Comments Add Comment

काठमाडौंका काँठमा चुनावी चहलपहलः कांग्रेस एमालेलाई अन्तर्घातको डर, चुनाव जित्न माओवादीको भर !

२० बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकामा देशको ध्यान खिचिँदा काँठ क्षेत्रका १० वटा नगरपालिकाको चुनावी चर्चा भने बत्ति मुनिको अँध्यारोजस्तै देखिएको छ । काठमाडौंमा महानगरपालिकासहित ११ वटा स्थानीय तह रहे पनि चर्चा चाहिँ महानगरपालिकाकै बढी हुने गगरेको छ ।

काठमाडौंको आधाभन्दा बढी जनसंख्या ओगट्ने १० वटा नगरपालिकामा प्रमुख राजनीतिक दलले चुनाव जित्ने रणनीति कसरी बनाइरहेका छन् ? कुन दलले कस्ता व्यक्तिलाई उम्मेदवार बनाए ? अनलाइनखबरले प्रारम्भिक जानकारी लिएको छ ।

अन्यत्रजस्तै काठमाडौंका १० वटा नगरपालिकामा पनि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका उम्मेदवारबीचमै हुँदैछ । तर, कतिपय नगरपालिकामा माओवादीको उपस्थिति निकै कमजोर र राप्रपा तेस्रो स्थानमा छ ।

कांग्रेस र एमालेभित्र उम्मेदवारी चयनमा धेरै असन्तुष्टि र विद्रोहका स्वर सुनिएका छन् ।

सबुज बानियाँ

आन्तरिक विद्रोह, असन्तुष्टि र अन्तर्घातको डरले कांग्रेस एमालेका नेताहरु असन्तुष्टहरुलाई थामथुम पार्ने प्रयासमा छन् । कांग्रेस एमालेको तुलनामा माओवादीभित्र विद्रोहका स्वर कमै सुनिएका छन् ।

असन्तुष्टलाई फकाउँदै

टिकटमा असन्तुष्टि जनाउँदै कांग्रेस कार्यकर्ताले केन्द्रीय कार्यालयमा नाराबाजी, तोडफोड र कुटाकुट नै गरे । एमालेका पनि विशेष गरी नागार्जुन, बुढानीलकण्ठ लगायतका नगरपालिकाको उम्मेदवार चयनमा जित्ने व्यक्तिभन्दा पनि गुट हेरिएको भन्दै कार्यकर्ताले आक्रोश व्यक्त गरेका छन् ।

कांग्रेस जिल्ला सभापति सबुज बानियाँले धेरै आकांक्षी र धेरै लामो समयपछि स्थानीय चुनाव भएकाले टिकट नपाउँदा असन्तुष्टि देखिए पनि त्यसलाई व्यवस्थापन गर्ने प्रयास भइरहेको बताए । उनले भने- हामी मिलाउँछौं, जसले घात गर्छ वा पार्टीका उम्मेवार विरुद्ध गतिविधि गर्छ उसको गतिविधि निगरानी गरेर उसँग जोडिने नेतालाई जानकारी गराइन्छ र पार्टीले कारवाही गर्छ ।

यसपटक जसरी पनि चुनाव जित्नुपर्ने भएकाले आफ्नै नेतृत्वमा अनुगमन समिति बनाइएको र सबैको गतिविधि निगरानी गरिएको बानियाँले बताए । केही स्वतन्त्र र बागी उम्मेदवारी दिनेहरुलाई मनाएर फिर्ता गराउने उनले बताए ।

एमाले जिल्ला अध्यक्ष कृष्ण राईले पनि सामान्य असन्तुष्टि आएको स्वीकार गरेका छन् । तर, पार्टीले निर्णय गरेसँगै असन्तुष्टि थाति राखेर एमाले जिताउने अभियानमा सबै लागिसकेको दाबी गरे । उनले भने- आफूले नपाउँदा निराशा र आक्रोश हुनु स्वाभाविक हो, हामी उहाँहरुलाई मिलाउँछौं । हाम्रोमा धेरै ठूलो विद्रोह छैन ।

दाबी आफ्ना आफ्नै

कृष्ण राई

काठमाडौ महानगरपालिका बाहेकका १० नगरपालिकामध्ये प्रायः सबै जित्ने लक्ष्य राखिएको कांग्रेस सभापति बानियाँले बताए । उनले कांग्रेसको संगठन र पछिल्ला निर्वाचनको परिणामले हार्ने खालका कुनै नगरपालिका नरहे पनि केहीमा मेहनत गर्नुपर्ने देखिएको बताए ।

एमाले जिल्ला अध्यक्ष कृष्ण राईले पनि कम्तिमा ५ र बढीमा ८ नगरपालिकासम्म जित्ने सम्भावना रहेको बताए । उनले भने-०६४ र ०७० को चुनावमा पनि हामी हारेको गाउँले होइन महानगरले गर्दा हो, गाउँमा हामीले लिड मत ल्याएकै थियौं, तिनै गाउँ नगरपालिका भएकाले हामी जित्छौं ।

नेकपा माओवादी केन्द्रले काठमडौंका ११ स्थानीय तहलाई तीन समूहमा बर्गीकरण गरेको छ । पहिलो समूहमा रहेका स्थानीय तहमा जित्ने उसको दाबी छ । दोस्रो समूहमा रहेको नगरपालिकामा सम्भावना रहेको बताएको उसले तेस्रोमा भने ठूलो आस गरेको देखिँदैन ।

माओवादीले कीर्तिपुरसँगै, दक्षिणकाली र शंखरापुरमा आफू पहिलो भएको दाबी गरेको छ । तीनवटै नगरपालिकामा आफ्नो जितको सम्भावना रहेको माओवादी नेताहरु बताउँछन् । माओवादीले उम्मेदवारका कारण बुढानीलकण्ठमा पनि जितको आधार बनाएको जिल्ला इञ्चार्ज लेखनाथ न्यौपानेले बताए ।

दलहरुका दाबी आ-आफ्ना भए पनि स्थानीय जानकारहरुका अनुसार कीर्तिपुर र नागार्जुनमा कांग्रेस बलियो छ भने कागेश्वरी मनहरा र टोखामा एमाले बलियो देखिन्छ । अरु नगरपालिकामा माओवादीको मत निर्णायक हुन सक्छ । पछिल्लो समय सबै नगरपालिकामा माओवादीले आफ्नो उपस्थिति बढाएको अरु दलले पनि स्वीकार गरका छन् ।

कांग्रेसले तालमेल नगर्ने, माओवादी निर्णायक

काठमाडौंका १० नगरपालिका मध्ये अधिकांशमा कांग्रेस एमाले प्रतिस्पर्धी हुन् । तर माओवादीसँग जसले तालमेल गर्‍यो, त्यसको जितको आधार निश्चित हुने देखिन्छ । माओवादीले आवश्यकता अनुसार तालमेल गर्ने नीति लिएको जिल्ला इञ्चार्ज लेखनाथ न्यौपानेले बताए ।

एमालेले पनि कीर्तिपुर लगायतका केही नगरपालिकामा माओवादीसँग तालमेल गर्न सकिने नीति लिएको छ । माओवादीसँग तालमेल गर्दा कांग्रेसलाई परास्त गर्न सहज हुने केही नगरपालिका रहेको जिल्ला अध्यक्ष कृष्ण राईले बताए । तर, तालमेलबारे कुनै निर्णय भने भएको छैन ।

तर, नेपाली कांग्रेसले भने काठमाडौंका कुनै पनि स्थानीय तहमा अन्य दलसँग चुनावी तालमेल नहुने प्रष्ट पारेको छ । कांग्रेस जिल्ला सभापति सबुज बानियाले भने-आफ्नै कार्यकर्ताले टिकट नपाएर विद्रोह गरिरहेका छन्, अरुसँग तालमेल गर्ने कुरै छैन । हामी काठमाडौंमा एक्लै जित्छौं ।

कांग्रेस सभापति बानियाले काठमाडौं महानगरपालिकामा पनि माओवादीसँग तालमेल नहुने बताए । एमालेले राप्रपासँग महानगरमा तालमेल गरिसकेकाले अब नगरपालिकाहरुमा पनि राप्रपाको साथ लिन खोजेको छ ।

कांग्रेसका उम्मेदवार अधिकांश नयाँ

कांग्रेसले मेयरको उम्मेदवार बनाएका शंकर तिवारी त्रिचन्द्र कलजेमा पढाउथे । उनीसँग जनप्रतिनिधि भएको अनुभव छैन । तर पार्टीमा भने क्षेत्रीय सचिवसम्म भएका हुन् । कागेश्वरी मनहरामा कांग्रेसका मेयर उम्मेदवार उपन्द्र कार्की दुई पटक क्षेत्रीय सभापति भएका र हाल महासमिति सदस्य हुन् ।

गोकर्णेश्वर नगरपालिकाका कांग्रेसका मेयर उम्मेदवार शन्तोष चालिसे २०४९ को स्थानीय चुनावमा तत्कालिन गोकर्ण गाविसको उपाध्यक्ष थिए भने २०५४ मा एमालेका कृष्ण राईसँग पराजित भए । हाल उनी पार्टीको क्षेत्रीय सभापति छन् ।

बुढानीलकण्ठ नगरपालिकाका कांग्रेसका मेयर उम्मदवार राजु श्रेष्ठ पनि क्षेत्रीय सभापति हुन् । ‘हात्ती राजु’को नामले चर्चित उनी ब्यापार-व्यवसायमा छन् । माओवादी शान्ति प्रक्रियामा आए लगत्तै काठमाडौंका डनलाई समातेर गोदावरीमा लगेर राख्दा उनी पनि परेका थिए ।

उनको गाडी लामो समयसम्म तत्कालीन माओवादी नेता देवेन्द्र पौडेलले चढेका थिए, पछि उनले बागबजारको एउटा होटलबाट गाडी खोसेर लगेका थिए । उनी गगन थापाको निर्वाचन क्षेत्रमा गगनका उम्मेवारलाई पछाडि पारेर पार्टीको क्षेत्रीय अध्यक्ष भएका हुन् ।

टोखाको मेयरमा कांग्रेसका उम्मेदवार हरिहर अधिकारी पार्टीका महासमिति सदस्य हुन् । उनी २०४९ मा झोर महांकाल गाविसका अध्यक्ष भएका थिए ।

तारकेश्वर नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार श्रीराम थापा नगर सभापति हुन् भने उनी प्राध्यापनमा पनि संलगन थिए ।

नागार्जुन नगरपालिकामा कांग्रेसबाट मेयरको उम्मेवार बनेका मोहन बस्नेत तत्कालीन सीतापाइला गाविसका पूर्वउपाध्यक्ष हुन् । उनी ०४९ मा सीतापाइलामा उपाध्यक्ष भएका थिए ।

चन्द्रागिरी नगरपालिकाका मेयरका उम्मेदवार घनश्याम गिरी कांग्रेसको नगर सभापति हुन् । उनी यसअघि स्थाानीय एक विद्यालयको प्रधानाध्यापक थिए ।

कांग्रेसले किर्तिपुर नगरपालिकामा राजकुमार नकर्मीलाई उम्मेदवार बनाएको छ । उनी पार्टीका जिल्ला सचिव हुन् भने कांग्रेसको तर्फबाट त्रिभुवन विश्वविद्यालयको सबै गतिबिधि हेर्ने अधिकारी पनि हुन् ।

दक्षिणकाली नगरपालिकाका कांग्रेसका मेयर उम्मेवार मोहनबहादुर बस्नेत छ्न् । उनी अहिले कांग्रेसको नगरसभापति छन् ।

एमालेका उम्मेदवारः पूर्वजनप्रतिनिधि नै धेरै

शंखरापुर नगरपालिकामा एमालेले मेयरको उम्मेदवार बनाएका सुवर्ण श्रेष्ठ तत्कालीन इन्द्रायणी गाविसका अध्यक्ष तथा अनुभवी जनप्रतिनिधि हुन् । उनी अहिले पार्टीको क्षेत्रीय अध्यक्ष हुन् ।

कागेश्वरी मनहरा नगरपालिकामा एमालेका मेयर उम्मेदवार कृष्णहरि थापा तत्कालीन गोठाटार गाविसका दुवै पटक निर्वाचित अध्यक्ष हुन् । उनी एमालेको जिल्ला कमिटीमा लामो समय काम गरेका नेता हुन् ।

गोकणेश्वर नगरपालिकाको मेयर उम्मेदवार बनेका एमालेका पुन्य चौलागाई पनि पूर्व जनप्रतिनिधि हुन् । उनी तत्कालीन जोरपाटी गाविसको सबैभन्दा जनघनत्व भएको वडाबाट अध्यक्ष निर्वाचित भएका थिए ।

बूढानीलकण्ठ नगरपालिकाको मेयर उम्मेदवार बनेका उद्धव खरेल एमालेका प्रदेश कमिटी सदस्य हुन् । उनी तत्कालीन चपली भद्रकाली गाविसबाट पूर्वअध्यक्ष भइसकेका अनुभवी जनप्रतिनिधि हुन् ।
टोखा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार प्रकाश अधिकारी पनि जनप्रतिनिधि भइसकेका व्यक्ति हुन् । उनी ०५४ मा गोंगबु गाविसको अध्यक्ष निर्वाचित भएका थिए । गोंगबु टोखाको सबभैन्दा धेरै मतदाता भएको ठाउँ हो ।

तारकेश्वर नगरपालिकाका एमालेका मेयर उम्मेदवार रामेश्वर बोहोरा पनि पूर्वजनप्रतिनिधि हुन् । उनी ०५४ को निर्वाचनमा तत्कालिन मनमैजु गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

नागार्जुन नगरपालिकाका एमालेका मेयर उम्मेदवार कृष्णहरि खत्री भने पूर्व जनप्रतिनिधि होइनन् । उनी स्युचाटार गाविसको अध्यक्षमा ०५४ मा पराजित भएका थिए ।

चन्द्रागिरी नगरपालिकाका एमालेका मेयर उम्मेदवार प्रल्हाद कार्की पनि पूर्वजनप्रनिनिधि नै हुन् । उनी तत्कालीन महादेवस्थान गाविसमा ०४९ र ०५४ का दुवै निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए ।

त्यस्तै कीर्तिपुर नगरपालिकाका मेयर उम्ेमदवार रमेश महर्जन पनि एमालेबाट ०५४ को स्थानीय निर्वाचनमा सोही नगरपालिकामा उपमेयर निर्वाचित भएका थिए ।
दक्षिणकाली नगरपालिकाका एमाले उम्मेदवार शशी शर्मा अर्याल शेषनारायण गाविसका पूर्वअध्यक्ष हुन् ।

माओवादीका नयाँ अनुहार


माओवादीले कीर्तिपुरको मेयरमा हिराबहादुर महर्जन र उपमेयरमा सुशीला बस्नेतलाई उठाएको छ । टोखा नगरपालिकामा कल्पना शर्मालाई मेयरको उम्मेदवार बनाएको छ । अधिवक्ता शर्मा माओवादी नेता दीनानाथ शर्माकी छोरी हुन् ।

काठमाडौं जिल्लाका स्थानीय तहमा मेयरको प्रतिस्पर्धामा उत्रिने उनी रञ्जु दर्शनापछि दोस्री महिला हुन् । शर्मा र दर्शनाबाहेक अरु महिलाहरु उपमेयरको मात्रै दाबेदार छन् ।

दक्षिणकालीमा सञ्जय लामा मेयर र कमला बोहोरा उपमेयरको उम्मेदवार छन् भने शंखरापुरमा कृष्णराज सुवेदीलाई मेयर र इन्द्रमाया तामाङलाई उमपेयरको उम्मेदवार बनाएको छ ।

नार्गाजुनमा पछिल्लो समय संगठन सुदृढ भएको माओवादी काठमाडौंका नेताहरु बताउँछन् । ताकेश्वर र बूढानलीकण्ठमा भने उम्मेदवारका कारण जित हात पार्न सक्ने माओवादीको दाबी छ ।

तार्केश्वरमा धनलाल मर्हजन मेयरको उम्मेदवार छन् भने उपमेयरमा विना राना छन् । मेयरका उम्मेदवार महर्जन स्थानीय क्याम्पसका प्रमुख हुन् । यस्तै बूढानीलकण्ठमा माओवादीले रविन अधिकारीलाई मेयर र होमकुमारी दुलाललाई उठाएको छ ।

रविन कांग्रेस पृष्ठभूमिका हुन् र, बूढानीलकण्ठ क्षेत्रमा उनको पटक राम्रो भएको माओवादीको दाबी छ ।

नागार्जुनमा माओवादीबाट कुमार तामाङ मेयर र देवकी पौडेल उपमेयरका उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment