वडाध्यक्ष निर्वाचित भएका थिए । ५४ वर्षीय शाक्य हाल एमालेका काठमाडौं जिल्ला सचिव छन् ।

विद्यासुन्दर शाक्य

वामपन्थी राजनीतिमा ०३६ सालको जनमत संग्रहदेखि होमिएका शाक्य ०४६ सालको जनआन्दोलनमा सक्रियरुपमा सहभागी भएका थिए ।

शाक्य यसअघि एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, काठमाडौं (हालको युवा संघ) का संस्थापक कोषाध्यक्ष भएका थिए । उनले शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातक गरेका छन् ।

विगतको चुनावी आँकलनका आधारमा विश्लेषण गर्दा एमाले राजधानीमा दोस्रो शक्ति मानिन्छ । तर, ०७० सालको चुनावमा राप्रपाले राजधानीमा समानुपातिकतर्फ पहिलो दलका रुपमा भोट पाएको थियो ।

राप्रपाका राजाराम श्रेष्ठलाई उपमेयर र आफू मेयरको उम्मेदवार बनेका कारण विद्यासुन्दर शाक्य मेयरका बलियो दाबेदार बन्न पुगेका छन् । उनी कांग्रेसका लागि कडा चुनौती बनेका छन् ।

राजुराज जोशी- नेपाली कांग्रेस

काठमाडौं महानगरमा कांग्रेसको मेयरका उम्मेदवार राजुराज जोशी उद्योगमन्त्री नवीन्ऽराज जोशीका दाजु हुन् । जोशी कांग्रेसभित्र प्रकाशमान सिंह निकट नेता मानिन्छन् । राजधानीमा प्रकाशमान सिंहको बलियो पकड रहेको विश्वास गरिँदै आएको छ ।

राजुराज जोशी र हरिप्रभा खड्गी

प्रकाशमान सिंह ०४७ सालमा काठमाडौं जिल्लाको पार्टी सभापति रहेका बेला राजुराज पार्टी सचिवको जिम्मेवारीमा थिए । प्रकाशमानले नै कांग्रेसको १३ औं महाधिवेशनका बेला जोशीलाई काठमाडौंको मेयर बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । सोही योजना अनुरुप उनी मेयरको उम्मेद्वार बनेका छन् ।

[sam_list] जोशी हाल कांग्रेसको महासमिति सदस्य छन् ।

त्यसो त हाल उद्योगमन्त्री रहेका नवीन्द्रराज जोशीलाई नै कांग्रेसले मेयरको उम्मेदवार बनाउने चर्चा चलेको थियो । तर, उनले मन्त्रीको स्टाटस छाडेर मेयर हुन मानेनन् । नविन्द्रराज काठमाडौंमा राम्रो पकड भएका नेता मानिन्छन् ।

उम्मेदवार मनोनयन दर्ता गर्दासम्म कांग्रेसले कसैसँग तालमेल गरेको छैन । यो अवस्थामा एमाले र राप्रपावीच तालमेल भएका कारण काठमाडौं महानगरमा कांग्रेस दबावमा परेको छ । यसवीचमा उसले माओवादीसँग तालमेल गर्ने चर्चा चलेको भए पनि त्यसले सार्थक रुप लिन सकेको छैन ।

यो अवस्थामा अव काठमाडौं महानगरपालिकाको निर्वाचन निकै रोचक हुने देखिन्छ ।

सर्वोत्तम डंगोल – माओवादी केन्द्र

माओवादी केन्द्रले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाएका सर्वोत्तम डंगोल पुराना कम्युनिष्ट नेता हुन् । काठमाडौंका रैथाने ६१ वर्षीय डंगोल ताहाचल निवासी हुन् । उनी हाल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा काठमाडौं महानगरपालिकाको इञ्चार्ज छन् ।

सर्वोत्तम डंगोल र सुशीला पौडेल

विगतको मताधारलाई आधार मान्दा माओवादीले मेयरमा एक्लै जित्ने सम्भावना न्यून छ । यहाँको चुनावी प्रतिस्पर्धा एमाले र कांग्रेसकै वीचमा हुने देखिन्छ । तैपनि माओवादीले कसको बढी भोट काट्छ, त्यसले अरुको हारजितलाई प्रभाव पार्न सक्छ । विगतका आधारमा हर्दाखेरि राजधानीमा माओवादी केन्द्र राप्रपा, कांग्रेस र एमालेपछिको चौथो दल हो ।

किशोर थापा – साझा पार्टी

काठमाडौं महानगरमा साझा पार्टीले उम्मेदवार बनाएका किशोर थापा पूर्वप्रशासक हुन् । ३२ वर्ष लामो निजामती सेवाका क्रममा अस्थायी इञ्जिनियरबाट सुरु गरेर उनी सचिवसम्म भएका थिए । निजामती सेवाबाट निवृत्त भएपछि उनले साझा पार्टीमार्फत राजनीतिक यात्रा थालेका हुन् ।

किशोर थापा र निरूपमा यादव

सैनिक परिवारमा जन्मिएका थापा ०३१ सालमा एसएलसी बोर्ड फर्स्ट भएका व्यक्ति हुन् । आर्किटेक्ट इञ्जिनियर उनी शहरी विकासका विज्ञ मानिन्छन् । उनको स्थायी निवास काठमाडौंको बल्खुमा रहेको छ ।

काठमाडौंको शहरी विकासमा थापाको विशेष अनुभव छ । उनी परिपक्व एवं सक्षम व्यक्ति हुन् । तर, उनी जुन दलबाट चुनाव लड्दैछन्, उनको पोजिसन निकै कमजोर हुने धेरैको अनुमान छ ।

साझा पार्टीका नेता रविन्द्र मिश्रले यसअघिदेखि नै भन्दै आएका छन् कि मतदाताले मेनु हेरेर अन्तिममा मम मागेजस्तै ठूलै दललाई मात्र रोज्ने कमजोरीका कारण राम्रा मान्छेले नजित्ने र खराबले चुनाव जित्ने खतरा हामीकहाँ छ ।

साझा पार्टीका थापाले जित नै हासिल गर्न सकेनन् भने पनि सुकिला-मुकिला भोटहरु धेरैको काटिदिन सक्छन् । विशेष गरी उनले कांग्रेसको भोट काट्ने र त्यसबाट एमालेलाई फाइदा हुने कतिपयको तर्क छ ।

रञ्जु न्यौपाने दर्शना – विवेकशील नेपाली दल

विवेकशील नेपाली दलले काठमाडौं महानगरको मेयरमा उम्मेदवार घोषणा गरेपछि एकाएक चर्चामा आइन् रञ्जु दर्शना । २१ वर्षकै उमेरमा काठमाडौं महाानगरपालिका हाँक्न तम्सिएकी रञ्जुको चर्चाको प्रमुख कारण उनको कलिलो उमेर नै हो । अरु उम्मेद्वारहरुका अगाडि रञ्जु छोरीजस्तै देखिन्छिन् ।

काठमाडौं नेसनल कलेजमा स्नातक तह अध्ययनरत रञ्जु चार वर्षदेखि विवेकशीलको राजनीतिमा छिन् । भूकम्पपछिको उद्दार र राहतमा उनी सक्रिय रुपमा खटिएकी थिइन् । यसैगरी विवेकशीलले डा. गोविन्द केसीको समर्थनमा गरेका प्रदर्शनहरुमा रञ्जु अग्रमोर्चामा देखिन्थिन् । उनको खास थर न्यौपाने हो । उनी महाराजगञ्जमा बस्छिन् ।

रञ्जनाको उम्मेदवारीबाट युवापुस्तामा विशेष खालको आकर्षण देखिएको छ । सोसियल मिडियामा उनी निकै चर्चामा छिन् । यो चर्चाजस्तै उनले युवाहरुको भोट आफूतिर तानिन् भने त्यसबाट एमालेलाई घाटा लाग्न सक्ने कतिपयको विश्लेषण छ ।

किनभने, काठमाडौं नेकपा एमालेले जित्ने आशा गरेको नगर हो । नेपालको राजनीतिमा मधेस र पहाड वीचको ध्रुवीकरणसँगै केपी ओलीले काठमाडौंबासीको भावनाको प्रतिनिधित्व गरेको धेरैले विश्लेषण गर्दै आएका छन् । ओलीले लिएको मधेसी मोर्चाविरोधी आक्रमक नीतिका कारण काठमाडौंको युवापुस्ता उनीप्रति आकर्षित भएको धेरैको विश्लेषण छ ।

तर, विवेकशील जस्तो युवाहरुको उर्जाशील पार्टीबाट उम्मेद्वार बनेकी रञ्जु दर्शनाको भोट बैंक पनि राजधानीको त्यही राष्ट्रवादी युवा पुस्ता नै हो । अझ काठमाडौंमा राप्रपा र विवेकशील पार्टीको भोट बैंक पनि एउटै हो । यो स्थितिमा रञ्जुले काट्ने भोटले एमाले-राप्रपा गठबन्धनलाई घाटा लाग्ने विश्लेषणलाई निराधार मान्न सकिँदैन ।

रञ्जुले कति भोट काट्छिन्, अहिल्यै भन्न सकिँदैन । सामाजिक सञ्जालमा बढी प्रचार भए पनि उनले खासै भोट नल्याउने कतिपयको विश्लेषण छ भने कतिपयले उनी ठूला दलका उम्मेद्वारसँग प्रतिस्पर्धामा आउने दाबी गरिरहेका छन् ।

कतिपयको चाहिँ दाबी के छ भने रञ्जु र किशोर थापाले आ-आफ्नै भोट काट्ने सम्भावना पनि छ ।

चित्रबहादुर केसीकी भतिजीदेखि रसेन्द्र भट्टराईकी छोरीसम्म

राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्मलकुमार थापा मेयरको उम्मेदवार बनेका छन् ।

काठमाडौं महानगरको उपमेयरमा भने अधिकांश महिला उम्मेदवार छन् । यसको अपवादमा राप्रपाका नेता राजाराम श्रेष्ठचाँहि एमालेसँगको तालमेलका कारण पुरुष उपमयेरको उम्मेदवार बन्न पुगेका छन् । ०७० सालको संविधानसभा चुनावमा राजाराम काठमाडौं क्षेत्र नं ५ मा सभासदको उम्मेदवार बनेका थिए ।

राजाराम श्रेष्ठ

कांग्रेसका नरहरी आचार्यले जितेको सोही क्षेत्रमा एमाले महासचिव ईश्वर पोखरेल करिब ६ सय मतान्तरले आचार्यसँग हारेका थिए । तेस्रो स्थानमा रहेका राजारामले ४३५९ मत ल्याएर एमालेलाई हराउन भूमिका निभाएका थिए । अहिले संयोगवस उनी एमालेसँग तालमेल गरेर उपमेयरको दाबेदार बन्न पुगेका छन् ।

काठमाडौं महानगरको उपमेयरको उपमेयरमा पार्टीका उम्मेद्वारहरुका साथै स्वतन्त्र उम्मेद्वार पनि देखिएका छन् । साझा पार्टीले कानून व्यवसाय गर्ने मधेसी समुदायकी निरुपमा यादवलाई उपमेयरको उम्मेदवार बनाएको छ । जनमोर्चाले चित्रबहादुर केसीकी भतिजी ऋतु सापकोटा केसीलाई उपमेयरमा उठाएको छ । त्यसैगरी रसेन्द्र भट्टराईकी छोरी जनिशा भट्टराई पनि उपमेयरमा स्वतन्त्रतर्फकी उम्मेद्वार बनेकी छिन् ।

ऋतु सापकोटा केसी (बायाँ) ।

साना पार्टीहरुले आफ्नो उपस्थिति देखाउनका लागि उम्मेद्वारी दिए पनि त्यसले ठूला दलको हारजीतमा ठूलो असर पार्ने देखिँदैन । तथापि राष्ट्रियताको मुद्दामा एमालेसँगै सहकार्य गरिरहेको जनमोर्चाको बेग्लै उम्मेदवारीले एमालेलाई केही असर गर्न सक्छ ।

तस्वीर: श्रीधर पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment