Comments Add Comment

सडक सफा गर्न १८ करोड खर्चेर ५ ब्रुमर किन्दै काठमाडौं महानगर

प्रतिकात्मक तस्वीर

२१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले यसै आर्थिक वर्षभित्र ५ वटा ब्रुमर मेसिन किन्ने भएको छ । राती सडक पखाल्न सुरु गरिसकेको महानगरपालिकाले १८ करोड खर्चेर ५ वटा ब्रुमर खरिदका लागि अर्थमन्त्रालयबाट रकम निकासा पनि पाएको छ ।

सडक बढार्ने र धुलो तान्ने ब्रुमर किन्न ९ करोड रुपैयाँ महानगरपालिकालाई अर्थ मन्त्रालयले निकासा दिएको छ । अब महानगरपालिको ९ करोड रुपैयाँ थपेर ५ वटा ब्रुमर किन्न प्रक्रिया अघि बढाउने प्रमुख तथा कार्यकारी अधिकृत इश्वरराज पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

‘थापाथली इञ्जिनियरिङ क्याम्पसको मेकानिक डिपार्टमेन्टसँग काठमाडौंको सडकको लागि कस्तो ब्रुमर उपयुक्त हुन्छ ? भन्नेबारे राय मागेका छौं’ पौडेलले भने,’ब्रुमर ल्याएपछि त्यो प्रयोगमा आउनसक्ने खालको र यहाँको सडकमैत्री पनि हुनुपर्छ । त्यसैका लागि हामीले प्राविधिक रुपमा नै अध्ययन गरेर ब्रुमर किन्दैछौं ।’

चुनाव लगत्तै एक प्राविधिक टोली भारतका ब्रुमर प्रयोग भइरहेका शहरमा पुगेर अध्ययन गरेर फर्किनेछ । त्यसलगत्तै कस्तो ब्रुमर किन्ने भन्ने टुंगो लाग्नेछ ।

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा खनिएका सडकका कारण काठमाडौं उपत्यकाका अधिकांश सडक धुलाम्मे छन् । घाम लाग्दा बुङ्बुङ्ती उड्ने धुलो र पानी पर्दा हिलो हुने हुँदा काठमाडौंबासीले सास्तीमात्रै खेप्नु परेको छैन, वायुप्रदुषण पनि ह्वात्तै बढेको छ ।

यही समस्याको समाधानका लागि रातीको समयमा सडक पखाल्ने कामलाई पनि जारी राखिएको काठमाडा कार्यकारी पौडेलले बताए । अब यसैगरी काठमाडौं महानगरभित्रका खनिएकाबाहेक सबै सडकहरु पनि पखालिने उनको भनाइ छ ।

महानगरपालिकाले मेलम्चीको खनेर पीच नगरेका सडकमा पखाल्न सम्भव नहुने बताएको छ । तर, मेलम्चीको पीच गरिसकेर पनि धुलो उडेको सडकमा अब धुलो नरहने गरी पानीले पखाल्ने योजना महानगरको छ ।

‘हिजो दरबारमार्ग क्षेत्र पखाल्यौं । आज सिंहदरबार क्षेत्रमा पखाल्छौं’ पौडेलले भने,’हामीले सडक खाल्न थालेपछि मेलम्चीले पनि सडक चाँडो पीच गरिरिदन थालेको छ । हामी पीच गरिएका सडकमा पखाल्न पुगिहाल्छौं ।’

सडक सफा गर्न रातिको समयमा महानगरले एउटा दमकलसहित ४ वटा ट्यांकरको प्रयोग गरिरहेको छ । ‘थप ४ वटा जेटर (फोहोरा हान्ने मेसिन) ल्याएर सडक सफा गर्ने काम लाई हामी तीब्र बनाउँछौं’ पौडेल भन्छन्, ‘सडक सफा गर्न आवश्यक यन्त्र र उपकारण खरिद गरेपछि काम अझै तीब्र हुन्छ ।’

राति ९ बजेदेखि १२ बजेसम्म महानगरका सफाइ सेवाका कर्मचारी सडक पखाल्न खटिन्छन् । पानीको फोहोरा लगाएर सडकमा जमेको माटो र धुलो हटाइँदैछ ।

दैनिक ३ घण्टा सडक पानी लगाएर सफा गर्ने कामको संस्कार बसाल्न यसो गर्न लागिएको कार्यकारी पौडेलले बताए । धुलो बटुल्ने ब्रुमर किन्ने प्रक्रिया पनि अब अघि बढेकाले केही समयपछि सडक सफाइमा दैनिक ब्रुमर पनि चल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment