Comments Add Comment

भरतपुर महानगरको मेयर प्रचण्डपुत्रीलाई छाड्न कांग्रेसले मानेन

कांग्रेस-माओवादी तालमेलको सम्भावना कम

२० बैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकामा दलहरुका बीच तालमेलको चर्चा चले पनि त्यसले मूर्त रुप पाउन सकेको छैन ।

सुप्त अवस्थामा नै दलहरु बीचको तालमेलको चर्चा छ । कांग्रेसले माओवादीसँग तालमेलको कुरा गरे पनि दुबै दल मेयरको उम्मेद्वार आफूले पाउनुपर्ने दाबी गरिरहेका छन् ।

एमालेले भरतपुर महानगरमा तालमेल नगर्ने नीति अख्तियार गरेको छ । कांग्रेसले आफ्नो प्रभाव क्षेत्र दरिलो भएकाले भरतपुर महानगरमा माओवादीका उम्मेदवार प्रचण्डपुत्री रेणु दाहाललाई छाडी हाल्ने सम्भावना छैन ।

विभिन्न सञ्चार माध्यममा भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादीका वीचमा तालमेल भएको भन्ने खबरलाई कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ठाडै अस्वीकार गरे ।

‘कांग्रेसले माओवादीलाई भरतपुरमा छाड्ने भन्ने कुरा कल्पना गर्नसम्म सकिन्न,’ श्रेष्ठ भन्छन्-, ‘बरु माओवादीले हामीलाई छाड्नुपर्छ, चितवन भनेको कांग्रेसको गढ हो, सबैभन्दा धेरै पार्टी सदस्य भएको जिल्ला हो । यो कुरा सबैलाई हेक्का हुनुपर्छ ।’

नेपाली कांग्रेसले केन्द्रमा माओवादीसँग तालमेल गरे पनि जिल्लामा आफूहरुले अस्वीकार गर्ने छनक जिल्ला सभापति जीतनारायण श्रेष्ठले दिए ।

माओवादीले पार्टी अध्यक्ष प्रचण्डपुत्री नै उम्मेदवार भएका कारणले अरुसँग तालमेल गर्ने सम्भावना भएको दलसँग मेयर नछाड्ने गरी तालमेल गर्न पाए हुन्थ्यो भन्ने सोचेको धेरैको अनुमान छ ।

तर, कांग्रेसका अनुसार यो सम्भावना भरतपुर महानगरपालिकामा सम्भावना देखिँदैन ।

चितवनमा माओवादी तेस्रो राजनीतिक शक्ति हो । पाँचवटा निर्वाचन क्षेत्र भएको चितवनमा माओवादी पार्टीले गत संविधानसभा निर्वाचनमा कुनै पनि क्षेत्रमा निर्वाचन जित्न सकेको थिएन ।

माओवादी केन्द्रका जिल्ला इञ्चार्ज ईश्वरी भट्टराई दलहरुसँग तालमेलको कुरा अहिलेसम्म कुरामा मात्रै भएको तर औपचारीक रूपमा छलफल नै नभएको बताउँछन् ।

‘हामीप्रति कांग्रेस र एमाले आर्कषित भएका छन्, दुबै दलले हामीसँग तालमेल गर्न पाए हुन्थ्यो भन्ने चाहेको बुझिन्छ’ इञ्र्चाज भट्टराईले भने, ‘हिजो उम्मेदवारी दर्ता गर्न जाँदा माओवादीको जुलुस र भब्य उपस्थिति देखेर अन्य दल डराएका छन् ।’

अब एक्लै चुनाव लड्ने हो त ? अनलाइनखबरको जिज्ञासामा इञ्र्चाज भट्टराईले भने- ‘परिस्थिति जस्तो बन्छ, माओवादी त्यसका लागि तयार छ ।’

छिन्नभिन्न भएको माओवादी संगठन पछिल्लो समयमा पार्टी एकतापछि व्यवस्थित भएर आएको र उत्साह थपिएको उनले दाबी गरे ।

र्टीका प्रभावशाली नेता रामबहादुर थापाले वैद्य माओवादीबाट केही नेताहरु छुट्टाएर प्रचण्डसँग पार्टी एकता गरेपछि माओवादीको अवस्था जिल्लामा सुधि्रएको उनको दाबी छ । तर, माओवादी केन्द्रका लागि जितका लागि यो प्रयाप्त देखिँदैन ।

तथापि पार्टीभित्र अहिले केही पनि समस्या नभएको र अन्य दलले भन्दा सर्वसम्मत रुपमा उम्मेदवार चयन सबैभन्दा पहिला गरेकाले पार्टीलाई एक्लै भएपनि निर्वाचनको महासंग्राममा हुल्ने तयारी माओवादीको छ ।

आगामी दिनमा हुने केन्द्रीय निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनको पश्चिमी निर्वाचन क्षेत्रबाट उठ्ने सम्भावना रहेको माओवादीका जिल्ला नेताहरु बताउँछन् । त्यसको पूर्वतयारीका लागि पनि प्रचण्डले छोरीलाई मेयरका रूपमा परीक्षण गर्न चाहेको जानकारहरु बताउँछन् ।

यता, एमालेले जिल्लाका प्रभावशाली नेता देवी ज्ञवालीलाई उठाएर अनुभव र संगठनको बलमा महानगर हुत्याउने दाउ हेरेको छ । ज्ञवाली साविक भरतपुर नगरपालिकाको उपमेयरसमेत भएर काम गरेका नेता हुन् । सबै दल एक्लाएक्लै चुनावमा होमिँदा एमालेले हार्नुपर्ने कुनै कारण नै नदेख्ने एमाले नेताहरू बताउँछन् ।

संविधानसभा निर्वाचनपछि चितवनको ठूलो दल एमाले भएको र पश्चिम चितनवको कांग्रेसी गढलाई एमालेले कमजोर बनाएकाले जित्ने दाबी एमालेको छ ।

कांग्रेस र माओवादी केन्द्रवीच तालमेल भएमा एमालेले पनि राप्रपाको साथ लिने सम्भावना छ । एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल कांग्रेस मुख्य प्रतिस्पर्धी भएकाले उसँग तालमेलको सम्भावना नभएको बताउँछन् ।

की माओवादी र राप्रपासँग सुसुप्त रुपमा छलफल भए पनि तालमेलको सम्भावना मेयर र उपमेयरमा लगभग सकिएको एमाले नेता पोखरेल बताउँछन् ।

यद्यपि उम्मेदवारको अन्तिम नामावली प्रकाशन अघिसम्म तालमेलको सम्भावनालाई पुरै नर्कान सकिँदैन ।

एमालेले माओवादी अन्य स्थानीय तहमा तालमेलका लागि पार्टी कमिटीहरूलाई नै जिम्मा दिएको बताएको छ । माओवादी र कांग्रेसका वीचमा कथमकदाचित तालमेल नै भए पनि एमालेलाई खासै घाटा नपर्ने दाबी एमाले नेताहरुको छ ।

याे पनि पढ्नुस

कांग्रेसको तालमेल नीतिः माओवादीसँग प्राथमिकता, तर स्थानीय तहलाई जिम्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment