Comments Add Comment

भरतपुर महानगरका मेयरका एजेण्डाः निःशुल्क स्वास्थ्यदेखि रिङरोडसम्म

२१ बैशाख, चितवन । देशका महानगरहरुमध्ये भरतपुर महानगरपालिका सबैभन्दा बढी सम्भावना बोकेको महानगरमा पर्छ । किनकि यहाँ गर्नुपर्ने धेरै काम बाँकी छन् ।  महानगरपालिको मेयरका रुपमा कांग्रेसका युवा नेता दिनेश कोइराला, एमालेका पाका उम्मेदवार देवी ज्ञवाली र माओवादीका केन्द्रकी उम्मेदवार प्रचण्डपुत्री रेणु दाहाल चुनावी मैदानमा छन् ।

यी उम्मेदवारहरुले रिङरोडदेखि पर्यटकीय पूर्वाधार निर्माणसम्मका भावी योजना बनाएका छन् । मेयरका उम्मेदवारहरुले चुनावमा जित्ने आधार र आफ्ना योजना अनलाइनखबरसँग यसरी बाँडेः

राष्ट्रिय निकुञ्जको सदुपयोग र पर्यटकीय पूर्वाधार निर्माण

दिनेश कोइराला, नेपाली कांग्रेस

भरतपुर महानगरमा मैले जित्ने आधार प्रशस्त छन् । किनकि यो क्षेत्र नेपाली कांग्रेसको बलियो प्रभाव क्षेत्र रहेकाले जितको बलियो आधार नै यही हो । पश्चिम चितवन र भरतपुरको मुख्य बजार क्षेत्र विगतदेखि नै कांग्रेसको प्रभाव क्षेत्रभित्र छन् । आम युवा पंक्ति मप्रति आशावादी छ । महानगरका युवाको प्रतिनिधित्व मैले गरेको छु । साथै, कांग्रेसले देशको राजनीतिक परिवर्तनमा खेलेको अहम् भूमिकाका कारण मलाई जिताउनुपर्छ जस्तो लाग्छ ।

मेयरमा जित्नेमा म आशावादी मात्रै होइन, ढुक्क नै छु । समय सीमित भएकाले दबाव अति नै छ । सबै ठाँउमा एकपटक पुग्ने प्रयास गर्नेछु ।

भरतपुरमा कांग्रेसको मुख्य प्रतिपर्धी एमाले नै हो । विगतको चुनाव, एमालेको संगठन र परिचालन सबै हेर्दा एमालेका उम्मेवारसँग मेरो प्रतिस्पर्धा हुनेछ ।

यो महानगरमा मुख्यगरी सडक, खानेपानी र सुकुम्बासी जस्ता समस्या छन् । समस्यासँगै सम्भावनाहरु पनि उत्तिकै छन् । महानगरपालिका भएपछि जनताका अपेक्षा पनि बढी हुने गर्छन् भन्नेमा तयार भएर बसेको छु ।

मैले यस क्षेत्रमा नारायणी र राप्ती नदीलाई अधिकतम उपयोग गरी यहाँको विकास गर्ने योजनालाई प्राथमिकतामा राखेको छु । देवघाटदेखि मुग्लिन र त्रिवेणीधामसम्म जलयात्रा गर्न सकिने अवधारणामा काम हुनेछ ।

पयर्टकीय हिसाबले पनि भरतपुर महानगरपालिकामा त्यत्तिकै सम्भावना छन् । किनकि चितवन राष्ट्रिय निकुञ्जको एकातर्फ पूरै सिमाना भरतपुर महानगरपालिकाभित्र पर्छ । यो सम्भावनाको भरपूर सदुपयोग गरिनेछ । राप्ती र नारायणी किनारमा ठूला होटल र मनोरञ्जन केन्द्र सञ्चालन गरी स्वदेशी-विदेशी पर्यटक भित्र्याएर यहाँको विकास गर्न सकिने सम्भावना पनि व्यापक छ । स्वास्थ्य र शिक्षामा हुने गरेका अवैध व्यापार अन्त्य गरी पाँच वर्षभित्र शिक्षा र स्वास्थ्य निःशुल्क गराउने योजना बनाएको छु ।

नारायणीमा पर्यटन, १५० मेगावाट बिजुली

देवी ज्ञवाली, नेकपा एमाले

भरतपुर महानगरमा एमाले उम्मेदवारको रुपमा मलाई जिताउनुपर्ने केही कारण छन् । पहिलो त एमालेको परिकल्पना र योजना अनुरुप नै भरतपुरले महानगर बन्ने सौभाग्य पाएको हो । अर्को कुरा, एमाले चितवनको सबैभन्दा ठूलो राजनीतिक दल हो । एमालेले राष्ट्रिय राजनीति र जिल्लामा खेलेको भूमिकालाई कसैले पनि नजरअन्दाज गर्न सक्दैन । पार्टी एकताबद्ध हुनु र कुनै समस्या नहुनु नै सबैभन्दा ठूलो बल हो । मेरो उम्मेदवारीपछि अन्य दलका उम्मेदवार छायामा पर्नुभएको छ ।

भरतपुरमा एमालेले नजित्ला भनेर हामीले कल्पना पनि गरेका छैनौं । जसले महानगरपालिका जन्माउन प्रमुख भूमिका खेल्यो, उसले नजित्दा के होला ? कमजोर भनिएको पश्चिम चितवनमा एमालेको प्रभाव बढेको छ । यो कुरा गत संविधानसभा निर्वाचनको परिणाम हेर्दा थाहा हुन्छ । जित्नेमा शतः प्रतिशत ढुक्क हुँदै त्यही अनुसार तयारी पनि गरिरहेका छौं ।

महानगरमा मुख्य प्रतिष्र्धी कांग्रेस नै हो । विगतको चुनावमा एमालेलाई कांग्रेस र माओवादीमध्ये को मुख्य प्रतिस्पर्धी हो भनेर ठम्याउन मुस्किल थियो, तर यस पटक कांग्रेस नै प्रतिस्पर्धी देखिएको छ ।

विगतमा मैले उपमेयर भएर काम गरेकाले यस क्षेत्रका समस्या के छन् भन्नेबारे जानकारी राख्छु । यहाँ सार्वजनिक जग्गा प्रशस्त भए पनि सुकुम्बासी समस्या पनि उत्तिकै छ । अव्यवस्थित शहरीकरण र जमिनको खण्डीकरण अर्को समस्या छ । ढल निकास, नारायणगढ क्षेत्रमा व्यवस्थित पार्किङ हाम्रा समस्या हुन् । अस्पतालजन्य फोहोरको व्यवस्थापन पनि चुनौती छ ।

मेयर जितेपछि मेरो योजनाको कुरा गर्दा पूर्वाधार, पर्यटन, कृषि जस्ता विषय छन् । नारायणी नदीमा पर्यटकीय गतिविधिका साथै सम्भाव्यता अध्ययन भइसकेको छ । महानगर र महानगरवासीको लगानीमा १५० मेगावाट विद्युत उत्पादन गर्ने योजना छ । नारायणी र राप्ती नदीमा बाँध बाँधेर जलक्रीडा, मत्स्य पालन गर्दै देवघाटदेखि त्रिवेणीधामसम्म जलयात्रा सञ्चालन गर्ने, नदीका छेउमा तारे होटल र मनोरञ्जन केन्द्र खोल्न उत्प्रेरित गर्ने, सबै महानगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने योजना पहिलो प्राथमिकतामा छ ।

यस्तै, नारायणी नदीसँग जोडिएको कविलासको पहाडको अधिकतम उपयोग गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने र आन्तरिक र बाहृय पर्यटक भित्र्याउने योजना बनाएको छु । प्रसिद्ध धार्मिक स्थल देवघाटको विकास गरी धार्मिक पर्यटक भित्र्याउने र २९ वटै वडामा उद्यानहरु निर्माण गर्ने योजना छ ।

दुई रिङरोड, पहिलो पर्यटकीय गन्तव्य

रेणु दाहाल, माओवादी केन्द्र

विगतमा फुटेको माओवादी पार्टी एकतावद्ध भएकाले यो बल मेरो जितको पहिलो आधार हो । अर्को कुरा, माओवादीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिका अहिले प्रशंसनीय छ । माओवादी नेतृत्वको सरकार हुँदा चितवनमा ठूलो प्याकेज कार्यक्रम आएको छ । हामीले भनेका मात्रै छैनौं, गरेर देखाएका पनि छौं । स्थानीय निर्वाचनका लागि हामीले यस पटक योजनावद्ध ढंगबाट काम अघि बढाएकाले जित सहज हुने देखेको छु ।

जित्नेमा म पूर्णरुपमा विश्वस्त छु । जनताले माओवादीका एजेण्डालाई अनुमोदन गरेका छन् र आज देश माओवादीको एजेण्डामा छ । यसैले मतदाताले माओवादी उम्मेदवारलाई नजिताउने कुरै छैन ।

मलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालको छोरीको रुपमा स्थानीय चुनावमा टिकट दिइएको भनेर पनि टिप्पणी गरिएको छ । तर, म माओवादी पार्टीका विभिन्न तहमा बसेर तोकिएका जिम्मेवारीहरु पूरा गर्ने कार्यकर्ता पनि हुँ । जन्मथलो चितवनमा बसेर राजनीति गर्न विभिन्न कारणले नसके पनि मेरो योगदान जनयुद्ध, दोस्रो जनआन्दोलन र राजनीतिक परिवर्तनमा छ । अब चितवनलाई नै राजनीतिक थलो बनाएर अघि बढ्ने अठोट गरेकी छु ।

भरतपुर महानगरमा माओवादी केन्द्रको मुख्य प्रतिस्पर्धी कांग्रेस नै हो । हामीले कांग्रेसलाई नै मुख्य प्रतिस्पर्धी ठानेर योजनाहरु बनाएका छौं । ०६४ सालको अवस्थामा नपुगे पनि हामी अहिले ०७० को भन्दा राम्रो अवस्थामा छौं ।

महानगरमा सडक, खानेपानी असुविधाका साथै जनताको जीवनस्तर उकास्ने कार्यक्रमको अभाव देखेकी छु । अव्यवस्थित शहरीकरण, ढल निकास जस्ता समस्या पैल्याइसकेका छौं भने थप समस्या जनताबाट लिँदै छौं ।

मेयरमा जितेपछि चितवन र विशेषगरी भरतपुर महानगर र काठमाडौंको बीचमा पुल बनेर काम गर्नेछु । राप्ती र नारायणी नदीको अधिकतम सदुपयोग गर्ने योजना ल्याइनेछ । दुवै नदीको किनारमा रिङरोड निर्माण गरी सुन्दर शहरको परिकल्पना गरेकी छु । नगरभित्र हरियालीसहितको भित्री र बाहिरी दुई वटा रिङरोड बनाउने योजना छ ।

यसका साथै चितवन पर्यटकीय ठाउँ भएर पनि अहिलेसम्म देशको तेस्रो पर्यटकीय केन्द्र रहेको छ । त्यसलाई पहिलो गन्तव्यका रुपमा विकास गरिनेछ ।

कृषि लक्षित विशेष कार्यक्रम पनि सञ्चालन गर्ने योजना बनाएकी छु । अन्तर्राष्ट्रिय क्रिकेट र फुटबल खेल मैदान, व्यवस्थित बजार, सडक र ढललाई भावी कार्यक्रमका समेट्नेछु ।

(भरतपुर महानगरपालिकामा कांग्रेस उम्मेदवारको तस्वीर यसअघि अर्कै प्रयोग भएकोमा क्षमाप्रार्थीसहित सच्याइएको छ । सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment